सुरुङमार्ग बनेपछि नुवाकोटेलाई काठमाडौंमा घर चाहिँदैन : अर्थमन्त्री डा.महत

  • त्रिशूली प्रवाह
  • २१ मंसिर २०८०, बिहीबार १२:१२

छहरे (नुवाकोट), अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौंवरिपरिका जिल्लाको समय आएको बताएका छन् । पञ्चकन्या गाउँपालिकाको कविलास स्वास्थ्यचौकी भवन शनिबार उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘काठमाडौं बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसङ्ख्या पनि छ । सुरुङमार्ग निर्माण सम्पन्न भयो भने नुवाकोटवासीले काठमाडौंमा घर बनाइराख्नुपर्दैन । एक घण्टाको बाटो १० मिनेटमा पुगिन्छ । काठमाडौंमा काम गरेर नुवाकोट घर फर्किन सकिन्छ । यसले बसाइँसराइ रोक्छ ।’

‘राजधानी काठमाडौंसँग जोडिएको नुवाकोट पछाडि परेको जिल्ला हो । नजिक भएर पछाडि परेको हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो,’ उनले भने, ‘त्यहाँका अगुवाले शिक्षामा लगानी गरे । पढ्ने, लेख्ने कामलाई प्राथमिकता दिए । तर, काठमाडौंवरिपरिका जनताको आम्दानीको मूल स्रोत जग्गाजमिन थियो । काठमाडौंमा राणाको जो नजिक थिए, राणालाई रिझाएका थिए, ती व्यक्तिले चाकरी गरेबापत पुरस्कारका रूपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौं पु¥याउन सक्ने ठाउँको जमिन उनीहरू माग्थे । काठमाडौंसँग जोडिएको उब्जाउयोग्य जमिन नुवाकोटमा रहेको छ । काठमाडौं बसेर नुवाकोटको जमिन उपभोग गर्ने धेरै भए । काभ्रे, धादिङ र नुवाकोटका जनता प्रशस्त उब्जनी गर्ने र ठूलो हिस्सा काठमाडौं पु¥याउने काममा केन्द्रित रहे । शिक्षाको विकासले विशेषतः ०४६ पछि मात्र गति लिएको हो ।’ ‘काठमाडौंको नजिक र शासकको नजरमा परेर हिजो नुवाकोटका जनता रैती बनेका थिए,’ मन्त्री डा. महतले भने, ‘अब काठमाडौंबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ । काठमाडौं–छहरे सुरुङमार्गको काम हामीले गरिरहेका छौँ । एक अर्ब बजेट पनि राखेका छौँ, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन ।’ ‘जिल्लाकै प्रकाशशरण महत अर्थमन्त्री हुनुभयो, बजेट पनि राख्नुभयो, सुरुङ खन्न थालेको खोइ त ? भन्ने तपाईंलाई लाग्न सक्छ । साबेल र डोजर लगेर प्वाल पार्न मिल्दैन,’ उनले भन्नुभयो, ‘त्यसका लागि भौगर्भिक अध्ययन चाहिन्छ । यसका लागि हामीले चिनियाँ सरकारसँग अनुरोध गरेका छौँ । उहाँहरूले प्रारम्भिक अध्ययन गर्नुहुनेछ । उहाँहरूले सम्भावित दुई–तीनवटा विकल्प दिनुहुनेछ ।’

अर्थमन्त्री डा. महतले अध्ययन सम्पन्न भएपछि काठमाडौं–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढ्ने बताए । ‘चार महिनामा अध्ययन सम्पन्न गराउने हामीले अठोट लिएका छौँ । त्यसपछि चीन सरकारले थप विकल्प दिनेछ । त्यसपछि सुरुङमार्गको प्रक्रिया अगाडि बढ्छ । वातावरण अध्ययन चीन सरकारले गरेपछि हामीले अन्तिम अध्ययन गरेर काम अगाडि बढाउँछौँ । सुरुङमार्ग निर्माण सम्पन्न भयो भने काठमाडौंमा घर बनाइराख्नुपर्दैन,’ उनले भने । स्वास्थ्यचौकीले सम्पूर्ण सुविधा विस्तार गर्दै सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना दिँदै थप सहयोगको प्रतिबद्धतासमेत व्यक्त गरे । मन्त्री महतको जन्मथलो कविलासको उक्त स्वास्थ्यचौकीले अहिले धेरै सुविधा दिन सकेको छैन, आउने दिनमा डाक्टर र स्वास्थ्य सहायकको दरबन्दीको व्यवस्था गर्न पहल गर्न पालिका लाग्नुपर्छ । उनले भने, ‘सुत्केरी सुविधालगायत अन्य समस्याको स्वास्थ्य जाँच पनि यहीँ उपलब्ध भयो भने सानातिना समस्याका लागि उपचार गर्न बाहिर जान पर्दैन । स्वास्थ्य, शिक्षा र पूर्वाधार चाहेर पनि एकैपटक गर्न सकिँदैन । उपलब्ध साधन स्रोतको भरपूर उपयोग गरेर आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर बजेट विनियोजन गर्नेतर्फ सरकार केन्द्रित छ ।’