त्रिशूलीबजार । भदौ १० गतेको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको महाप्रलयकारी बाढीले विसं २०६० मा नुवाकोट जिल्लावासीलाई उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले समुदायको अग्रसरता र त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्थापना भएको विदुर-१, त्रिशूलीबजारस्थित त्रिभुवन त्रिशूली बहुमुखी कलेजको भौतिक संरचना भग्नावशेषमा परिणत भएको छ । प्राकृतिक विपत्तिको कठोर प्रहारले कलेजको भविष्य अन्योल भएको छ ।

त्रिशूली नदीमा आएको विनाशकारी बाढीले स्थापनाकालदेखि स्नातक तहअन्तर्गत व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायको विभिन्न विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको कलेजले विसं २०७० देखि स्नातकोत्तर तहतर्फ व्यवस्थापन सङ्कायमा एमबिएसको कक्षा सञ्चालन गर्दै आएको क्याम्पसलाई बाढीले अकल्पनीय क्षति पुगेको कलेज प्रमुख रीता पछाईले बताउनुभयो । विद्यार्थीको चहलपहलले भरिने कक्षाकोठा, ज्ञान र अनुसन्धानको केन्द्र पुस्तकालय, शैक्षिक कार्यक्रमले गुञ्जिने सभाहल, विद्यार्थीको भविष्य निर्माणका लागि दिनरात सञ्चालन हुने प्रशासनिक भवनको स्वरूप अहिले फेरिएको छ । कतै भवनका भग्नावशेष छन् त कतै बाढीले थुपारेको माटो र ढुङ्गा र गेग्य्रान छ । ज्ञानको ज्योति फैल्याउने कलेज आज विध्वंसकारी बाढीको पीडादायी साक्षी बनेको कलेजका पूर्वसञ्चालक समितिका अध्यक्ष शुभलाल श्रेष्ठले बताउनुभयो ।
दुई दशकको शैक्षिक यात्रा : कलेज नुवाकोटको उच्च शिक्षाको महत्त्वपूर्ण आधार बनेको थियो । स्थापनाकालदेखि स्नातक तहअन्तर्गत व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायको विभिन्न विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको कलेजले वि.सं. २०७० देखि स्नातकोत्तर तहतर्फ व्यवस्थापन सङ्कायमा एमबिएसको कक्षा सञ्चालन गर्दै आइरहेको थियो । उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यताको कलेजले अन्त्य मात्र गरेको छैन, आर्थिक रूपले कमजोर परिवारका विद्यार्थीलाई समेत उच्च शिक्षाको पहुँच सहज बनाएको कलेज सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । तर, अहिले कलेजको भौतिक संरचना ध्वस्त भएपछि यसको नियमित शैक्षिक गतिविधि पूर्ण रूपमा प्रभावित भएको उहाँले भन्नुभयो ।
त्रिविको भर्ना तथा परीक्षा कार्यक्रम अघि बढ्दै : कलेजमा बाढी आउनुभन्दा अघिदेखि नै स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम सञ्चालन भइरहेको थियो । बाढीले गर्दा कलेज सञ्चालन अन्योल बनिरहेको अवस्थामा त्रिभुवन विश्वविद्यालयले भने परीक्षा तथा अन्य शैक्षिक कार्यक्रम अघि बढाइरहेको छ । विश्वविद्यालयको शैक्षिक क्यालेन्डर चलिरहने, तर त्रिशूली कलेज सञ्चालन गर्ने अवस्था नरहने हो भने सबैभन्दा बढी विद्यार्थी नै प्रभावित हुने भएकाले त्रिविले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने अवस्था छ । प्राकृतिक विपत्तिको कारण संरचना क्षतिग्रस्त भएको हो, तर विद्यार्थीको शैक्षिक वर्ष रोकिनुहुँदैन भनेर सम्बन्धित निकायमा पत्रचार गरिएको कलेज प्रशासनले जानकारी दिएको छ । लामो समय पढाइ अवरुद्ध भए विद्यार्थीको शैक्षिक लय बिग्रन सक्छ । नयाँ भर्ना हुने विद्यार्थीमा अन्योल र उच्च शिक्षाप्रति उत्साहमा कमी आउने, आर्थिक रूपले कमजोर विद्यार्थीले पढाइ नै छोड्ने अवस्थासमेत सिर्जना हुन सक्ने भएकाले त्यसतर्पm कलेज प्रशासनले ध्यान दिएर त्रिविलाई जानकारी गराइरहेको कलेज प्रमुख पछाईले बताउनुभयो ।
तत्कालको विकल्प : अहिलेको अवस्थामा सबैभन्दा व्यावहारिक विकल्प तत्काल अस्थायी स्थानको व्यवस्था गरी पठनपाठन र प्रशासनिक काम सञ्चालन गर्नु हो । यसका लागि सार्वजनिक÷सरकारी वा नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको, तर उसले उपभोग नगरिएको भवन÷जग्गा अस्थायी रूपमा प्रयोग गर्ने सम्भावना खोजिनुपर्दछ । यस विषयमा स्थानीय पालिकाले सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल अगाडि बढाउनुपर्ने देखिन्छ । क्याम्पसको उद्देश्य कुनै निकायको स्वामित्व वा अधिकारमा हस्तक्षेप गर्नु होइन, विद्यार्थीको शैक्षिक भविष्यलाई ध्यानमा राखेर कानुनी प्रक्रिया पूरा गरेर अस्थायी प्रयोगको व्यवस्था मिलोस् भन्ने रहेको कलेजका अध्यक्ष राजेशले बताउनुभयो । स्थानीय निकायले यस विषयमा तत्काल नेतृत्व गरेर सकारात्मक निर्णय गरिदिनुपर्ने माग अभिभावकले गरेका छन् ।
पुनर्निर्माण पुरानै ढाँचामा होइन : अस्थायी व्यवस्थाले तत्कालीन समस्या समाधान गर्ला, तर दीर्घकालीन समाधानका लागि व्यवस्थित पुनर्निर्माण आवश्यक छ । अब बन्ने कलेज केवल क्षतिग्रस्त भवनको पुनर्निर्माणमा मात्र सीमित हुनुहुँदैन । यसलाई सुरक्षित, आधुनिक, प्रविधिमैत्री र विपत् प्रतिरोधी शैक्षिक केन्द्रको रूपमा विकास गरिनुपर्दछ । यसका लागि दीर्घकालीन गुरुयोजना बनाउन आवश्यक छ ।
सबैको साझा दायित्व : बाढीले करिब रु. ११ करोड पचास लाखबराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमानको विवरण कलेजले सार्वजनिक गरेको छ । पुनर्निर्माण कलेजको आफ्नो नियमित स्रोतबाट मात्र सम्भव नहुने भएकाले सङ्घीय, प्रदेश, स्थानीय सरकार, विश्वविद्यालय अनुदान आयोग, जनप्रतिनिधि, शिक्षाप्रेमी समाजसेवी, पूर्वविद्यार्थी, अभिभावक, सहयोगी सङ्घसंस्था तथा शुभेच्छुकको सामूहिक पहल आवश्यक छ । सम्बन्धित निकायले क्षतिको यथार्थ मूल्याङ्कन गरी पुनर्निर्माणका लागि आवश्यक बजेट तथा स्रोत सुनिश्चित गरेर विद्यार्थी, अभिभावकलाई विश्वास दिलाउनुपर्ने देखिन्छ । कलेजको पुनर्निर्माणलाई विशेष अभियानको रूपमा अघि बढाउँदै ‘त्रिभुवन त्रिशूली बहुमुखी कलेज पुनर्निर्माण अभियान’ सञ्चालन गर्न सकिने सम्भावनासमेत खोजिनुपर्ने सुझाव सञ्चालक समितिका सदस्य नारायणबहादुर पाण्डेको छ ।
सङ्कल्प होइन, संरचना ढलेको : बाढीले पूरै भवन भत्काएको छ, पुस्तकालय शैक्षिक सामग्री पूरै नष्ट भएको छ, तर उच्च शिक्षाप्रतिको प्रतिबद्धता समाप्त भएको छैन । आजको प्राथमिकता स्पष्ट छ– तत्काल अस्थायी व्यवस्थाबाट कक्षा र प्रशासन सञ्चालन गर्ने तथा सँगसँगै दीर्घकालीन पुनर्निर्माण अघि बढाउनुपर्छ । भवन निर्माणमा समय लाग्न सक्छ, तर विद्यार्थीको गुमेको शैक्षिक समय फिर्ता ल्याउन सकिँदैन । त्यसैले क्याम्पसको पुनर्निर्माण एउटा भवन निर्माण गर्ने विषय मात्र होइन, विद्यार्थीको भविष्य, अभिभावकको सपना, प्राध्यापकको वर्षौँको योगदान र सर्वसुलभ उच्च शिक्षाप्रतिको राज्यको सङ्कल्पको पुनर्निर्माण हो । सञ्चालक समितिका पूर्वअध्यक्ष शुभलालले भन्नुभयो, ‘बाढीले संरचना बगायो, अब समुदाय, पूर्वविद्यार्थी, अभिभावक, प्राध्यापक र त्रिविको सङ्कल्पले कलेजलाई फेरि उभ्याउन सकिन्छ, प्राकृतिक विपत्तिले अहिले यस शैक्षिक धरोहरलाई पुनः शून्यबाट उठ्नुपर्ने अवस्थामा पु¥याएको छ, सबैको सामूहिक प्रयासले भग्नावशेषबाट फेरि नयाँ, सुरक्षित र आधुनिक क्याम्पस निर्माण गर्नुपर्छ ।’






प्रतिक्रिया