+
Search

ताजा अपडेट +

पपुलर +

वेत्रावती-गल्छी सडक सञ्चालन

देवीघाटमा बेलिब्रिज निर्माण, त्रिशूलीमा दसैँअगाडि झोलुङ्गे पुल

वेत्रावती-गल्छी सडक सञ्चालन
त्रिशूली प्रवाह
४७ मिनेट अगाडी

विदुर । भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विध्वंसकारी बाढीले दर्जनौँ पुल बगाएपछि नुवाकोटको त्रिशूली नदी वारपार गर्न समस्या भएको छ । सदरमुकामसँगैको त्रिशूलीपारिको र तादीदेखि गल्छीसम्मको सम्बन्ध टुटेको दुई हप्तापछि तुइन जडान र बेलिब्रिज निर्माण भएको छ । नेपाली सेनाको अगुवाइमा देवीघाट–गल्छी सडकखण्डको देवीघाटको तादी नदीमा बेलिब्रिज निर्माण भएर बिहीबारदेखि सञ्चालनमा आएको छ । ५७ मिटर लामो बेलिब्रिज शनिबारदेखि बनाउन सुरु गरिएको थियो । त्रिशूली वारपार गर्न बागमती प्रदेश सरकारले देवीघाटमा एक र त्रिशूलीको सिमुटारको इन्द्रायणी चौरमा दुईवटा तुइन जडान गरी गत हप्ताबाट सञ्चालनमा आएको छ । बगेका र भत्केका सडक मर्मत र नयाँ ट्र्याक खोलेर धादिङको गल्छीदेखि रसुवाको सिमाना वेत्रावतीसम्म लगभग सडक सञ्चालन भइरहेको छ ।

Utsuk Books & Stationery

नेपाल निर्माण व्यवसायी महासङ्घको सहयोगमा बाढी प्रभावित क्षेत्र विदुर–१ स्थित त्रिशूलीबजारको सिरान र विदुर–१ ढुङ्गेस्थित बुद्ध मन्दिरमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । झोलुङ्गे पुल दसैँअगाडि निर्माण भइसक्ने जानकारी प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले दिनुभएको छ । गल्छीदेखि वेत्रावतीसम्म थप पाँचवटा झोलुङ्गे पुल निर्माणका लागि सम्भाव्यता स्थानको प्राविधिकले सर्भे गरिरहेकोसमेत उहाँले बताउनुभयो । महाप्रलयकारी बाढीले त्रिशूली नदीमा रहेको यस क्षेत्रका आधा दर्जन पुल बगाएपछि यस क्षेत्रका बासिन्दालाई वारपार गर्न समस्या भइरहेको छ । पूर्वाधार मन्त्रालयसँगको समन्वयमा महासङ्घले पुल निर्माण सुरु गरिसकेको नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले बताउनुभयो ।

चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण जिल्लाका देवीघाट, त्रिशूली, ढुङ्गे, शुभघाट, भैँसे, तुप्चे, वेत्रावती क्षेत्रमा भएका अकल्पनीय मानवीय एवम् भौतिक क्षतिको स्थलगत अवलोकन एवम् निरीक्षणपश्चात् महासङ्घ अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले पुल बनाइदिने घोषणा गरेको थियो । महासङ्घले गरेको प्रतिबद्धताअनुसार शनिबारदेखि बुद्ध मन्दिर क्षेत्रको विदुर–१ ले वडा कार्यालय भवन बनाउन प्रस्ताव गरिएको स्थानमा र पारिपट्टि त्रिशूली बजारको इन्टेकमुनि रूख कटहरको बोट क्षेत्रमा पुलको जग खन्ने काम भइरहेको छ । डेढ महिनाभित्र ढुङ्गेको बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूलीबजार जोड्ने गरी लगभग दुई सय ६० मिटर लामो झोलुङ्गे पुल निर्माणमा जिल्ला सङ्घको समन्वय, सहयोग र सस्पेन्सन ब्रिज डिभिजन, पुल्चोकको प्राविधिक सहयोग रहनेछ । पुल निर्माणपछि नुवाकोटसहित छिमेकी जिल्लाका एक लाखभन्दा बढी स्थानीय लाभान्वित हुनेछन् । मन्त्रालयका प्राविधिक विज्ञसँगको परामर्शमा पुल निर्माण अघि बढाइएको महासङ्घका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिनुभयो । पुल निर्माणपछि नुवाकोट जिल्ला अस्पतालसहित किस्पाङ र म्यागङ गाउँपालिका तथा विदुर–३, १२, १३, ७, ८ र ९ का भूभागसँग विच्छेद भएको सम्पर्क पुनस्र्थापना भई हजारौँ लाभान्वित हुने नागरिक समाजका अध्यक्ष बद्री त्रिपाठीले बताउनुभयो । गत हप्ता देवीघाट र त्रिशूलीमा जडान भएको तुइनले आवतजावतमा केही सहजता ल्याएकोसमेत उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह