+
Search

ताजा अपडेट +

पपुलर +

फेरि उठ्नेछ देवीघाट

फेरि उठ्नेछ देवीघाट
दिनेश अधिकारी
१ घण्टा अगाडी

म विदुर–३, देवीघाट, नुवाकोटको बासिन्दा हुँ । भोटेकोशीमा आएको भदौ १० गतेको त्यो विनाशकारी बाढीलाई सम्झिँदा आज पनि मन भारी हुन्छ । सुरुमा बाढी यति ठुलो होला भन्ने कल्पना पनि थिएन । जालपादेवी मन्दिरतिर आएर केही क्षति गर्ला, अनि पानी घट्ला भन्ने लागेको थियो, तर परिस्थितिले सोचेभन्दा धेरै भयावह रूप लियो । हिमताल/ग्लेसियर फुटेर आएको भनिएको त्यो आकस्मिक बाढीले केही समयमै ठुलो विनाश मच्चायो ।

Utsuk Books & Stationery

वेत्रावती, ढुङ्गे, त्रिशूली, सिमचौर, सिँचाइ केन्द्र, केन्द्रीय कारागार, बाहुनीबेँसी हुँदै देवीघाटसम्म खोलाको तटीय भूभागमा बाढीले आफ्नो बाटामा भेटेका धेरै संरचना, घर, पसल, व्यवसाय र सम्पत्तिमा ठुलो क्षति पुयायो । कतिपय ठाउँमा वर्षाैँको मिहिनेतले जोडिएका धनसम्पत्ति, घर–व्यवसाय र जीविकोपार्जनको आधार नै बाढीले बगाएर लग्यो, धेरै परिवार एकैछिनमा ठुलो क्षतिको सामना गर्न बाध्य भए ।

देवीघाटजस्तो ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान बोकेको ठाउँमा समेत यस्तो विनाश देख्नुपर्दा स्थानीयवासीका रूपमा मन निकै दुख्यो । जालपा भगवतीको पवित्र क्षेत्र, बजार, घरपसल र आसपासको अवस्था देख्दा यो केवल बाढी नभएर हाम्रो सम्झना, इतिहास र जीवनशैलीमाथि परेको ठुलो चोटजस्तो लाग्यो ।

बाढी आएको दिन म बाटामा भेटिएकाहरू, चिनेजानेकाहरूलाई हाइहेल्लो गर्दै बाइकमा गुडेको मेरा लागि यही भदौ २१ गतेसम्मका दिनहरू आफ्नै जीवनका अविस्मरणीय दिन बनेका छन् । आफ्नै घर जान नपाएर टाढा बस्नुपर्याे, वृद्ध बाआमालाई भेट्न सकिएन । श्रीमती काठमाडौँ र म नुवाकोटमा, नजिक भएर पनि परिस्थितिले टाढा बनायो । यहीबिचमा मेरो जन्मदिन पनि प¥यो, तर यसपटक त्यसको खुसी परिवारसँग बसेर साट्न सकिएन । बैंकका कर्मचारी भएकाले गरिमा विकास बैंकको जिम्मेवारी पनि निर्वाह गर्दै अत्यावश्यक सेवाका लागि अफिस खोलेर बस्नुपर्याे।

१२औँ दिनमा विदुर–५ बाट रोपवे ट्विन चढेर त्रिशूली पारि विदुर–३, देवीघाटस्थित आफ्नै घर पुग्दा मनमा अनेक भावना एकैपटक आए । धेरै दिनपछि बाआमालाई भेट्न पाउने खुसी, बाढीले गरेको विनाश देख्दाको पीडा र आफ्नै घरगाउँमा फर्किन पाउँदाको राहत । आफ्नै माटामा टेक्दा महसुस भयो-घर भनेको केवल चार पर्खाल मात्र होइन रहेछ; यो त आफ्ना मान्छे, सम्झना, अपनत्व र मनको शान्ति रहेछ ।

यस विपत्तिले धेरै कुरा सिकाएको छ । प्रकृतिको अगाडि मानिस कति कमजोर हुँदोरहेछ भन्ने देखायो, तर विपत्तिका समयमा मानिसले एक-अर्कालाई दिएको साथ, सहयोग र हिम्मतले हामी अझ बलियो बन्न सक्छौँ भन्ने आशा पनि दिएको छ । मजस्तै घर जान नपाएका, आफन्तबाट टाढिनुपरेका र बाढीका कारण आफ्नो सर्वस्व गुमाउनुपरेका धेरै मनहरू होलान् । उहाँहरू सबैमा धैर्य, हिम्मत र आशा मिलोस् ।

बाढीले पुर्याएको क्षति अपूरणीय छ, तर अब हाम्रो जिम्मेवारी फेरि उठ्ने, पुनर्निर्माण गर्ने र देवीघाटलाई पुरानै रौनकमा फर्काउने हो । त्रिशूलीको त्यो कहालीलाग्दो दिन सम्झनामा रहने छ, तर भन्ने विश्वास पनि मनमा जीवितै छ ।

विदुर–३ माझगाउँ, देवीघाट, नुवाकोट

 

प्रतिक्रिया

लेखकको बारेमा

दिनेश अधिकारी