विसं २०७२ को भूकम्पको समयमा म अमेरिकामै थिएँ । त्यसैले मैले त्यो क्षति र पीडालाई नजिकैबाट भोग्ने अवसर पाइनँ । तर, म जन्मिएको एक वर्षपछि बनेको हाम्रो घर खण्डहर भयो । मेरा वृद्ध बाआमा, भाइ, बुहारी, बहिनी, भतिजले कैयौँ दिनसम्म भत्किएको घरसँगैको बारीको पाटामा रात बिताउनुप¥यो ।

भूकम्पले घर भत्किँदा कैयौँ वर्षदेखि जम्मा गरिएका महत्त्वपूर्ण कागजपत्र पुरिए । मैले जम्मा गरेका कैयौँ पुस्तक माटोमा मिले । हाम्रो परिवारका सदस्यका पुराना फोटो हराए । म पाँच वर्षको हुँदा काठमाडौँ गएर खिचेको मेरो जिन्दगीको पहिलो फोटो घरसँगै पुरियो । कैयौँ चिज हराए, केही मात्र भेटिए । घर भत्किए पनि त्यहीँ खनेर–खोस्रिएर घर बनाउन मिल्थ्यो । तर, हामीले पुरानो ठाउँ छाडेर सडकमै जोडिएको जग्गामा बनायौँ । त्यतिखेरको भुइँचालोले क्षतिग्रस्त बनेका घर गाउँघरतिर जग सारेर बने भने सहरबजारमा भने ढलेको घरको भग्नावशेष हटाएर त्यहीँ बनाइएको थियो । यतिखेर रसुवा, नुवाकोट र धादिङका केही भागमा दुई साताअघिको महाप्रलययुक्त बाढीले हजारौँ निजी घर खण्डहर बने । घर खण्डहर मात्र होइन, जग कहाँनेर थियो भनेर सङ्केतसमेत नछाडी नामेट बनाएको छ । घर भएको ठाउँमा अहिले त्रिशूली नदी बगिरहेको छ, कतिपय ठाउँ बगर बनेको छ । त्रिशूली नदीमा मध्यमस्तरको बाढी आउँदा पनि भेट्ने ठाउँमा छन् पुराना घरका भग्नावशेष । त्रिभुवन त्रिशूली उच्च माविभन्दा पनि माथिबाट नदी बगिरहेको छ ।
घर भएको अधिकांश ठाउँ दलदले हिलोको बगर बनेको छ । बालुवा, हिलो, ढुङ्गाको रास छ । नदीको सतह पहिलेभन्दा लगभग २० मिटर माथिबाट बगिरहेको छ । यस्तो अवस्थामा पीडितको पुरानै ठाउँमा पुनस्र्थापना ज्यादै पेचिलो बन्ने सङ्केत देखिँदै छ । एउटा तितो यथार्थलाई फेरि पनि म स्मरण गर्न चाहन्छु – गत २०८२ वैशाखमा ‘त्रिशूली प्रवाह’ साप्ताहिकको वार्षिकोत्सव समारोहमा विदुर–५ का वडाध्यक्ष लीलानाथ न्यौपाने आफ्नो वडामा सिँचाइ चाहिएको भन्दै बम्किए । सन्दर्भ कस्तो थियो भने त्यस दिनको अङ्कमा मैले पिपलटारमा सिँचाइ होइन, व्यवस्थित बसोबासको प्रारूप तयार गर्न जरुरी छ भनेर एउटा लेख लेखेको थिएँ । त्यतिखेर तल्लो पिपलटार, जो ठ्याक्कै देवीघाटभन्दा माथिल्लोतर्फ तीन सय मिटर उचाइमा छ । त्यहाँ एकातिर रिङरोड जसरी सडक पनि थियो भने सिँचाइका नाममा धमाधम पाइप गाडिरहेको दृश्य देखियो । बस्ती विकास भइरहेको ठाउँमा तादीखोलापारिबाट पाइपमा पानी ल्याएर गरिने सिँचाइ एकातिर दिगो हुने सम्भावना पनि थिएन, अर्कातिर गाउँमा खेती गर्ने जनशक्तिसमेत बस्दैनन् । सिँचाइका लागि देखिएको तामझाम, खाडल खन्ने, पाइप गाड्नका लागि गरिएको त्यो सरकारी बजेटको खर्च एक हिसाबले बालुवामा पानी हालेजस्तो महसुस भयो ।
पाइप गाड्नुको बदला व्यवस्थित बस्तीको योजना बनाउनुपर्ने र अहिलेबाटै त्यो नथाले काठमाडौँजस्तै अस्तव्यस्त हुने सुझाव पनि मैले लेखमा दिएको थिएँ । तीनवटा सडकले नुवाकोटलाई काठमाडौँसँग जोडिएको र छहरे–टोखा सुरुङमार्गको चर्चाले भविष्यमा काठमाडौँको विस्तारित रूप नुवाकोटसम्म पुग्ने अवस्थामा सिँचाइभन्दा पनि सहरीकरणका लागि सडक, ढल, विद्युत्का लाइन अन्डरग्राउन्ड गरेर काम सुरु गर्नुपर्ने सुझाव थियो लेखमा । तर, वडाध्यक्षले त्यो सुझावलाई व्यक्तिगत रूपमा लिएको ठान्नुभयो । बरु मेयर राजन श्रेष्ठले विदुरलाई सिँचाइ र बस्ती विकास दुवै चाहिएको भन्दै मध्यमार्गी विचार राख्नुभएको थियो । यतिखेर मलाई मेरा वडाध्यक्ष र मेयर सा’वलाई त्यही प्रश्न सोध्न मन लाग्यो– अब पनि सिँचाइ नै भन्ने हो कि बस्ती विकासलाई प्राथमिकतामा पार्ने हो ? यो बाढीले विदुर नगरपालिकाका देवीघाट, ढुङ्गे, त्रिशूली, भैँसे, तुप्चेलगायतका बस्ती सखाप पारेपछि तिनको पुनस्र्थापना अब पुरानै ठाउँमा सहज पनि छैन र सुरक्षित पनि छैन । एक–डेढ दशकपछि नदीले स्थायी बाटो लिइसकेपछि र पुरिएको ठाउँमा पनि जमिन दह्रो भइसकेपछि बस्ती विकास सम्भव होला, तर त्यसअघि पुरानै ठाउँमा बस्ती बसाल्न खोज्नु अर्को दुर्घटना नआउला भनेर ढुक्क हुने अवस्था छैन । किनभने नदीको सतह साबिकभन्दा धेरै माथि छ र थोरै मात्र बाढी आउँदा पनि फेरि जलमग्न हुने सम्भावना छ । यस्तो अवस्थामा देवीघाटवासीका लागि पुनस्र्थापना सबैभन्दा उपयुक्त थलो भनेको तल्लो पिपलटार हो । जुन देवीघाटकै विस्तारित बजार बन्न पनि सक्छ । नजिक पनि छ । त्यसका लागि सरकारले स्थानीयवासीको जग्गा मूल्य तिरेर अधिग्रहण गरेर सडक, बिजुली, खानेपानीको व्यवस्था गर्ने र सो जग्गा पीडितलाई दिनु उचित हुनेछ । जसको अन्यत्र घरजग्गा छ, उहाँहरूले पनि पुनस्र्थापनामै समावेश हुन चाहेमा अन्त कतै जग्गा जमिन, घर नभएकालाई भन्दा अलिकति मूल्य लिएर दिनु मनासिव हुनेछ ।
नगर क्षेत्रकै कतिपय सरकारी स्कुलसँग आवश्यकभन्दा बढी जमिन छ । विद्यालयलाई खेलमैदान, अन्य अतिरिक्त क्रियाकलाप गर्नका लागि विद्यालय भविष्यमा विस्तारका लागि समेत आवश्यक पर्ने जमिन छाडेर बाँकी जग्गा सरकारले विद्यालयसँग किन्नुपर्छ । जग्गा बिक्रीबाट प्राप्त रकमले विद्यालयको पूर्वाधार सुधार, आधुनिक प्रविधिको प्रयोग गराइने सामग्री खरिदमा लगानी गर्नु मनासिव हुनेछ । त्यसरी किनिएको जग्गामा पनि पूर्वाधार तयार पारेर पीडितलाई दिनु व्यावहारिक र सुरक्षित हुनेछ । अहिलेका लागि विदुर–५ को च्वाडी पब्लिक माविको पिपलटार साइडको र पोष्टबहादुर स्मृति पार्कनजिकको जग्गा सरकारले स्कुलसँग चलनचल्तीको मोलमा किनेर पूर्वाधार तयार पारेर बाढीपीडितलाई पुनस्र्थापना गर्नु बढी बुद्धिमानी हुनेछ । विद्यालयले धान्न सक्नेभन्दा बढी जग्गा राखिरहनुभन्दा परेको समयमा जमिन प्रयोगमा ल्याउन सक्नु बढी बुद्धिमानी हो । बाढीको प्रभावले मानिस कहाँ बस्ने भन्ने यकिन नहुँदा विद्यालयसमेत प्रभावित हुने सङ्केत देखिएका छन् । देवीघाटको रणभुवनेश्वरी मावि, सहिद जगतप्रकाशजंग शाह संस्कृत मावि, चन्द्रज्योति मावि, तुप्चेको चण्डेश्वरी माविमा विद्यार्थी सङ्ख्यामा असर पर्ने देखिएको छ । त्रिभुवन त्रिशूली माविको त नामनिसान नभएकोले के हुने भन्ने सबैभन्दा ठुलो अन्योल छ ।
नेपालमा विसं २००७ मा प्रजातन्त्र आएपछिको नुवाकोटकै पहिलो यो स्कुल अब इतिहासबाटै विलीन होला कि भन्ने चिन्ता जिल्लावासी, यो स्कुलका पूर्वविद्यार्थीमा छ । भूकम्पले त बाँचेका मानिसलाई उठ्न सक्ने गरी छाडिदिएको थियो । तर, यो बाढीले जो बाँचे तिनलाई सबैभन्दा सकस बनाइदिएको छ । यदि सरकारले आफ्नो उपस्थिति यो समयमा देखाउन सकेन र विस्थापितलाई इज्जत आमोदअनुसार नजिकैको स्थानमा पुनस्र्थापना गर्न सकेन भने यसले समाजमा डिप्रेसनको समस्या बढेर जानेछ । म भौगोलिक रूपमा टाढा रहेर पनि अनुभूति गरिरहेको छु–विदुर नगरपालिकाका जनप्रतिनिधिको खटाइ र सक्रियता यो महाप्रलयमा जति प्रशंसा गरे पनि कमै हुन्छ । जनताको सेवा गर्न भनेर निर्वाचित भएपछि गर्नैपर्छ । पूर्वजनप्रतिनिधिको सक्रियता र संलग्नता त्यत्तिकै छ । समाजका हरेक वर्ग, समुदाय यो विपत्तिमा एकाकार गर्दै, हातमा हात मिलाएर राहत र उद्धारको कार्यमा संलग्न छन् । अबको राहत भनेको पुनस्र्थापना हो । कतिन्जेल होल्डिङ सेन्टरमा राख्ने ? होल्डिङ सेन्टरको बसाइ जति लामो भयो एकातिर पीडितमा मानसिक तनाव थपिन्छ भने अर्कातिर विद्यालय, स्वास्थ केन्द्र जहाँजहाँ होल्डिङ सेन्टर छन् त्यसले पनि आफ्नो मूल काम (अध्ययन, उपचार) पनि गर्न नपाउने अवस्था बढ्छ । होल्डिङ सेन्टर अल्पकालीन हुन् । नगरका पदाधिकारी, सबै राजनीतिक दलले विस्थापितका लागि पुनर्वास योजनाअघि सार्न र बस्ती विकास गर्न अब सुरु गरिहालून् । नभए यसले समाजमा भयङ्कर द्वन्द्वको सिर्जना गर्नेछ । (लेखक भट्ट हाल अमेरिकाको टेक्सासमा रहनुभएको छ ।)






प्रतिक्रिया