+
Search

ताजा अपडेट +

पपुलर +

विदुर र बेलकोटगढी नपाले विपत्ति प्रभावितलाई नगद सहयोग

विदुर र बेलकोटगढी नपाले विपत्ति प्रभावितलाई नगद सहयोग
त्रिशूली प्रवाह
५३ मिनेट अगाडी

विदुर । भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको महाप्रलयकारी बाढीका कारण विपत्ति प्रभावितलाई नुवाकोट जिल्लाको विदुर र बेलकोटगढी नगरपालिकाले नगद आर्थिक सहयोग गर्ने भएका छन् ।

Utsuk Books & Stationery

विपत्मा परेका नागरिकलाई तत्काल रु.२५ हजार राहत उपलब्ध गराउने निर्णय गरेको बेलकोटगढीका नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो । सोमबार नगर कार्यपालिकाको बैठकले प्रभावित परिवारलाई आवश्यक पर्ने राहत सामग्री तथा अस्थायी आवास केन्द्र विद्यालयबाट अन्यत्र सारेर निरन्तर सञ्चालन गरिरहने निर्णय गरेको छ । नगरपालिकाले अस्थायी आवास केन्द्र वडा नं ७ को शिलादेवी मावि, रातमाते चर्च र महादेव माविमा सञ्चालन गरिरहेको छ । बाढीका कारण घर पूर्ण रूपमा क्षति भई बस्न योग्य नभएका, परिवारका सदस्य गुमाएका तथा बेपत्ता भएका नगरवासी परिवारलाई तत्काल राहतस्वरूप प्रतिपरिवार रु.२५ हजारको दरले आर्थिक सहयोग उपलब्ध गराउने, बाढीका कारण खेतीयोग्य जमिन गुमाएका किसान परिवारलाई प्रतिपरिवार रु.१० हजार आर्थिक सहयोग गर्ने निर्णय भएको उपप्रमुख शिवप्रसाद दाहालले बताउनुभयो । नगरपालिकाले भदौ २४ गतेबाट विद्यालय सञ्चालन गर्ने र विद्यालयमा रहेका होल्डिङ सेन्टरलाई अन्यत्र सुरक्षित स्थानमा सार्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभएको छ ।

बाढीका कारण नुवाकोटमा सबैभन्दा बढी जनधनको क्षति व्यहोरेको विदुर नगरपालिकाले आइतबार कार्यपालिकाको बैठक बसेर बस्नयोग्य घर नभएका नगरवासीलाई घर भाडामा लिई बस्नका लागि तत्काल प्रतिपरिवार रु.१० हजारका दरले घरभाडा उपलब्ध गराउने र आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, किचेन सेट, हाइजिन सेटलगायतका अत्यावश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । तीन तहको सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था र दाताहरूको सहकार्यमा अस्थायी आवास निर्माण गरी पुनस्र्थापना गरिने नगरप्रमुख राजनलाल श्रेष्ठले बताउनुभएको छ । विपत् प्रभावित नुवाकोट-रसुवालगायत अन्य जिल्ला र भारतीय नागरिकलाई समेत डेढ दर्जनभन्दा बढी अस्थायी आवास केन्द्र सञ्चालन गरेर खाने, बस्ने र स्वास्थ्य उपचारको सेवा दिइरहेको छ । कोठा भाडा लिँदा वा दिँदा कोही, कसैले प्रचलित चलनचल्तीको भाडादरभन्दा बढी लिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेसमेत उपप्रमुख प्रभा बोगटीले बताउनुभएको छ । अस्थायी सेवा केन्द्र रहेकाबाहेकको विद्यालयमा बुधबारबाट पठनपाठन सञ्चालन गर्ने र अस्थायी आवास सेवा केन्द्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयह केही दिनभित्र अन्यत्र व्यवस्थापन गरी ती विद्यालय सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । बाढीबाट प्रभावित अन्य जिल्ला तथा पालिकाका नागरिकलाई सम्बन्धित जिल्ला तथा पालिकालाई व्यवस्थापन गर्न पत्रचार गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह