+
Search

ताजा अपडेट +

पपुलर +

नोट छपाइ महँगो

नोट छपाइ महँगो
त्रिशूली प्रवाह
२ साल अगाडी

नेपालमा नोट छपाइको प्रविधि नहुँदा राष्ट्र बैंकले बर्सेनि अर्बौँ रुपैयाँ नोट छपाइमा खर्च गर्नु परिरहेको छ । विश्वव्यापी मूल्यवृद्धि र अर्थतन्त्रको आकार विस्तारका कारण परिमाण पनि बढाउनुपर्ने हुँदा नोट छपाइ खर्च बढ्दै गएको छ । भएकै सिक्का टङ्कनको प्रविधि समयानुकूल परिमार्जन नगर्दा सिक्का टङ्कनका लागि पनि नेपालले विदेशमै भर पर्नुपर्ने अवस्था छ ।

Utsuk Books & Stationery

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययनअनुसार नेपालले विगतको पाँच वर्षमा औसत वार्षिक एक अर्ब ३३ करोड ६४ लाख रुपैयाँ नोट छपाइकै लागि विदेशमा खर्चने गरेको छ । नेपालमा सुरक्षण प्रेस नभएकाले सुरक्षित र भरपर्दो छपाइका लागि फ्रान्स, चीन फिनल्यान्डजस्ता देशमा खुला बोलकबोल प्रक्रियाका आधारमा विभिन्न दरका नोट छाप्ने गरिएको छ । नोट छाप्दाको लागत, ढुवानी र बिमाका लागि राष्ट्र बैंकले गर्ने खर्चको दर पनि बढ्दै गएको देखिएको छ । नेपालमा अभौतिक मुद्रा (डिजिटल करेन्सी) सम्बन्धमा राष्ट्र बैंकले तयार गरेको एक अवधारणा प्रतिवेदनले यस्तो खर्च विवरण देखाएको हो । राष्ट्र बैंकले आर्थिक वर्ष ०७६/७७ मा नोट छपाइ तथा ढुवानीमा ८७ करोड ४१ लाख रुपैयाँ मात्रै खर्चिएको थियो । तर, लगत्तै ०७७/७८ मा आइपुग्दा यस्तो खर्च करिब दोब्बर (९१.०६ प्रतिशत)ले बढेर एक अर्ब ६७ करोड रुपैयाँ पुगेको देखिन्छ । आर्थिक वर्ष ०७८/७९ मा यस्तो खर्च ४५ प्रतिशतले बढेर दुई अर्ब ४३ करोड ६६ लाख रुपैयाँ पुगेको देखिन्छ ।

राष्ट्र बैंकले नोट विदेशमा छपाइ गर्नुपर्ने र विश्वव्यापी मूल्यवृद्धिका कारण छपाइ खर्च बढिरहेको छ । विश्वका विभिन्न मुलुक, जहाँ छपाइ गुणस्तर र सुरक्षित छ, त्यसकै आधारमा छपाइ गर्ने हो । विश्वव्यापी मूल्यवृद्धिको असरले राष्ट्र बैैंकको नोट छपाइ खर्च वृद्धि भएको देखिन्छ । राष्ट्र बैंकले ती नोट ढुवानीका क्रममा सुरक्षा र बिमा प्रयोजनमा पनि थप रकम खर्च गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले नेपालमा डिजिटल करेन्सी प्रयोग गर्ने तथा भुक्तानीमा विद्युतीय प्रणालीको प्रयोग बढाउन सके अबको पाँच वर्षमा नोट छपाइ क्रमिक रूपले हालको भन्दा ५० प्रतिशत कम गर्न सकिन्छ । यसबाट छपाइ खर्च करिब चार अर्ब ७५ करोड रुपैयाँ पनि बचत हुनेछ । अर्थतन्त्रको आकार विस्तार हुँदै जाँदा नेपालमा नोट खपतको मात्रा वार्षिक करिब १२.५ प्रतिशतले बढ्ने गरेको छ । नेपालमा अहिले एक हजार, पाँच सय, एक सय, पचास, बीस, दश र पाँच रुपैयाँ दरका नोट प्रचलनमा रहेका छन् ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार सामान्यतया प्रतिनोट छपाइ लागत एक हजार रुपैयाँको तीन रुपैयाँ सात पैसा, पाँच सयको चार रुपैयाँ ६८ पैसा, एक सय रुपैयाँको दुई रुपैयाँ ९९ पैसा, ५० रुपैयाँ नोटका लागि दुई रुपैयाँ ६२ पैसा लागत लाग्छ । त्यस्तै, २० रुपैयाँ र सोभन्दा कमका लागि दुई रुपैयाँ ५० पैसा पर्छ । तर, यो दर सधैँ स्थिर भने रहँदैन । बोलकबोलका आधारमा मूल्य तय हुन्छ । नेपालमा नोट छपाइको प्रविधि छैन, तर भएको सिक्का टङ्कण (छपाइ)को प्रविधि पनि हाल उपयोगमा छैन । पुरानो प्रविधि र उपयुक्त जनशक्तिको अभावका कारण अहिले सिक्का पनि देशभित्र टङ्कन हुने अवस्था छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह