समृद्धिका लागि एमालेको सङकल्प यात्रा : ऐतिहासिक नुवाकोट

सङ्कल्प यात्रा नाम दिएको सो अभियानमा एमालेले सहभागीलाई १५बुँदे आचारसंहितासमेत जारी गरेको छ । मध्यपहाडी यात्रामा अध्यक्ष केपी शर्मा ओलीबाहेकका नेताहरूले निजी सुरक्षागार्ड प्रयोग गर्न नपाउने भएका छन् । कार्यकर्ता र जनताको बीचमा यात्रा गरिने भएकाले नेताहरूलाई असुरक्षाका अनुभूति नहुने र व्यवस्थापनको बोझसमेत घट्ने भएकाले निजी सुरक्षाकर्मी यात्रामा लैजान नपाउने विधि बनाइएको छ ।

  • त्रिशूली प्रवाह
  • २१ मंसिर २०८०, बिहीबार १२:२३
  • रामलाल श्रेष्ठ

नेपाल बन्दै बन्दैन भन्ने मत बढिरहेको छ । युवाहरू रहरले र बाध्यता दुवै कारणले बिदेसिइरहेका छन् । नेपालमा जन्मनेभन्दा बिदेसिने सङ्ख्या धेरै भएको कारण एक दिन नेपाल भुराभुरी र बुढाबुढीको देश हुनेछ । नेपालका पहाडबाट मानिस रित्तिसके । पहाडका बस्तीमा सिर्जना भएका सम्पदा खण्डहर भइसके । नेपालको पहाडभरि धुले सडक त बन्यो, तर पहाडमा मानिसलाई अड्याउन सकिएन । पहाडबाट बेँसी, बेँसीबाट उपत्यका र तराई झर्ने नेपालीको बसाइँ सर्ने स्वभाव अब विदेशतिर बढ्दै छ । दैनिक आठ सय मानिस जन्मँदा दैनिक पच्चीस सयभन्दा बढी मानिस विदेश जाने गरेको तथ्याङ्क बाहिर आएको छ ।

नेपाली बिदेसिन थालेको आज मात्र होइन । नेपाली बिदेसिन थालेको दुई शताब्दीअगाडिबाट हो । नेपाली भारतको ब्रिटिस सेनामा भाडाको सिपाहीको रूपमा जान थालेपछि गोर्खा भर्तीको रूपमा भारतीय सेनाको रोजगारीमा नेपाली बिदेसिने क्रम सुरु भएको हो । हिजो नेपालको पहाडमा बरालिने युवा मानव जातिमै बहादुर योद्धाको प्रतिको रूपमा ब्रिटिसले आफ्नो सेनामा रोजगारीका लागि लाने गर्दथे । आज नेपालीको त्यो ख्याति फेरिएको छ । आज मानवबलको आधारमा युद्ध लड्ने परम्परा फेरिएको छ । आज मानवबलभन्दा मानवले विकास गरेको प्रविधिको आधारमा युद्ध लडिँदै छ । हिजोको त्यो मानव जातिमै आवश्यक बलशाली र बहादुरीपन आजको युद्धमा आवश्यक छैन । आज नेपाली युवा जतिसुकै बहादुर भए पनि विश्वको युद्धको बजारमा नेपाली युवाको आवश्यकता छैन । विगत २५–३० वर्षमा नेपालमा बिक्री गर्ने वस्तुको रूपमा विश्वकै सस्तो मानव श्रमको सिर्जना भएको छ । आज नेपाली युवाले विश्वकै सबैभन्दा सस्तो मानव श्रमको रूपमा ख्याति कमाइरहेको छ । यो ख्यातिको कारण विश्व पुँजीबजारमा नेपाली युवा सस्तो मानव श्रमको रूपमा बजार हिस्सा बढाउँदै छ । आज नेपाल युवाको सस्तो मानव श्रम बेचेर धनी बन्ने सपना देख्दै छ । आज नेपाल विश्व पुँजीबजारको श्रमिक आपूर्ति गर्ने देशमा रूपान्तरण भइरहेको छ । विश्वका धेरै देशका पुँजीपतिको औद्योगिक कलकारखानाको देशको रूपमा औद्योगिक क्षेत्र हो भने नेपाल त्यो औद्योगिक क्षेत्रको एउटा कुनामा औद्योगिक कलकारखानामा काम गर्ने श्रमिक बस्ने झोपटपट्टिको देश बन्दै छ ।

औद्योगिक कलकारखानाका मालिकले विश्वभरबाट जहाँ सस्तो श्रम पाइन्छ, त्यहीँबाट श्रमिकलाई रोजगारी दिने औद्योगिक क्रान्तिपछिको परम्परागत विधि नै हो । आज त्यही भइरहेको छ जुन सन् १७६० देखि १८५० ताका युरोपमा भइरहेको थियो । १९औँ शताब्दीको मध्यमा उद्योग तथा कलकारखानामा काम गर्ने श्रमिकले जति धेरै काम गर्दछन् त्यति नै धेरै गरिब हुने पुँजीवादी संरचनाविरुद्ध कार्लमाक्र्सले आफ्नो आवाज उठाएका थिए । श्रमिक १८ देखि २० घण्टा श्रम गर्नुपर्ने, तर यति कठोर श्रम गर्दा पनि जीवन निर्वाहको ज्यालाभन्दा बढी ज्याला हात नपर्ने स्थिति हिजो युरोपभरिको श्रमिकको थियो भने आज त्यो स्थिति नेपालको वैदेशिक रोजगारीमा रहने युवाको छ । आज विश्वको कुनै पनि औद्योगिक र समृद्ध राष्ट्रमा रोजगारीमा रहने प्रत्येक नेपालीको अवस्था यही नै हो । नेपाली युवाको यो अवस्था भनेको आजभन्दा दुई शताब्दीअगाडिको युरोपेली श्रमिकको अवस्था नै हो । यो अवस्थामा मानिस मानिसको रूपमा नभई एउटा जनावरको जिन्दगी बाँचिरहेको हुन्छ । एउटा जनावर खाने, सुत्ने र सन्तान उत्पादन गर्नेभन्दा मानिसको रूपमा गर्नुपर्ने चिन्तन र स्वतन्त्र रूपले उत्पादनको गतिविधि गर्ने स्थितिमा हुँदैन । २१औँ शताब्दीमा नेपाली समाज १८औँ शताब्दीतिरकै युरोपेली श्रमिकको जीवन बाँचिरहेका छन् । यो स्थितिको अन्त नभई नेपाली समाजको असन्तुष्टि रोकेनेवाला छैन । आजको नेपाली समाजको प्रमुख असन्तुष्टि बिदेसिन बाध्य परिस्थिति नै हो । यो परिस्थिति नफेरेसम्म नेपाली समाजको अवस्था फेरिने परिस्थिति निर्माण हुँदैन । पूर्व–पश्चिम रेल कुदाउँदैमा वा मध्यपहाडी लोकमार्ग निर्माण गर्दैमा नेपाली समाजको अवस्थामा परिवर्तन आउँदैन ।

यस्तो अवस्थामा नेकपा एमालेले मध्यपहाडी लोकमार्गको समृद्ध यात्रा गरिरहेको छ । पश्चिम नेपालको बैतडीबाट सुरु भएर यात्राको मध्यबिन्दु नुवाकोटमा यो यात्रा यही २३ गते आइपुग्दै छ । आधाबाटोको यात्रा तय गरिसकेपछि एमाले नेतृत्व पङ्क्तिले रित्तिएको मध्यपहाडको दुई शताब्दी अगाडिको नेपाल एकपटक अध्ययन गर्नुपर्ने हुन्छ । नुवाकोटकै सन्दर्भमा दुई शताब्दी अगाडि नुवाकोट भन्ने भूगोलको रूपमा नुवाकोटको विदुर नभई विदुरबाट ६ किलोमिटरको दूरीमा डाँडाको टुप्पोमा स्थित नुवाकोट दरबार क्षेत्रलाई चिनिथ्यो । आज दुई शताब्दी अगाडिको त्यो स्थल जसरी रित्तो छ ठीक त्यसैगरी नेपालको गाउँ रित्तिएको छ । पश्चिमदेखि पूर्वका मध्यपहाड नै हिजोको नेपाल हो । हिजोको नेपालको जीवन नै मध्यपहाडी भूगोल थियो । नेपालको उत्पादनको मुख्य केन्द्र नै मध्यपहाडी भूगोलका बेँसी र गाउँ थिए । नेपालको पहिचान नै मध्यपहाडी भूगोलको डाँडामा निर्माण भएका स–साना सहर र ती सहरभित्रका पुरातात्विक सम्पदा थिए । मानिसको जीवनलाई आवश्यक असल जीवन जिउने दर्शन पहाडको टुप्पोमा बसेका मानव बस्ती ती बस्तीभित्रका मठ–मन्दिर, जात्रा, पर्व र संस्कृति थिए भने जीवनलाई आवश्यक धान्ने उत्पादन मध्यपहाडी भूगोलका बेँसी तथा नदीकिनारमा लमतन्न फैलिएको बेँसीका फाँट तथा टार नै थिए ।

एमालेको यो ऐतिहासिक मध्यपहाडी लोकमार्गको यात्रामा भ्रमणका लागि छुटाउनै नहुने स्थलमा त्यस्ता ऐतिहासिक र पुरातात्विक नुवाकोट दरबार क्षेत्रजस्ता स्थलसमेत हुनुपर्छ । यी ऐतिहासिक महत्वको स्थल रित्तिने कारण खोज्दै र पुनः कसरी यी स्थल भरिभराउ गर्ने र पुरानै मानवबस्तीको केन्द्र बनाउने भन्ने उपायको खोजी नै यो मध्यपहाडी लोकमार्ग यात्रा अभियानको उद्देश्य हुनुपर्छ । मध्यपहाडी लोकमार्गको दायाँबायाँ मानवबस्ती बसाउने चिन्तनले नेपाललाई बिदेसिनबाट रोक्न सकिँदैन । मध्यपहाडी लोकमार्गको पहाडी पुराना बस्तीको पुनर्निर्माण, बेँसी र टारमा उत्पादनको महान् अभियानबिना मोटरगाडी र रेलगाडी दोडँदैमा नेपालीको अवस्थामा कुनै परिवर्तन हुँदैन । नेकपा एमालेका नेतृत्व पङ्क्तिले दुई शताब्दीअगाडि नेपाल एकीकरणको केन्द्रको रूपमा रहेको नुवाकोट दरबार क्षेत्रको भ्रमण नगर्ने हो भने यो मध्यपहाडी लोकमार्गको अभियानलाई अभियानको रूपमा मात्र सम्झना गरिनेछ, सार्थक उपलब्धिको यात्राको रूपमा सम्झना गरिनेछैन । नुवाकोटको बीचभागबाट गएको मध्यपहाडी लोकमार्ग झन्डै सय किलोमिटर दूरी रहेको छ । धादिङको सिमाना सामरीभञ्ज्याङदेखि सिन्धुपाल्चोकको पाटीभञ्ज्याङसम्मको यो लोकमार्गमा पर्ने बेंसी, फाँट, टार विगतको अन्न भण्डारको क्षेत्र रहेको थियो । अहिले त्यो क्षेत्रमा घनाबस्ती बस्ने क्रम तीव्र बनेको छ । ठूला टार, फाँट, बेँसी अहिले कङ्क्रिटको जङ्गल बनिरहेको एमालेको अध्यक्ष नेतृत्वको अभियान टोलीले प्रत्यक्ष देख्नेछ । यो अभियानपछि एमाले नेतृत्वले नुवाकोटको ऐतिहासिक सम्पदाको संरक्षण, प्रवद्र्धन तथा कृषि उत्पादनको सम्भावनालाई केन्द्रीय योजनामा समेटिने अपेक्षा जिल्लावासीको छ ।

नेकपा एमालेको मध्यपहाडी लोकमार्ग पदयात्रा मङ्सिर १४ गतेबाट सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर मध्यपहाडी लोकमार्ग यात्राको उद्घाटन भएको थियो । यो अभियानको यात्राले करिब एक हजार आठ सय ७९ किलोमिटरसम्म एमालेको पदयात्रा गर्नेछ । एमालेले स्थानीयवासीसँग संवाद गर्न, मध्यपहाडका समस्या सुन्न र समाधानको पहल गर्न सुरु भएको २१ दिन लामो मध्यपहाडी यात्रा तय गरेको हो । बैतडीको झुलाघाटबाट सुरु हुने यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुस २ गते समापन हुनेछ । एमालेले झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्राले मुलुकमा समृद्धिको थप आधार तय गर्ने जनाउँदै लोकमार्गमा कम्तीमा ४० वटा साना–ठूला सभा गर्ने भएको छ । विकास र समृद्धिका लागि एमाले पार्टीले मध्यपहाडी लोकमार्गको यात्राले समृद्धिको आधार तय गर्ने भन्दै ४० वटा साना–ठूला सभा गर्ने भएको हो । तीन सातासम्म जारी रहने पदयात्रामा मध्यपहाडी राजमार्ग क्षेत्रमा अवस्थित विभिन्न ठाउँमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाबारे छलफल र अन्तक्र्रिया पनि गर्ने भएको छ । ‘यो राष्ट्रिय अभियान हो । १० वटा नयाँ सहरले पहाडी क्षेत्रको समृद्धि तय गर्ने बताइएको छ । यो अभियानमा युवा विद्यार्थी, प्राज्ञिक व्यक्तित्व, उद्योगी–व्यवसायी, किसानसँग जिल्ला–जिल्लामा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सङ्कल्प यात्रा नाम दिएको सो अभियानमा एमालेले सहभागीलाई १५बुँदे आचारसंहितासमेत जारी गरेको छ । मध्यपहाडी यात्रामा अध्यक्ष केपी शर्मा ओलीबाहेकका नेताहरूले निजी सुरक्षागार्ड प्रयोग गर्न नपाउने भएका छन् । कार्यकर्ता र जनताको बीचमा यात्रा गरिने भएकाले नेताहरूलाई असुरक्षाका अनुभूति नहुने र व्यवस्थापनको बोझसमेत घट्ने भएकाले निजी सुरक्षाकर्मी यात्रामा लैजान नपाउने विधि बनाइएको छ । मङ्सिर ६ गतेको केन्द्रीय कमिटी केन्द्रीय कार्यालयबाट पेस गरिएको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको अवधारणामा व्यवस्थापनका विविध विधि पास गरिएको थियो । नेताहरूका सवारीसाधनका अतिरिक्त चारवटा विशेष टिम यात्रामा तय गरिएको छ । जसमा एम्बुलेन्ससहितको मेडिकल टिम, टायर पञ्चरलगायत सवारीसाधनमा आउने मेकानिकल समस्या समाधान गर्ने प्राविधिक टिम रहेको छ । यसैगरी, प्रचारको टिम र न्यूनतम २० जना दक्ष स्वयम्सेवकका लागि चारवटा गाडी रहेको छ । लामो यात्रा, कतिपय ठाउँमा साँघुरो बाटो भएको र कोही बिरामी भइहालेको खण्डमा आफैँसँग एम्बुलेन्स हुँदा बिरामीलाई उपचारका लागि लैजान सहज होस् भनेर एम्बुलेन्स व्यवस्था गरिएको छ । यसैगरी यात्रामा रहेका धेरै गाडी हुने र बीचमा कुनै गाडीमा समस्या आएमा स्थानीय मेकानिक्सलाई बोलाउन समय लाग्ने भएकाले आफ्नो टिममा नै आफैँसँग मेकानिक्स टिम सहभागी गराइएको छ ।