समृद्धिका लागि एमाले नुवाकोटको आधारपत्र

  • त्रिशूली प्रवाह
  • २८ मंसिर २०८०, बिहीबार १३:३३

बद्री मैनाली
अध्यक्ष
नेकपा एमाले, नुवाकोट

नेपाली कम्युनिस्ट आन्दोलनको मूलधारको रूपमा रहेको गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीले जनताको माग र आवश्यकताअनुरूप नेपाली जनताको मुक्तिका लागि चालेको कदमप्रति हार्दिक आभार प्रकट गर्दछौँ । पार्टीले चालेको मिसन ग्रासरुट अभियानको सफलतापछि समृद्धि र विकासका लागि मध्यपहाडी क्षेत्रको समस्या पहिचानका लागि नेकपा एमालेले नै निर्माण कार्य थालनी गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग र यस भ्रमणले पहाडी क्षेत्रमा बसोवास गर्ने नेपालीको समस्या र समाधान पहिचान गरी तिनको समाधानको उपाय पत्ता लगाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको दृढआकाङ्क्षा पूरा गर्न सफल हुनेछ भन्ने विश्वास लिएको छु । नेकपा एमालेले देशको विकास र समृद्धिका लागि महत्वपूर्ण कार्य गरी नेपाली जनताको मन जित्न सफल भएको छ । ०५१ सालमा एमालेको सरकारले गरेको जनमुखी कार्य, सामाजिक सुरक्षा भत्ताको सुरुवातले वृद्धवृद्धा, विधवा, अपाङ्ग र असक्तको भरोसाको केन्द्र एमाले बन्न पुगेको छ । त्यसैगरी ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ कार्यक्रम तथा नौ स अभियानका कारण अहिले गाउँ–गाउँमा बाटो, पुल, खानेपानी, सिँचाइजस्ता विकासका अभियान तीव्र रूपमा भइरहेका छन् । स्थानीय तहलाई सक्षम बनाउन सीधै बजेट दिने व्यवस्थाले अहिले स्थानीय जनताका विकासको पार्टी नै एमाले भन्ने सन्देश गएको छ भन्ने बुझेको छु ।

एमालेका नेता विभिन्न समयमा संयुक्त सरकारमा रहेका बेला पनि जनमुखी कार्य गरी जनताको मन जित्न सफल भएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारका बेला छिमेकी भारतीय नाकाबन्दीको डटेर सामना गरेबाट एक मात्र राष्ट्रवादी पार्टी हो भन्ने छाप नेपाली जनतामा परेको छ । चीनसँगको व्यापार तथा पारवहन सम्झौताले नेपालले भारतसँगको मात्र निर्भरतालाई तोडेको छ । एमाले नेतृत्वको सरकारको कार्यकालमा थालनी गरिएका राष्ट्रिय गौरवका आयोजनाको दूरगामी प्रभाव देशको विकासको कोसेढुङ्गा हुनेछ भन्नेमा हामी विश्वस्त छौँ । नेपालको लोकतन्त्र तथा सङ्घीय गणतन्त्र तथा धर्मनिरपेक्षताका लागि गरेको योगदान तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा लिएको अडानबाट प्रतिगामी शक्ति एमालेसँग डराइरहेका छन् । देशमा परिवर्तनलाई संस्थागत गर्न एमालेले मात्र सक्छ भन्ने दृष्टान्त जनसमक्ष स्थापित गर्न सफल भएको छ ।

This image has an empty alt attribute; its file name is Tp-2080-Mangsir-28_page-0002-1.jpg

श्रद्धेय अध्यक्षज्यू,
एमाले नेतृत्वको सरकारको पालामा सुरु गरिएका गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना, प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग तथा छहरे–टोखा सुरुङमार्ग, शुभघाट औद्योगिक क्षेत्रजस्ता विकास आयोजनाको दूरगामी आयोजनाबाट नुवाकोट जिल्लाले लाभ लिन सक्छ भन्ने कुरामा हामी विश्वस्त छौँ । हाम्रा नेताहरूले विगतमा सङ्घीय तथा प्रदेशको प्रतिनिधित्व गर्दा तथा मन्त्री हुँदा नुवाकोटको दूरगामी विकासका लागि गरेका कार्य तथा योगदान पनि त्यत्तिकै महत्वपूर्ण छन् । एमालेका सङ्घीय सांसद नारायणप्रसाद खतिवडा (२०७४–२०७९) ले सांसद विकास कोषमार्फत गरेका विकास निर्माणका कार्य, प्रदेश सभासद् तथा मन्त्री केशवराज पाण्डे तथा बद्री मैनालीका कार्यकालमा भएका विकास निर्माणका कार्यले पनि नुवाकोटको विकासमा थप योगदान पु¥याएका छन् । यस जिल्लाको विकासका लागि, यहाँका जनताको आवश्यकता र अपेक्षाको परिपूर्तिका लागि आगामी दिनमा गर्नुपर्ने कार्य पनि त्यत्तिकै महत्वपूर्ण रहेका छन् । यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, कृषि, पर्यटन, खेलकुद आदि क्षेत्रको विकासले समग्र देशको विकास र समृद्धिमा एउटा इँटा थप्ने कुरामा कुनै सन्देह छैन । तसर्थ नुवाकोट जिल्लाको विकास र समृद्धिमा यहाँका जनताको मागलाई निम्न बुँदामा उल्लेख गरिएको छ ।

१. केरुङ–काठमाडौं रेलमार्ग र टोखा–छहरे सुरुङमार्गको काम यथाशीघ्र थालनी गर्नुका साथै गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग, बालाजु, रानीपौवा, पिपलटार, पासाङल्हामु राजमार्ग, नुवाकोट खण्डको मध्यपहाडी लोकमार्गलगायतका सडक आयोजना यस जिल्लाको विकासका मेरुदण्ड भएकाले तिनीहरूको निर्माण तथा सुधार कार्य यथाशक्य छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने देखिन्छ । यसै जिल्लाको देवीघाटदेखि डेउडीसम्मको २१ किलोमिटर मध्यपहाडी लोकमार्ग खण्डको बस्ती तथा जङ्गल क्षेत्रको विवाद समाधान गरी अविलम्ब ट्र्याक खोल्नका लागि सरकारसमक्ष तपाईंमार्फत दबाब र पहल गरिदिनका लागि माग गर्दछौँ ।
२. कृषि क्षेत्रको विकासका लागि रासायनिक मल कारखाना स्थापना गरी मलको आपूर्तिको दिगो प्रबन्ध र सबैखाले कृषि उत्पादनको उचित समर्थन मूल्य तोक्ने, बजार सुनिश्चितता गरी कृषि कार्यलाई यान्त्रीकरण, आधुनिकीकरण र व्यावसायीकरण गरी रोजगारी सिर्जना गर्ने पेसाको रूपमा विकास गरिनुपर्दछ ।
३. नुवाकोट जिल्लाको विद्यमान सुकुमवासी समस्या र एक हजार पाँच सय घरधुरीको बिर्ता तथा गुठी जग्गाका कारण भू–स्वामित्वबाट वञ्चित रहेका जनतालाई एकल भू–स्वामित्व प्रदान गरिनुपर्दछ ।
. यस जिल्लामा अझैसम्म पनि युवाको क्रेजको रूपमा रहेको क्रिकेट खेलमैदानको अभाव रहेकाले सोको निर्माणमा पहल गरिनुका साथै जिल्लाको १२ वटै पालिकास्तरमा एक–एकवटा सुविधासम्पन्न खेलमैदान निर्माण गरिनुपर्दछ ।
५. एमाले नेतृत्वको सरकारको पालामा सुरु गरिएको विदुर नगरपालिका– १० शुभघाट औद्योगिक क्षेत्र निर्माण कार्यलाई निरन्तरता दिइनुपर्दछ । उक्त क्षेत्रमा जग्गा अधिग्रहण गर्ने कार्य सम्पन्न भइसकेको छ ।
६. जिल्लाको धार्मिक एवम् पर्यटकीय स्थल ककनी, सुइरेचौर, चिम्टेश्वर, दुप्चेश्वर, ढिकीजाँतो चुली, कुटुङसाङ, बेत्रावती, सूर्यगढी, पञ्चकन्या मन्दिर, वनदेवी, नुवाकोट दरबार क्षेत्र, जालपा क्षेत्र, बेलकोटगढी, ऐतिहासिक गोरुजुधाई (जिल्लाको विभिन्न स्थान) स्थानलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनुपर्दछ । एमालेको सरकारको पालामा सुरु गरिएको नुवाकोट दरबार क्षेत्रको रोकिएको पुनर्निर्माण कार्यलाई शीघ्र सम्पन्न गरिनुपर्छ ।
७. जिल्लाको सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गरिरहेको विदुर खानेपानीको मर्मत–सम्भार र अन्य पालिकामा ग्रामीण खानेपानी आयोजना सञ्चालन तथा सुक्खाटार एवम् बेँसीमा सिँचाइको प्रबन्ध गरिनुपर्दछ ।
८. एमालेको सरकारको पालामा सुरुवात गरिएका १४ वटा रणनीतिक महत्वका सडक तथा काँशीटार–बाघखोर–कुमरी–धार्के लोकसञ्चारमार्गजस्ता आयोजना एमाले सरकारबाट बाहिरिएसँगै बनेको गठबन्धन सरकारले कटौती गरेकोले ती कार्यक्रमको निरन्तरताका लागि पहल गरिदिनुहुन अनुरोध गर्दछौँ ।
९. रसुवा र धादिङको सिमानामा रहेको गणेश हिमाल सिसा तथा जस्ताखानीलाई राष्ट्रियकरण गर्ने । धादिङको रुविभ्यालीको अवैध रुबि उत्खननलाई रोकी सरकारले नै सञ्चालन गर्नुपर्ने तथा नुवाकोटको तलाखुदेखि रसुवाको स्याउबारी जोड्ने सडकलाई व्यवस्थित गरी गोसाइँकुण्डसम्मको वैकल्पिकमार्ग विकास गर्न पहल गरिदिन आग्रह गर्छौँ ।
१०. रसुवा तथा नुवाकोट जिल्लाबाट झण्डै नौ सय मेगावाट जलविद्युत् उत्पादन प्रक्षेपण भएकोमा दुई सय मेगावट सम्भावित उत्पादन भए पनि हाल एक सय ३६ उत्पादन सम्पन्न भएको, चार सय मेगावाट निर्माणाधीन रहेको, पिपिए÷पिडिए भएर होल्ड भएको दुई सय ६० मेगावाट आयोजनालाई कार्यान्वयनमा लैजानुपर्ने भएकाले सोको पहल गरिनुपर्ने ।
११. उपत्यकाको फोहोरका कारण विगत १९ वर्षदेखि नुवाकोटको सिसडोल डम्पिङसाइट वरपरका जनताका समस्याका सम्बन्धमा सडक, शिक्षा, खानेपानी तथा स्वास्थ्यलगायतका अन्य विषयमा प्रभावित क्षेत्रको जनतासँग पटक–पटक सम्झौता भएर पनि कार्यान्वयन हुन नसकेकाले यथाशीघ्र सो क्षेत्रका जनताको जग्गा उचित मुआब्जासहित अधिग्रहण गरी समस्याको स्थायी समाधान गर्न सरकारलाई दबाब दिनुहुनेछ भन्ने आशा लिएका छौँ । फोहोर र मानिस सँगै बस्न नसक्ने भएकाले जनताको उचित व्यवस्थापन हुनुपर्छ ।

(‘सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय’ भन्ने नाराका साथ सुरु भएको ‘समृद्धिका लागि सङ्कल्प यात्रा–२०८०’ को कार्यक्रममा शनिबार नुवाकोट आउनुभएका एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नुवाकोट एमालेको तर्फबाट सन्देश सभामा जिल्ला अध्यक्ष बद्री मैनालीले वाचन गरेर बुझाउनुभएको आधारपत्र ।)