त्रिशूली, रसुवा र धादिङ अस्पतालसहित प्रदेशको १३ अस्पतालको शय्या वृद्धि

  • त्रिशूली प्रवाह
  • १९ पुष २०८०, बिहीबार ११:५५

मकवानपुर (हेटौँडा), बागमती प्रदेश सरकारले नुवाकोट, रसुवा र धादिङसहित प्रदेशमातहतका १३ अस्पतालमा शय्याको सङ्ख्या तीन गुणाभन्दा बढीले वृद्धि गरेको छ । नुवाकोट र धादिङको अस्पतालको ५० शय्याबाट बढाएर एक सय शय्या बनाएको छ । स्वास्थ्यमाथिको नागरिकको पहुँच वृद्धि गर्ने योजनासहित प्रादेशिक अस्पतालमा विगतको स्वीकृत शय्यामा तीन गुणाभन्दा बढीले थप गरिएको हो । प्रदेशमातहतका १३ वटा प्रादेशिक अस्पतालमा गरी यसअघि स्वीकृत शय्या सङ्ख्या तीन सय ८५ रहेकोमा वृद्धि गरी हाल स्वीकृत शय्या एक हजार दुई सय ७५ पु¥याइएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रादेशिक अस्पतालको स्तरोन्नति शय्यामा अस्पतालको शय्या थप गरिएको जानकारी दिए ।

प्रदेश सरकारमातहत अस्पतालको स्वीकृत शय्या सङ्ख्या तीन सय ८५ भए पनि ती प्रादेशिक अस्पतालले स्वीकृत शय्याभन्दा बढी क्याबिन, आइसियू, एचडियू, एनआइसियू र सामान्य शय्या गरी आठ सय ७९ वटा शय्याबाट नागरिकलाई सेवा प्रवाह गर्दै आएका थिए । प्रादेशिक अस्पतालको सेवा विस्तार र नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने प्रदेश सरकारको नीतिअनुसार भदौ १ गतेबाट प्रादेशिक अस्पतालमा सामान्य शय्या निःशुल्क गरिएको थियो । १३ वटा प्रादेशिक अस्पतालका गरी आठ सय ११ वटा सामान्य शय्या निःशुल्क रूपमा नागरिकलाई उपलब्ध गराइँदै आएको छ । प्रादेशिक अस्पतालमा विशिष्टिकृत शय्या सङ्ख्या अर्थात् क्याबिन, आइसियू र एनआइसियू शय्या सङ्ख्या ६८ वटा रहेका छन् । प्रादेशिक अस्पतालमा आउने बिरामीको चापका आधारमा उपलब्ध शय्या अभाव भएपछि शय्या सङ्ख्या वृद्धि गर्नुपरेको बताइन्छ । उनले प्रादेशिक अस्पतालबाट प्रभावकारी स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्यमा नागरिकको पहुँच वृद्धिको क्रममा मन्त्रालयको साङ्गठानिक संरचना तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत भइसकेको बताए । उनले स्वास्थ्यका प्राविधिक जनशक्तिको स्थायी दरबन्दीमा प्रदेश लोकसेवा आयोगमार्फत माग गरेर पदपूर्ति गर्ने निर्णयसहित अस्पतालमा शय्या थप गर्ने निर्णय भएको बताए ।

मन्त्रालयको सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने सरकारको निर्णयानुसार हेटौँडा अस्पताल र भक्तपुर अस्पतालको शय्या सङ्ख्या तीन–तीन सय बनाइएको छ । यसअघि हेटौँडा अस्पतालको स्वीकृत शय्या सङ्ख्या ५० र भक्तपुर अस्पतालको स्वीकृत शय्या सङ्ख्या ७५ मात्र रहेको थियो । प्रादेशिक अस्पताल स्तरोन्नति गर्ने प्रदेश सरकारको निर्णयानुसार धादिङबेँसीस्थित धादिङ अस्पताल, नुवाकोटको त्रिशूली अस्पताल, सिन्धुली अस्पताल, चितवनको बकुलर अस्पताल सय–सय शय्याको बनाइनेछ । यसअघि स्वीकृत शय्या धादिङ अस्पताल, त्रिशूली अस्पताल र सिन्धुली अस्पतालमा ५०–५० तथा बकुलर अस्पतालमा १५ रहेको मन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताललाई ५०–५० शय्याको बनाइने भएको छ । यसअघि सिन्धुपाल्चोक अस्पताल १५, रामेछाप अस्पताल १५, पशुपति चौलागाईं अस्पतालमा २५ र मेथिनकोट अस्पतालमा स्वीकृत शय्या सङ्ख्या पाँच रहेको थियो । उता रसुवा अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल र काठमाडौंको टोखा चण्डेश्वरी अस्पतालमा स्वीकृत शय्या सङ्ख्या वृद्धि गरी २५–२५ बनाउने निर्णय गरिएको छ । यसअघि रसुवा अस्पताल र बज्रबाराही चापागाउँ अस्पतालको स्वीकृत शय्या १५–१५ तथा टोखा चण्डेश्वरी अस्पतालको स्वीकृत शय्या सङ्ख्या पाँचवटा रहेको थियो । तर, बज्रबाराही चापागाउँ अस्पताल र टोखा चण्डेश्वरी अस्पताल यसअघि नै २५–२५ शय्या क्षमतामा सञ्चालन हुँदै आएका थिए । यी दुवै अस्पतालमा दरबन्दी वृद्धि गर्ने गरी सङ्गठन संरचना स्वीकृत भएको मन्त्री जोशीले बताए ।

प्रदेश सरकारले स्तरोन्नति थालेका अस्पतालको व्यवस्थापनका लागि चालू आर्थिक वर्षमा एक करोड ३१ लाख ९८ हजार रुपैयाँ बजेट व्यवस्था गरेको मन्त्रालयका सूचना अधिकारी रविन भुसालले जानकारी दिए । उनले प्रदेश सरकारबाट पशुपति चौलागाईं स्मृति अस्पतालका लागि पाँच लाख ६२ हजार, धादिङ अस्पतालका लागि १० लाख सात हजार, रामेछाप अस्पतालका लागि ६ लाख ४१ हजार, रत्ननगर बकुलहर अस्पतालका लागि ६ लाख ७१ हजार, हेटौँडा अस्पतालका लागि १५ लाख ८८ हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ । त्यसैगरी, सिन्धुली अस्पतालका लागि १७ लाख ७५ हजार, भक्तपुर अस्पतालका लागि २१ लाख ५१ हजार, बज्रबाराही चापागाउँ अस्पतालका लागि ६ लाख ४६ हजार, मेथिनकोटका लागि ६ लाख ५७ हजार, चौतारा अस्पतालका लागि ६ लाख ७२ हजार, रसुवा अस्पतालका लागि चार लाख ११ हजार र त्रिशूली अस्पतालको लागि १८ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।