नुवाकोट स्वयम्भु महाचैत्य संरक्षण संस्था दर्ता

  • त्रिशूली प्रवाह
  • १९ पुष २०८०, बिहीबार १२:२८

विदुर, ऐतिहासिक, पुरातात्विक र धार्मिक स्थलहरूको संरक्षण, निर्माण, सम्वद्र्धन र संरक्षण गर्दै स्थानीयबासीको जीवनस्तर अभिबृद्धिको लागि पर्यटनलगायत सिपमूलक कार्यक्रम सञ्चालन गर्दै सम्मुनत समाज निर्माण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा मंगलबार नुवाकोट स्वयम्भु महाचैत्य संरक्षण संस्था दर्ता भएको छ । संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम दर्ता भएको उक्त संस्थाको पहलमा विदुर नगरपालिका वडा नं.-२ महामण्डल अशोकबाटिकामा स्वयम्भु महाचैत्य निर्माण गरिरहेको छ ।

नुवाकोट केन्द्र रहने गरी नुवाकोट स्वयम्भु महाचैत्य संरक्षण संस्थाको नामबाट जिल्ला प्रशासन कार्यालय नुवाकोटमा विधिवत दर्ता भएको यो संस्थाको अध्यक्षमा ईश्वरमान श्रेष्ठ रहेका छन् । त्यसैगरी, संस्थाको उपाध्यक्षमा रामलाल डंगोल, महासचिवमा कुवेरलाल श्रेष्ठ, सचिवमा सुरेन्द्रबिक्रम शाह, कोषाध्यक्षमा सरोज डंगोल र सदस्यमा गौतममान सिंह, शर्मिला श्रेष्ठ, सुमित्रा डंगोल र निशा खरेल रहनुभएको छ । संस्था विधिवत दर्ता हुनु अघिदेखि नै सम्पदा संरक्षणमा क्रियाशिल गौतममान सिंहको पहलमा नुवाकोट स्वयम्भु महाचैत्यको निर्माण कार्यको थालनी भएको थियो । स्वयम्भु महाचैत्यको निर्माण कार्यको चार चरणमध्ये पहिलो चरण टुँडीखेलदेखि स्वयम्भु महाचैत्यसम्म जाने ढुंगे पर्खालको बाटोको निर्माण कार्य सम्पन्न भएको छ भने दोस्रो चरणमा बुद्धका विभिन्न मुर्ति र चैत्य राख्ने कार्य रहेको र सो कार्य अन्तर्गत मंगलबार दोस्रो चोटी ३९ वटा बुद्धको मुर्ति पाटनबाट ल्याई विधिपूर्वक पदास्थापना भएको संस्थाको महासचिवमा कुवेरलाल श्रेष्ठले बताउनु भयो ।