चार दिनदेखि रसुवा भन्सारको कारोबार ठप्प

  • त्रिशूली प्रवाह
  • २६ पुष २०८०, बिहीबार १३:२८
  • सरस्वती न्यौपाने

टिमुरे (रसुवा), चीनबाट नेपाल आयात हुने मालवस्तुमा रसुवा भन्सार कार्यालयले आफूखुसी मूल्याङ्कन गरेको भन्दै व्यापारीले यसको दीर्घकालीन समाधान नभएसम्म रसुवागढी नाकाबाट कारोबार नगर्ने घोषणा गर्दै चार दिनदेखि कारोबार ठप्प पारेका छन् ।

यो नाकाको व्यापारिक कारोबार चार दिनदेखि बन्द छ । बुधबार पनि नाका खोल्नका लागि व्यापारी र भन्सारका प्रतिनिधिबीच छलफल जारी रहेको छ । आयातित सामानको खरिद बिल, बजार मूल्य, गुणस्तर र स्वघोषणालाई बेवास्ता गरेर आफूखुसी अस्वाभाविक रूपमा मूल्याङ्कन बढाएको आरोप व्यापारीले लगाएका छन् । उनीहरूले रसुवा भन्सारले जाँच गरेर सिल लगाइसकेको कन्टेनरलाई पनि पुनः मूल्याङ्कन गर्न लगाउने, व्यापारीको कुरै नसुन्ने र राजस्व पुगेको छैन, तिर्नैपर्छ भनेर दबाब दिने गरेकोसमेत दुःखेसो व्यक्त गरेका छन् । भन्सार विभागले अनलाइन प्रणालीबाट मुलुकभरका भन्सार नाकामा भएको वस्तुको जाँच र मूल्याङ्कनको अनुगमन गर्ने प्रणाली रहेको छ । व्यापारीले उठाएका अधिकांश विषय विभागको निर्देशन र भन्सारका केही कर्मचारीका कारण उत्पन्न भएको आरोप व्यापारीको रहेको छ । कारोबार दुई दिन बन्द भएपछि मंगलबार बेलुकी रसुवा भन्सार प्रशासन र व्यापारीबीच अनौपचारिक छलफल भए पनि निष्कर्ष निस्केन । त्यसपछि व्यापारीले अनिश्चितकालीन कारोबार बन्दको घोषणा गरेका हुन् । छलफलमा सहभागी व्यापारी प्रतिनिधि बुद्धराज बस्नेतले माग पूरा नभएसम्म कारोबार बन्द गरेको बताए । भन्सार प्रमुख रामप्रसाद पाठकसहित भएको छलफलमा निष्कर्ष ननिस्केपछि व्यापारी सोमबार साँझ कारोबार बन्दको घोषणा गरेर काठमाडौं फर्किएका छन् । चीनबाट नेपाल प्रवेश गरेका एक सय १४ वटा कन्टेनर भन्सार हातामा रहेका छन् ।

भन्सारको व्यवहारले केही महिनायता निकै ठूलो आर्थिक नोक्सानी व्यहोरे पनि आफूहरूले पटक–पटक राखेको माग सुनुवाइ कतै पनि नभएको गुनासो व्यापारीले गरेका छन् । पछिल्लो समय मुलुकभरको राजस्व सङ्कलनको अवस्था गिर्दो अवस्थामा रहेको छ । रसुवाको राजस्व भने मङ्सिर मसान्तसम्मको तथ्याङ्कअनुसार लक्ष्यअनुसार पुगेको छ । अहिले सिन्धुपाल्चोकको तातोपानी नाका खुले पनि रसुवाबाट हुने व्यापार भने खासै घटेको छैन । उक्त नाकाबाट विशेषतः तयारी पोसाक, जुत्ता, ब्याग, मोबाइल तथा कम्प्युटर पार्टस्, विद्युत् आयोजनाका मेसिनरी सामान, कपडा, स्टेसनरी सामान, खेलौना, किचनमा प्रयोग हुने इलेक्ट्रिक सामानलगायतका विविध प्रकृतिका मालवस्तु आयात हुने गरेको छ । व्यापारी भन्छन्, ‘भन्सार कर्मचारीलाई जे लाग्छ सामानको मूल्य त्यही हुने गरेको छ ।’ मूल्याङ्कनका आधार र कानुनी प्रावधानलाई बेवास्ता गरेर कर्मचारीको मनोमानी हाबी हुँदै गएकाले आफूहरूले बाध्य भएर काम बन्द गर्नुपरेको गुनासो व्यापारीको रहेको छ । सरकारको राजस्व बढाउने नाममा व्यापारीलाई जुन ढङ्गले पेल्ने, अनावश्यक दुःख दिने काम भएको छ त्यसबाट पेसा नै छाड्नुपर्ने अवस्था आएको उनीहरू बताउँछन् । सामानको मूल्याङ्कनका लागि ऐन–कानुनले नै निश्चित आधार तोकेको भए पनि कर्मचारीको बोली नै अन्तिम हुने गरेको गुनासो व्यापक आइरहेको छ ।

०७२ सालमा भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि सोही वर्षको मङ्सिरबाट रसुवा नाकाबाट आयात व्यापार बढेको हो । भन्सार विभागले अनुगमनका क्रममा शङ्का लागेको मालवस्तुको गुणस्तर, साइज, ब्रान्डलाई आधार मानेर आवश्यकताका आधारमा थप जाँच र मूल्याङ्कन गर्न लगाउने गरेको छ । यस क्रममा विभागले आफैँ टोली बनाएर भन्सारमा पुग्ने गरेको छ । भन्सारका कर्मचारीले पनि विभागको निगरानी र अनुगमनको नाममा हुँदै नभएको मूल्य राख्ने, ठूलो रकम जरिवाना तिराउने र बिलबिजकलाई आधार नमान्ने गरेको व्यापारीको भनाइ रहेको छ । त्यस्तै, भन्सारमा केही कर्मचारीले व्यापारीसँगको सम्बन्धका कारण पनि निष्पक्ष व्यवहार नगरेको गुनासो गर्दै आएका छन् ।
भन्सार विभागका एक अधिकारी व्यापारीलाई आवश्यकताभन्दा बढी दुःख दिएको गुनासो आउने गरेको स्वीकार गर्छन् । रसुवा भन्सारको चालू वर्षको राजस्व लक्ष्य २० अर्ब ९९ करोड ६४ लाख रुपैयाँ रहेको छ । मङ्सिर मसान्तसम्म आठ अर्ब ४९ करोड ६५ लाख सङ्कलन भएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए । पछिल्लो समय भन्सार विभागको अनलाइन अनुगमनका क्रममा नाकामा धेरै कन्टेनरको पुनः जाँच गरेर राजस्व रकम थप गरेका घटना बढेपछि यसमा व्यापारीले असहमति राख्दै आएका छन् ।