गोरुजुधाइ पर्व सांस्कृतिक महोत्सवमा रूपान्तरण

  • त्रिशूली प्रवाह
  • ४ माघ २०८०, बिहीबार १२:१९
  • सरस्वती न्यौपाने

नवाकोट, माघेसङ्क्रान्तिका दिन गोरु जुधाएर मनोरञ्जन लिने प्रचलनले यस वर्ष पनि नुवाकोटमा निरन्तरता पायो । गोरु जुधाउने परम्परा नुवाकोटको तारुकामा दुई सय वर्ष अगाडिदेखि सुरु भएको गोरु जुधाउने पर्व यस वर्ष पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ नीलडाँडा, शिवपुरी गाउँपालिका–५ को सेराबगर, रसुवा र नुवाकोटको सिमाना बेत्रावतीमा सांस्कृतिक महोत्सवको रूपमा सम्पन्न भयो ।

माघेसङ्क्रान्ति पर्वको अवसरमा सोमबार नुवाकोटको चार स्थानमा गोरु जुधाएर स्थानीयले मनोरञ्जन लिएका छन् । गोरुजुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, सेरा बगरलगायतको स्थानमा गोरु जुधाइयो । गोरुजुधाइ मेलाका लागि नेपालमै उद्गमस्थल मानिएको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा १७ हल र विदुर नगरपालिका– १० बेत्रावतीमा नौ हल गोरु जुधाइएको थियो । पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडामा आठ हल र शिवपुरी गाउँपालिका–५ सेराबगरमा चार हल गोरु जुधाएर माघेसङ्क्रान्ति पर्व मनाउने नुवाकोटको फरक शैलीले निरन्तरता पायो । शिवपुरी गाउँपालिका–५ सेराबगरमा आयोजित गोरुजुधाइ तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विकासका लागि किसानलाई प्रेरणा गर्ने कार्यक्रमलाई राज्यले प्राथमिकता दिएको बताए । उनका अनुसार किसानलाई अनुदानमार्फत सक्षम बनाउन उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याइएको छ । ‘किसानले नेतृत्व गरेको गोरुजुधाइलाई समय–सान्दर्भिक बनाउन सरकारीस्तरबाट सहयोग हुन्छ,’ उनले भने, ‘पर्व, संस्कृति र प्रतियोगिताले अर्थतन्त्र बलियो बनाउन र विकासको सूचकाङ्क बढाउन केन्द्रित गराउनुपर्छ ।’

तारुकाको गोरुजुधाइलाई ‘तत्कालीन बझांगी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आएको समयमा वि.सं. १८८७ मा मनोरञ्जन दिन गोरु जुधाएर देखाइएकाले त्यसलाई निरन्तरता दिन थालिएको माघेसङ्क्रान्ति गोरुजुधाइ महोत्सव व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए । उनका अनुसार किसानले ठाउँ–ठाउँमा स्वस्फूर्त रूपमा जुधाउने गोरुलाई ०६२ देखि समितिमार्फत व्यवस्थित गरेर प्रतियोगिताको रूपमा सञ्चालनमा ल्याइएको हो । गोरुजुधाइ प्रतिस्पर्धाले पशुचौपायको अधिकारको हनन हुन्छ भने टिप्पणी भए पनि जुधाउने गोरुपालक किसान उत्साहित भएपछि निरन्तरता पाइरहेको छ । गोरुजुधाइले जिल्लाको पर्यटन प्रवद्र्धन, संस्कृतिको संवद्र्धनमा बदलिँदो परिवेशको मौलिकपनलाई समेत सुरक्षित बनाउन योगदान पु¥याएको छ ।

माघेसङ्क्रान्ति पर्वको अवसरमा बेत्रावतीमा आयोजित गोरुजुधाइ पर्वलाई सांस्कृतिक महोत्सवको रूपमा थप बृहत् बनाउँदै लगिएको छ । तारुका र बेत्रावतीमा भएको गोरुजुधाइ कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले गोरुजुधाइ पर्वलाई मेलाको रूपमा विकास गर्नुपर्ने बताए । बेत्रावतीमा गोरु जुधाउन ०५३ देखि सुरु भए पनि ०६७ देखि स्थानीय बेत्रावती युवा क्लबले नेतृत्व लिएर प्रतियोगिताको रूपमा व्यवस्थित गरेको संयोजक सुरज लवटले जानकारी दिए । उनका अनुसार नेपाल र भोट (चीन) बीच भएको युद्धअन्तर्गत वि.संं. १८४९ मा बेत्रावतीमा भएको सन्धिपश्चात् नेपाली पक्षको जितको उत्सवमा तत्कालीन समयमा गोरु जुधाएको स्मरणमा निरन्तरता दिइएको हो । तारुका र बेत्रावतीको गोरुजुधाइ परम्पराको सुरुवातको तथ्यमा इतिहासविद्को भने फरक–फरक राय पाइन्छ । यो वर्ष नुवाकोटको तारुकामा सत्र हल, बेत्रावतीमा नौ हल, पञ्चकन्यामा आठ हल र सेराबगरमा चार हलसहित विभिन्न चार स्थानमा ३८ हल गोरु जुधाइएको छ । जिल्लाको अन्य स्थानमा किसानले आपसी मनोरञ्जनका लागि विभिन्न अनौपचारिक कार्यक्रम गरेर पराम्परागत रूपमा मनाउँदै आएको माघेसङ्क्रान्ति पर्वलाई उत्साहको रूपमा समेत मनाएका छन् । नुवाकोटको तारुका, बेत्रावतीसहित जिल्लाको झिल्टुङ, पञ्चकन्या, सेराबगर, लिखको कट्टीछाप, तादीको सातबिंसेलगायतका स्थानमा समेत गोरुजुधाइ परम्परालाई पर्व र संस्कृतिको रूपमा मनाइने गरिएको छ ।

गाउँघरमा पशुपालन गर्नेको सङ्ख्या घट्दै जाँदा र गोरु पालेर खेतबारी जोत्ने काममा आएको कमीले आगामी दिन जुधाउने गोरुको सङ्ख्या कम हुने नुवाकोट उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष ताराबहादुर कार्कीले बताए । गाउँघरमा खेतबारी जोत्न ट्याक्टरको प्रयोग र दूध खान जर्सी गाईपालनको विस्तारले गाउँघरमा जोत्ने र जुधाउने गोरुको सङ्ख्या घट्दो छ । स्थानीय सरकारले गाई÷गोरु पाल्नेलाई प्रोत्साहन गर्नभन्दा अनुदानमा ट्याक्टर वितरणलाई प्राथमिकता दिएकोले पनि गोरु विस्थापित हुँदै गएको हो ।