नेपाल-तिब्बत युद्ध भएको मालागढीमा राष्ट्रिय झण्डा फरफरायो

  • त्रिशूली प्रवाह
  • ४ माघ २०८०, बिहीबार १३:१५

धुन्चे, रसुवामा ऐतिहासिक, धार्मिक, पुरातात्विक, असङ्ख्य सम्पदा रहेका छन् । ती सम्पदाको खोज, अनुसन्धान, प्रचार–प्रसार, संरक्षण र महत्वबारे सरोकारवाला निकायले ध्यान नदिँदा धेरै ऐतिहासिक पुरातात्विक सम्पदा गुमनाम भइरहेका छन् । जिल्लाको ऐतिहासिक नेपाल–तिब्बतबीच युद्ध लडेको मालागढी संरक्षण र प्रचार–प्रसार नहुँदा ओझेलमा परिरहेको थियो । उक्त ऐतिहासिक स्थलको खोजी गरेर रसुवामा तैनाथ नेपाली सेनाको विष्णुदल गणले गत महिना सरसफाइ र जीर्णोद्धार गरेर पोल गाडेर नेपाली झण्डा राखेको छ ।

गोसाइँकुण्ड गाउँपालिका–१ थुमनमा रहेको मालाभञ्ज्याङस्थित नेपाल–तिब्बत युद्धकालीन मालागढीमा अहिले राष्ट्रिय झण्डा फरफराइरहेको देखिन्छ । मालागढी नेपाल–चीन प्रवेश गर्ने विगतको दोस्रो नाकाको रूपमा परिचित छ । यस ठाउँमा पुग्न अहिले पैदलमार्ग मात्र रहेको छ । यातायातको साधन नपुगेको यो स्थानको प्रचार–प्रसार र सुरक्षा व्यवस्थापन हुन नसक्दा ओझेलमा परिरहेको छ । सेनाले मालागढीमा पुगेर झार–बुट्यान, काम नलाग्ने रुख पन्छाएर सरसफाइ गरी यस गढीको अस्तित्व र महत्वलाई जोगाउन पर्खाल लगाएर गरेको कार्य प्रशंसायोग्य भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । नेपालको राष्ट्रिय विभूति (भृकुटी लिच्छवि शासक अंशु बर्माकी छोरी) चीनका शासक स्रोङचोङगोम्पोसँग विवाह गरेपछि मालागढीको बाटो हुँदै पहिलोपटक तिब्बत गएको भन्ने ऐतिहासिक तथ्य रहेको छ । मालागढी सिमानानजिकै चिनियाँ भूमिमा एउटा विशाल चट्टान रहेको छ । जसको नाम रोङतोय ध्योदेन ग्यासाङ हो । जुन २.२ मिटर अग्लो र तीन मिटर चौडाइ रहेको छ । यस मालागढी धेरैभन्दा धेरै कम मानिसलाई थाहा छ, तर नेपाली सेना विष्णुदल गणले गढीको संरक्षण जीर्णोद्धार र प्रचार–प्रसारको कार्य गरिरहेको छ । सेनाले गरेको प्रचारको कारण त्यस क्षेत्रको अध्ययन अवलोकन गर्न जानेको सङ्ख्या बढिरहेको छ ।

स्थानीय सरकारले अलि चासो दिएर लाग्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकको आगमन र अध्ययन अनुसन्धानको केन्द्र मालागढी बन्न सक्छ । धेरैलाई थाहा नभएको मालागढी विष्णुदल गणले त्यस ठाउँमा पुगेर स्थानीय बुढापाकासँग जानकारी लिएर प्रचार–प्रसार गरिरहेको छ । ८० वर्षका मानिसलाई सोधेर यस क्षेत्रमा रहेको नेपाल–चीन युद्धताका बनेका सदियौँ वर्षका पुरानो गढी झार–बुट्यान, रुख पन्छाएर त्यहाँ पुग्नेको लागि जानकारी दिने उद्देश्यले भग्नावशेषको उद्धार गरेका छन् । मालागढीसँगै अर्को थुम्को गढी जस्तै अग्लो स्थान पनि सँगै रहेको छ । त्यहीँबाट विगतमा चिनियाँ फौजसँग युद्ध लडेको अवशेष देखिन्छ ।