ऐतिहासिकताको कसीमा एकीकरण पदमार्ग

  • त्रिशूली प्रवाह
  • ४ माघ २०८०, बिहीबार १३:३५
  • रेशमबहादुर पाँडे

विगत चार वर्षदेखि नेपाल राष्ट्रका प्रणेता पृथ्वीनारायण शाह र उनले नेपाल विजय गर्न प्रयोग गरेको बाटोलाई स्मरणस्वरूप पहिचान गराउन एकीकरण पदमार्गमा नेपाली सेनाद्वारा पदयात्रा गर्न सुरु गरिएको छ । त्यसको निरन्तरतास्वरूप त्यस वर्ष पनि गोरखाबाट नेपाली सेनाको टोली धादिङ र नुवाकोट हुँदै पुस २६ गते काठमाडौं पुगेको थियो ।

गोरखादेखि नेपाल खाल्डोसम्मको क्षेत्रभित्र पर्ने ऐतिहासिक तथ्यको उत्खनन गर्नुका साथै ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन गर्ने, गढी–किल्लाको संरक्षण, पाटीपौवा, सत्तलको खोज तथा जीर्णोद्धार एवम् संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाले सो अभियान चलाइरहेको छ । गोरखा–काठमाडौंको २६ कोसको दूरी रहेको र कतिपय ठाउँमा कोसअङ्कित शिलास्तम्भ रहेको र सो स्थानमा रहेका इतिहासजनित वस्तुलाई नेपाली सेनाले जगेर्ना गर्दै आइरहेको छ । यसपटकको पदयात्रा टोली पुस २१ गते गोरखाको सैनिक ब्यारेकदेखि गोरखा जोरचौतारा, ताप्ले, आस्राङ, बोर्लाङघाट हँुदै नुवाकोटको भ¥याङ–भुरुङ सामरी, बगुवा–हात्तीगौँडा–शुभघाट–गेर्खुटारबाट नुवाकोट दरबार क्षेत्र आइपुगेको थियो । टोलीमा पृथ्वीनारायण शाहको पालामा स्थापना भएको सबुज, बर्दबहादुर, श्रीनाथ, पुरानो गोरख र कालीबक्सका सैनिकले भाग लिने गरेका छन् । सर्वप्रथम गोरखाबाट प्रज्योलित दीप (टर्च) धादिङ, नुवाकोट हँुदै काठमाडौंको हनुमानढोकामा पुÞ¥याइन्छ र पुस २७ गतेका दिन सिंहदरबारअगाडि पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा हुने पृथ्वीजयन्तीको कार्यक्रममा उक्त टोली सरिक हुन्छ ।

नेपाल राष्ट्रको एकीकरण अभियानमा नुवाकोट विजय गर्नु अपरिहार्य भएकाले पृथ्वीनारायण शाहले त्यसतर्फ ध्यान दिएको देखिन्छ । तत्कालीन समयमा गोरखा र नुवाकोटको सीमा त्रिशूली नदीवारिपारि थियो । दुईपटकसम्म नुवाकोटको आक्रमण विफल भसकेकाले तेस्रोपटक सफलता हासिल गर्न विशेष रणनीति अपनाई नुवाकोट विजय गर्न सफल भएको तथ्य इतिहासमा वर्णित छ । नौवटा कोट मिलेर नुवाकोट बनेको भन्ने भनाइअनुसार हाल धादिङमा तीन, रसुवामा दुई र नुवाकोटमा चारवटा कोट विद्यमान रहेका छन् । ती नौकोट तत्कालीन समयमा निकै नै रणनीतिक महत्वका देखिन्छन् । कालिकाकोट, धैबुङकोट, धुवाँकोट, मालाकोट, सल्यानकोट, बेलकोट, सिमलकोट, भैरमकोट र प्यासकोट मिलेर नवक्वाथ वा नौ कोटबाट नुवाकोट नाम रहन गएको भन्ने कुरा हाल ती कोट यथास्थानमा रहेकोले पुष्टि हुन आउँछ ।

गोरखाबाट हिँडेको रिपुमर्दन टोलीले पृथ्वीनारायण शाहकालीन सेना गुरुको पल्टनको पोसाकमा सज्जित सेना र अन्य सैनिक रहेको टोलीले धादिङमा रहेको शिवदल गणलाई दीप र झण्डा हस्तान्तरण गरेको थियो भने नुवाकोटमा जबरजंग गणलाई हस्तान्तरण गरेको थियो । त्यसरी नै नुवाकोटमा रहेको गणले हनुमानढोकामा रहेको गणलाई झण्डा र दीप बुझाएको थियो । नुवाकोटमा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पहिलो पाइला राखेको शुभघाट भन्ने स्थानमा वडाध्यक्षसहित गेर्खुटारवासीले स्वागत र आतिथ्यता प्रदान गरेका थिए । बेलुकी कालिका मन्दिरपरिसरमा पदयात्रा टोली र गेर्खुटारका बासिन्दाले नाचगान गरी विजय अभियानको झझल्को आउने गरी रमाइलो गरेका थिए । सो कार्यक्रममा देवीघाट त्रिशूलीस्थित जबरजंग गणका अधिकृतलगायत सैनिकले आवश्यक व्यवस्था मिलाएका थिए । शुभघाट भन्ने ऐतिहासिक महत्वको स्थानमा जबरजंग गणले प्रतीक्षालय र सार्वजनिक शौचालय निर्माण गरेपछि पदयात्रीलाई सुविधा प्रदान गरेको छ ।

नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले गरेका महत्वपूर्ण कार्य र ऐतिहासिक धरोहरको संरक्षण र संवद्र्धनमा कोसेढुङ्गा स्थापना र गढी पहिचान तथा संरक्षण कार्य नेपाली सेनाले ०७७ बाट सुरु गरेको हो । इतिहास नै भविष्यका लागि मार्गदर्शक बन्न सक्छ र ऐतिहासिक तथ्य स्थापना गर्न सकिएमा भविष्यका पिँढीलाई पुर्खाको योगदानको तत्वबोध गराउन सकिन्छ भन्ने उद्देश्यले नेपाली सेनाले गरेको यो पुनीत कार्य निकै सराहनीय छ । गणतन्त्र काल सुरु भएपछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई विस्मृतिमा लैजाने कार्य सुरु भएकोमा हाल नेपाली सेना र राज्यले प्राथमिकतामा दिएर पुस २७ गते बिदा दिनेलगायत पृथ्वीजयन्ती भव्य रूपले मनाउने परम्पराको सुरुवात गरिसकेको छ । स्थानीय नगरपालिकाले पुस २७ गतेको दिन बिदा दिने गरेको छ ।

नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राले गोरखादेखि काठमाडौंसम्मका जनतामा राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको नेपाल राष्ट्र निर्माणको योगदान र उनको रणनीतिक क्रियाकलापप्रति निकै चासो बढ्दै गएको पाइन्छ । पदयात्रामार्गका जनतालाई एक किसिमको चाड आएको अनुभूति भइराखेको छ र जिज्ञासा राख्दै त्यस अभियानलाई सार्थक बनाउन सहयोग गरिरहेको पनि देखिन्छ । नेपाली सेनाले पनि तत्कालीन समयमा पृथ्वीनारायण शाह हिँडेको बाटो जीर्णोद्धार गर्ने र गढी, किल्ला सत्तल पाटी, पौवा, मठमन्दिर, चौतरा, पानीको धारालगायतको मर्मत र संरक्षण गर्ने कार्यमा सहयोग गर्दै आइरहेको छ । करिब २५ वर्षसम्म गोरखाको तत्कालीन राजधानी रहेको नुवाकोट क्षेत्रमा प्रसस्त मात्रामा ऐतिहासिक अभिलेख, शिलालेख तथा ऐतिहासिक भवन र सम्पदा हालसम्म पनि विद्यमान रहेको हुँदा ती सम्पदाको मर्मत, जीर्णोद्धार र संरक्षण हुन सकेमा नयाँ–नयाँ तथ्य पत्ता लाग्ने र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ । ०७२ को भूकम्पले विनाश गरेको ऐतिहासिक भवन निर्माण भएमा नुवाकोट बजारले नौलो कायापलट फेर्न सक्ने विश्वास गरिन्छ । नुवाकोटको नौवटा कोट र गढीको आफ्नै इतिहास भएको यथार्थतालाई मनन गर्दा नुवकोटको विशेष खालको इतिहास रहेको अनुभूत हुन्छ । यसका लागि विशेष अनुसन्धान र अन्वेषण हुन जरुरी भइसकेको छ । सो कार्यका लागि सरकारको तीनै तह, सङ्घीय, प्रादेशिक एवम् स्थानीय तहले तदारुकताका साथ काम गर्नुपर्ने देखिन्छ ।

विगत चार वर्षदेखि पदयात्रा गरिँदै आएको मार्गमा पर्या–पर्यटनको विकास गर्ने प्रचुर सम्भावना देखिन्छ । हुन त केही निजी क्षेत्रका पर्यटकीय संस्थाले नयाँ स्थानको पदयात्रा गर्ने मार्ग पत्ता लगाएको सुन्नमा आएको छ । तर, बाटो बनाउने र भौतिक पूर्वाधार निर्माण गर्न सरकारी पक्षले नै तदारुकता देखाउन नसक्दा सञ्चालनमा आउन सकेको छैन । पर्यटकलाई आवश्यक पर्ने भौतिक सुविधा सरकारले नै निर्माण गरिदिनुपर्ने हुन्छ । नुवाकोटमा पर्यटकलाई आकर्षित गर्ने प्राकृतिक हरियाली, भौगोलिक बनावट, धार्मिक क्षेत्र र ऐतिहासिक सम्पदा प्रशस्त मात्रामा रहेका छन्, त्यसको महत्वको पहिचान गराउने काममा सक्रियता नदेखिएकै कारणबाट समग्र पक्षको विकास नभएको हो । अब धेरै ढिलो भइसकेको छ र सबैले विकासका लागि इच्छाशक्ति देखाउन जरुरी छ अनि मात्र ऐतिहासिकताको कसीमा खरो रूपमा उत्रन सम्भव हुन्छ– सबैमा चेतना भया !

(लेखक : पूर्वप्रशासक एवम् इतिहासका अध्येता हुन् ।)