न्यूनतम सेवा मापदण्डमा त्रिशूली अस्पतालको सेवा ‘उत्कृष्ट’

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:०१
  • रामहरि न्यौपाने

विदुर, न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नुवाकोटको त्रिशूली अस्पतालको सेवा यो वर्ष पनि उत्कृष्ट भएको छ । सङ्घीय सरकारसँगको समन्वयमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले गरेको स्थलगत निरीक्षणमा त्रिशूली अस्पतालले एक सय पूर्णाङ्कमा ९६ अङ्क ल्याएर सेवा प्रवाहको गुणस्तर अघिल्ला वर्षको जस्तै उत्कृष्ट कायम राखेको हो ।

देशभर रहेका ‘सेकेन्डरी ए’ समूहअन्तर्गतका अस्पतालमध्येमा विगतका वर्षमा त्रिशूली अस्पताल लगातार तेस्रोपटकसम्म सर्वोत्कृष्ट भएकोमा यो वर्ष देशभरमा दोस्रो भएको छ । गत वर्ष ९६ अङ्कको साथ उत्कृष्ट भएकोमा यो वर्ष ९७ अङ्क प्राप्त गर्दै भक्तपुर अस्पताल देशभरमा उत्कृष्ट भएको प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले जानकारी दिए । उनका अनुसार यो वर्ष समान ९६ अङ्कको साथ नुवाकोटको त्रिशूली अस्पतालसहित कपिलवस्तु र बर्दियाको जिल्ला अस्पताल दोस्रो स्थानमा छन् । ‘न्यूनतम सेवा फलोअप मापदण्ड मापन कार्यक्रममा अस्पतालको सेवा प्रवाह, सेवाग्राहीको सन्तुष्टि, भौतिक संरचना, सुशासन तथा पारदर्शिता, सरसफाइलगायतका विविध पक्षलाई स्थलगत रूपमा छड्के जाँच गरेर मुल्याङ्कन गरिएको छ,’ वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट दर्नालले भने, ‘भौतिक संरचनाको निर्माण र थप गर्न लागेको सेवा सञ्चालन भएमा त्रिशूली अस्पतालको अङ्क थप वृद्धि हुनेछ ।’

न्यूनतम सेवा फलोअप मापदण्ड मापनका लागि सङ्घीय सरकारसँगको समन्वयमा वीर अस्पतालका चिकित्सकसहित प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञ समूहले सोमबार र मंगलबार दुई दिन अस्पतालको स्थलगत निरीक्षणपश्चात् जिल्लाका सरोकारवालाको उपस्थितिमा अस्पतालले प्राप्त गरेको नतिजा सार्वजनिक गरेको हो । हाल ५० शय्यामा सञ्चालित त्रिशूली अस्पताल केही दिनअघि बागमती प्रदेश सरकारले एक सय शय्या बनाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय कार्यान्वयनको प्रक्रियामा छ भने अस्पतालमा सिटिस्क्यान उपकरण थप र सुविधासम्पन्न शल्यक्रिया कक्षसहितको नयाँ भवन निर्माणको चरणमा रहेको त्रिशूली अस्पतालका अध्यक्ष राजु पण्डितले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए ।