नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा तीर्थश्राद्ध मेला सकियो

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:०६
  • सरस्वती न्यौपाने

बेत्रावती, पौषेकृष्ण अर्थात् गया औँसीको अवसरमा गत पुस २६ गते बिहीबार नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा तीर्थश्राद्ध मेला हजारौँको उपस्थितिमा सम्पन्न भएको छ । उक्त दिन हजारौँले पितृको नाममा श्राद्धपूर्वक तर्पण, पिण्डदान र सिदादान गरेका छन् ।

चार गयामध्येको एक महत्वपूर्ण शिरमा (उत्तर क्षेत्रमा) रहेको उत्तरगयालाई भारतका पण्डा र पुरोहितले समेत ठूलो तीर्थको रूपमा व्याख्या गर्ने गरेका छन् । रसुवा र नुवाकोटको सिमाना एवम् त्रिशूली र फलाखु नदीको संगम बेत्रावतीको वारिपारि नदीको किनारामा यस वर्ष विगत वर्षको भन्दा पितृको नाममा पिण्ड, तर्पण र सिदादान तथा श्राद्ध गर्नेको सङ्ख्या दोब्बर रहेको स्थानीय तुलसी डङ्गोलले जानकारी दिए । धार्मिक तथा ऐतिहासिक महत्वको उत्तरगयामा यस वर्ष ३० हजारभन्दा बढी भक्तजनले पिण्डदान गरेको अनुमान स्थानीयले गरेका छन् । उत्तरगया श्राद्ध मेलामा पिण्डदान कार्यमा रसुवा र नुवाकोटका साथै अन्य जिल्लाका तीर्थालुको सहभागिता थियो । उत्तरगयामा नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट आएका सर्वसाधारणले समेत पिण्डदान गर्ने गरेका छन् । गया औँसीको उपलक्ष्यमा एकै दिन हजारौँले त्रिशूली, फलाखु र बेत्रगंगा नदीको त्रिवेणीमा पिण्डदान गरेको उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष अष्टमान डङ्गोलले जानकारी दिए । तीर्थालुको सुविधाका लागि नदीमा दुर्घटना हुन नदिन डोरीको घेरा लगाइनुका साथै स्वयम्सेवक, प्रहरी परिचालन र स्वास्थ्य शिविरसमेत गरिएको थियो । यस वर्ष शौचालय र नुहाउने स्नान गर्ने व्यवस्थाका साथै बेत्रावतीसम्म यातायातको सहज सुविधा रहेको कारण गत वर्षको तुलनामा पिण्डदान गर्नेको सङ्ख्या बढेको अध्यक्ष डङ्गोलले दाबी गरेका छन् ।

बितेको दुई वर्ष भने कोरोना महामारीका कारण तीर्थालुको सङ्ख्या न्यून रहेकोमा यस वर्ष श्राद्ध गर्नेको सङ्ख्या गत वर्षको तुलनामा दोब्बर बढेको अध्यक्ष डङ्गोलले बताए । उत्तरगयामा आएका श्रद्धालुको सुविधाका लागि किरियापुत्री घरमा वासस्थान, सफा पिउने पानी तथा शौचालयको व्यवस्था गरिएको थियो । चारधाम जानुपूर्व उत्तरगया जानैपर्ने र त्यहाँ पितृको सम्झनास्वरूप श्राद्ध गरिए पितृतर्पण हुने जनविश्वासका कारण प्रायः सबैले उत्तरगया पुगेर श्राद्ध गर्ने गरेका छन् । चारधामभन्दा उत्तरगयाको निकै महत्व रहेका कारण सर्वसाधारणले बेत्रावतीमा आएर पिण्डदान गर्ने गरेको स्थानीय पण्डित ऋषिप्रसाद अधिकारीले बताए । नुवाकोट र रसुवाको सिमानामा रहेको उत्तरगयाको छुट्टै महत्व रहेका कारण बर्सेनि स्वदेश तथा विदेशबाट पिण्डदान गर्न आउनेको सङ्ख्या बढिरहेको छ । स्थानीय पुरोहितका अनुसार श्राद्ध गर्नेको सङ्ख्या अत्यधिक रहेका कारण सामूहिक रूपमा एकैपटक तीन वा चार समूह बनाएर श्राद्ध गरेका थिए ।

चार धाममध्येको एक धाम बेत्रावती हिन्दू तथा बौद्ध धर्मावलम्बीको पवित्र धाम हो । सत्ययुगमा भगवान् शिवले कालकुट विष पिई त्यसको राप शान्त पार्न भौँतारिएर हिँडेको अवस्थामा त्रिशूल र बेदको लौरोले खोपेर उत्पत्ति भएको बेत्रगंगास्थित फलाखु खोलाको संगमस्थलसमेत भएकाले पवित्र भूमिको रूपमा परिचित छ । यस ठाउँमा ०४९ सालमा योगी नरहरिनाथले कोटीहोम लगाएपछि बेत्रावतीको ऐतिहासिक तथा धार्मिक महत्व उजागर भएको थियो । यस ठाउँमा पितृको नाममा श्राद्ध गर्नाले सीधै स्वर्गमा वास हुने जनविश्वास रहेको स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठले बताए । भारतको गया जान नसकेका व्यक्तिहरू नेपालको यही ठाउँमा आएर श्राद्ध गर्ने गर्दछन् । यस ठाउँमा आएर परलोक भएका आफ्ना बाबु–आमाको नाममा श्राद्ध गरेमा २० पुस्ताअघिका पितृमोक्ष प्राप्त गरी स्वर्ग जाने जनविश्वास रहिआएको छ ।