सेवाग्राहीका समस्या समाधानमा कुनै कसर बाँकी राखेका छैनौँ

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:३५

वेदनिधि खनाल,
प्रमुख जिल्ला अधिकारी,
जिल्ला प्रशासन कार्यालय, रसुवा

गृह मन्त्रालयबाट रसुवाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा सरुवा भएर वेदनिधि खनाल गत कात्तिक २२ गते रसुवा आएका थिए । उनी रसुवा आएसँगै जिल्लावासीले प्रशासनसँग सेवा लिन सहज भएको बताएका छन् । जिल्लाको सुरक्षा तथा विकास निर्माण र नागरिकमैत्री सेवालाई प्राथमिकता दिँदै आएका प्रमुख जिल्ला अधिकारी खनालसँग जिल्लाको समसामयिक विषयमा रसुवा संवाददाता सरस्वती न्यौपानेले गरेको कुराकानीको सारसाङ्क्षेप :

रसुवामा प्रमुख जिल्ला अधिकारी भएर आउँदा कस्तो महसुस गर्नुभयो ?
म गृह मन्त्रालयबाट कात्तिक २२ गते रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएर आएको थिएँ । चीनसँग नाका जोडिएको पर्यटकीय हिमाली जिल्ला भए पनि राजधानीबाट धेरै टाढा नरहेको रसुवा आउन पाउँदा खुसी लाग्यो । नेपालको हाल सञ्चालनमा रहेको चीनसँगको नाकामध्ये सबैभन्दा बढी चालू नाका रसुवागढीलाई व्यवस्थित गर्दै गैरकानुनी कारोबार निरुत्साहित गरेर जिल्लावासीले बढीभन्दा बढी लाभ लिन सक्ने गरी काम गर्छु भनेर आएको थिएँ । म त्यही काममा व्यस्त छु । प्राकृतिक सुन्दरता, स्वच्छ वातावरण, भित्तामा रमाएका झुरुप्प बस्ती र मधुर आतिथ्यताका कारण जिल्लामा आउँदा एउटा अनुपम नयाँ अनुभूति भएको छ ।

निजामती सेवामा प्रवेश गर्न कसबाट प्रेरित हुनुभयो ?
म सेवामुखी व्यक्ति हुँ । यस क्षेत्रमा प्रवेश गर्नुअघि करिब ६ वर्ष शिक्षक थिएँ । सेवाको स्थायित्व र निरन्तरता खोज्दा–खोज्दै यता प्रवेश गरेको हुँ । यस सेवामा कार्यरत अग्रजलाई देखेर पनि प्रवेश गर्ने उत्सुकता जाग्यो । अथक अध्ययन र मिहिनेतबाट निजामती सेवामा प्रवेश गर्न पाएँ ।

प्रमुख जिल्ला अधिकारी भएर अहिलेसम्म कति जिल्लामा काम गर्नुभयो ? अरू जिल्लाको तुलनामा रसुवा कस्तो पाउनुभयो ?
प्रमुख जिल्ला अधिकारीकै रूपमा काम गरेको यो चौथो जिल्ला हो । यद्यपि, मैले गृह प्रशासनमा बसेर २१ वर्षभन्दा बढी समय काम गरिसकेको छु । अन्य जिल्लाको तुलनामा यो जिल्लामा सेवाग्राहीको चाप कम हुन्छ । कर्मचारी पनि कम हुन्छन् । स्थानीय तहको गठनअघि प्रमुख जिल्ला अधिकारी बढी व्यस्त हुन्थ्यो भने हाल थोरै जनसङ्ख्या भएको जिल्लामा व्यस्तता घटेको छ । हाल यो जिल्ला तुलनात्मक रूपमा शान्त छ ।

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खाले संयन्त्र बनाउनुभएको छ ?
सेवाग्राहीका लागि सोधपुछ कक्ष छ, नागरिक बडापत्र छ कर्मचारीले सेवामैत्री व्यवहार गर्छन् । सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोकिएको छ । कार्यालयपरिसरमा स्तनपान कक्ष, टेलिभिजन, पिउने पानी, बच्चा खेल्ने ठाउँ, प्रतीक्षालय, बगैँचा आदि छन् । सेवाग्राहीका काममा आफैँ खटेर गरिदिने कर्मचारी छन् । म आफैँ पनि सेवा प्रवाहमा सहजीकरण गर्न तल्लीन रहने गरेको छु ।

जिल्ला प्रशासन कार्यालय रसुवाबाट प्रवाह हुने थप सेवा केही छन् कि ?
कार्यालयबाट प्रदान गरिने सेवामा कुनै समस्या छैन । पछिल्लो समय विगतदेखि अड्केर बसेका नागरिकताको समस्या, मुद्दाका समस्या पनि म आएपछि समाधान भएको छ । हामीले विद्युतीय माध्यमबाट आउने निवेदन र गुनासोलाई पनि सकेसम्म, मिलेसम्म सम्बोधन गरेर जवाफ दिने गरेका छौँ ।

भर्खरै रसुवा आउनुभएको छ, सेवाग्राहीका समस्या समाधानमा आफू सफल हुन्छु जस्तो लाग्छ ?
सेवाग्राहीका समस्या समाधानमा कुनै कसर बाँकी राखेका छैनौँ । केही अभिलेख नै नभएको समस्याको समाधानमा भने समय लाग्छ, तर समाधान हुन्छ । मैले जिल्लाको सेवा प्रवाह, विकास निर्माण, सीमा समन्वय तथा अन्तरनिकाय समन्वयका विषयमा प्रभावकारी रूपले काम गरिरहेको छु । म यसमा नागरिकलाई आश्वस्त र विश्वस्त बनाउन सक्छु जस्तो लाग्छ ।

अन्त्यमा रसुवावासीका लागि केही भन्न चाहनुहुन्छ ?
जिल्ला र रसुवावासीलाई समृद्ध बनाउने प्रकृतिले दिएको अथाह साधन र स्रोत रहेको जिल्ला हो रसुवा । यस जिल्लाले पर्यटन, जलविद्युत् र नाका सञ्चालनबाट प्रचुर मात्रामा फाइदा लिन सक्छ । त्यसका लागि राजनीतिक नेतृत्व, राजनीतिक दल र अन्य सरोकारवाला सङ्घ–संस्था तथा जिल्लावासीमा सकारात्मक सोच र चिन्तनको जरुरी हुन्छ । म आएपछि सबैबाट अथाह साधन र स्रोतको परिचालनमा सबैले समन्वय र सहयोग गरेको पाएको छु । पारदर्शी एकता र सहकार्यमा सबैले ध्यान दिनुपर्छ । रसुवामा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सहज पहुँचका लागि थप काम गर्नुपर्छ । जहाँसम्म सेवा प्रवाहको कुरा छ, म रसुवावासी नागरिकलाई निर्धक्क र कुनै डर, त्रास नमानी सीधै मलाई र मेरो मातहतका कर्मचारी साथीहरूलाई अफिसको नम्बरमा फोन गर्न, जिम्मेवार अधिकारीसमक्ष प्रश्न सोध्न र गुनासो गर्ने बानीको विकास गर्नसमेत अनुरोध गर्छु ।