Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

सेवाग्राहीका समस्या समाधानमा कुनै कसर बाँकी राखेका छैनौँ

सेवाग्राहीका समस्या समाधानमा कुनै कसर बाँकी राखेका छैनौँ
त्रिशूली प्रवाह
२ साल अगाडी

वेदनिधि खनाल,
प्रमुख जिल्ला अधिकारी,
जिल्ला प्रशासन कार्यालय, रसुवा

गृह मन्त्रालयबाट रसुवाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा सरुवा भएर वेदनिधि खनाल गत कात्तिक २२ गते रसुवा आएका थिए । उनी रसुवा आएसँगै जिल्लावासीले प्रशासनसँग सेवा लिन सहज भएको बताएका छन् । जिल्लाको सुरक्षा तथा विकास निर्माण र नागरिकमैत्री सेवालाई प्राथमिकता दिँदै आएका प्रमुख जिल्ला अधिकारी खनालसँग जिल्लाको समसामयिक विषयमा रसुवा संवाददाता सरस्वती न्यौपानेले गरेको कुराकानीको सारसाङ्क्षेप :

रसुवामा प्रमुख जिल्ला अधिकारी भएर आउँदा कस्तो महसुस गर्नुभयो ?
म गृह मन्त्रालयबाट कात्तिक २२ गते रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएर आएको थिएँ । चीनसँग नाका जोडिएको पर्यटकीय हिमाली जिल्ला भए पनि राजधानीबाट धेरै टाढा नरहेको रसुवा आउन पाउँदा खुसी लाग्यो । नेपालको हाल सञ्चालनमा रहेको चीनसँगको नाकामध्ये सबैभन्दा बढी चालू नाका रसुवागढीलाई व्यवस्थित गर्दै गैरकानुनी कारोबार निरुत्साहित गरेर जिल्लावासीले बढीभन्दा बढी लाभ लिन सक्ने गरी काम गर्छु भनेर आएको थिएँ । म त्यही काममा व्यस्त छु । प्राकृतिक सुन्दरता, स्वच्छ वातावरण, भित्तामा रमाएका झुरुप्प बस्ती र मधुर आतिथ्यताका कारण जिल्लामा आउँदा एउटा अनुपम नयाँ अनुभूति भएको छ ।

निजामती सेवामा प्रवेश गर्न कसबाट प्रेरित हुनुभयो ?
म सेवामुखी व्यक्ति हुँ । यस क्षेत्रमा प्रवेश गर्नुअघि करिब ६ वर्ष शिक्षक थिएँ । सेवाको स्थायित्व र निरन्तरता खोज्दा–खोज्दै यता प्रवेश गरेको हुँ । यस सेवामा कार्यरत अग्रजलाई देखेर पनि प्रवेश गर्ने उत्सुकता जाग्यो । अथक अध्ययन र मिहिनेतबाट निजामती सेवामा प्रवेश गर्न पाएँ ।

प्रमुख जिल्ला अधिकारी भएर अहिलेसम्म कति जिल्लामा काम गर्नुभयो ? अरू जिल्लाको तुलनामा रसुवा कस्तो पाउनुभयो ?
प्रमुख जिल्ला अधिकारीकै रूपमा काम गरेको यो चौथो जिल्ला हो । यद्यपि, मैले गृह प्रशासनमा बसेर २१ वर्षभन्दा बढी समय काम गरिसकेको छु । अन्य जिल्लाको तुलनामा यो जिल्लामा सेवाग्राहीको चाप कम हुन्छ । कर्मचारी पनि कम हुन्छन् । स्थानीय तहको गठनअघि प्रमुख जिल्ला अधिकारी बढी व्यस्त हुन्थ्यो भने हाल थोरै जनसङ्ख्या भएको जिल्लामा व्यस्तता घटेको छ । हाल यो जिल्ला तुलनात्मक रूपमा शान्त छ ।

सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खाले संयन्त्र बनाउनुभएको छ ?
सेवाग्राहीका लागि सोधपुछ कक्ष छ, नागरिक बडापत्र छ कर्मचारीले सेवामैत्री व्यवहार गर्छन् । सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोकिएको छ । कार्यालयपरिसरमा स्तनपान कक्ष, टेलिभिजन, पिउने पानी, बच्चा खेल्ने ठाउँ, प्रतीक्षालय, बगैँचा आदि छन् । सेवाग्राहीका काममा आफैँ खटेर गरिदिने कर्मचारी छन् । म आफैँ पनि सेवा प्रवाहमा सहजीकरण गर्न तल्लीन रहने गरेको छु ।

जिल्ला प्रशासन कार्यालय रसुवाबाट प्रवाह हुने थप सेवा केही छन् कि ?
कार्यालयबाट प्रदान गरिने सेवामा कुनै समस्या छैन । पछिल्लो समय विगतदेखि अड्केर बसेका नागरिकताको समस्या, मुद्दाका समस्या पनि म आएपछि समाधान भएको छ । हामीले विद्युतीय माध्यमबाट आउने निवेदन र गुनासोलाई पनि सकेसम्म, मिलेसम्म सम्बोधन गरेर जवाफ दिने गरेका छौँ ।

भर्खरै रसुवा आउनुभएको छ, सेवाग्राहीका समस्या समाधानमा आफू सफल हुन्छु जस्तो लाग्छ ?
सेवाग्राहीका समस्या समाधानमा कुनै कसर बाँकी राखेका छैनौँ । केही अभिलेख नै नभएको समस्याको समाधानमा भने समय लाग्छ, तर समाधान हुन्छ । मैले जिल्लाको सेवा प्रवाह, विकास निर्माण, सीमा समन्वय तथा अन्तरनिकाय समन्वयका विषयमा प्रभावकारी रूपले काम गरिरहेको छु । म यसमा नागरिकलाई आश्वस्त र विश्वस्त बनाउन सक्छु जस्तो लाग्छ ।

अन्त्यमा रसुवावासीका लागि केही भन्न चाहनुहुन्छ ?
जिल्ला र रसुवावासीलाई समृद्ध बनाउने प्रकृतिले दिएको अथाह साधन र स्रोत रहेको जिल्ला हो रसुवा । यस जिल्लाले पर्यटन, जलविद्युत् र नाका सञ्चालनबाट प्रचुर मात्रामा फाइदा लिन सक्छ । त्यसका लागि राजनीतिक नेतृत्व, राजनीतिक दल र अन्य सरोकारवाला सङ्घ–संस्था तथा जिल्लावासीमा सकारात्मक सोच र चिन्तनको जरुरी हुन्छ । म आएपछि सबैबाट अथाह साधन र स्रोतको परिचालनमा सबैले समन्वय र सहयोग गरेको पाएको छु । पारदर्शी एकता र सहकार्यमा सबैले ध्यान दिनुपर्छ । रसुवामा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र सहज पहुँचका लागि थप काम गर्नुपर्छ । जहाँसम्म सेवा प्रवाहको कुरा छ, म रसुवावासी नागरिकलाई निर्धक्क र कुनै डर, त्रास नमानी सीधै मलाई र मेरो मातहतका कर्मचारी साथीहरूलाई अफिसको नम्बरमा फोन गर्न, जिम्मेवार अधिकारीसमक्ष प्रश्न सोध्न र गुनासो गर्ने बानीको विकास गर्नसमेत अनुरोध गर्छु ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह