रसुवागढी जलविद्युत् आयोजनाको परीक्षण अन्तिम चरणमा

  • त्रिशूली प्रवाह
  • ११ माघ २०८०, बिहीबार १२:४१

धुन्चे, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा निर्माणाधीन एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको परीक्षण अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको संरचनामा माघ ५ गते शुक्रबारदेखि पानी भरेर परीक्षण सुरु भइरहेको छ ।

आयोजनाको बाँधस्थलको सफल परीक्षणपश्चात् सुरुङका विभिन्न संरचनाको चरणबद्ध रूपमा परीक्षण गर्ने कार्यतालिका रहेको आयोजनाका कार्यकारी अधिकृत छवि गैरेले जानकारी दिए । उनका अनुसार माघ ५ गतेदेखि बालुवा थिग्य्राउन, पोखरी सुरुङ, पेनस्टक तथा अन्य उपकरणको प्राविधिक परीक्षण सुरु गर्ने तयारी रहेको छ । साथै, टेलरेस सुरुङको एक सय ४६ मिटर अत्यन्त कमजोर भौगर्भिक अवस्था तथा भूमिगत विद्युत्गृहमा जडानको तयारीमा रहेको इलेक्ट्रो मेकानिकल उपकरण डुबानमा परेको कारण सबै क्षेत्रको कार्य प्रगतिमा असर परेकाले निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको छ । कम्पनीको नयाँ तालिकाअनुसार आयोजनाबाट ०८० चैतभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । यो अवधिभित्र निर्माण सम्पन्न गर्न ब्याजबाहेक १८ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने समयमा कुल १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

यस्तै, आयोजनाको विद्युत् जोडिने प्रसारणलाइनको ठेक्का एमएस रोयल कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । यसअघि ठेक्का पाएको मुडभरी एण्ड जोशी प्रा.लि.ले विविध कारण पटक–पटक म्याद थप गर्दा पनि तोकिएको समयमा कार्य सम्पन्न हुने कुनै ठोस आधार नदेखाएको हुँदा ठेक्का अन्त्य गरिएको हो । रोयल कन्स्ट्रक्सनसँग ०७९ कात्तिक १५ गते ठेक्का सम्झौता भई लाइनको जग तयार गरी टावर खडा गर्ने तथा तार तान्ने कामसमेत सम्पन्न भइसकेको जनाइएको छ । परीक्षण अवधिभर नदीको पानी छेक्ने र छोड्ने कार्य गरिरहनुपर्ने भएकाले नदीको आसपास कार्य नगर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीले सूचना जारी गरी बाँधस्थलको तल्लो तटीय क्षेत्रअन्तर्गत नदीको किनारामा पर्ने स्थानमा पानीको सतह घटबढ भइरहने जानकारी दिएको छ । उक्त समयमा नदीमा माछा मार्ने, नुहाउने, लुगा धुने, वस्तुभाउ चराउने र ढुङ्गा, गिटी उत्खनन गर्ने तथा नदीमा कुनै पनि किसिमका कार्य नगर्न आग्रह गरेको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ र वडा नम्बर–२ को सिमाना हुँदै बग्ने नदीमा निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । आयोजनाको ९९ प्रतिशत निर्माण पूरा भएको छ । आयोजनाको इलेक्ट्रोमेकानिकलको भारतीय कम्पनी भोइथ हाइड्रोले गरेको हो । सिभिल तथा हाइड्रो मेकानिकलको काम चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक ग्रुप, चाइनाले गरेको छ । आयोजनाबाट यसअघि नै विद्युत् उत्पादन सुरु गर्ने तालिका भए पनि ०७२ सालको विनाशकारी भूकम्प, नाकाबन्दी, वर्षायाममा आयोजना क्षेत्रमा आएको बाढी, पहुँचमार्गमा निरन्तर गएको पहिरो, विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका लम्बिँदै गएको कम्पनीले जनाएको छ । कम्पनीको पछिल्लो तालिकाअनुसार आयोजनाबाट ०७८ असारभित्र सम्पन्न गर्ने लक्ष्य थियो, तर ०७७ सालको वर्षायाममा प्रक्षेपण गरिएभन्दा अघि आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिड सुरुङ जाने बेलिब्रिजमा क्षति पु¥याई आवत–जावतमा कठिनाइ र पहुँचमार्गमा पूर्ण रूपमा क्षति पुगेको जनाइएको छ ।