- डा.सरोज श्रेष्ठ
जिबजिबे ग्रामीण अस्पतालमा कार्यरत म (डा. सरोज श्रेष्ठ) स्याफ्रुबेँसी, रसुवामा तीनदिने उच्च उचाइ रोग (लेक लाग्ने) व्यवस्थापन प्रशिक्षणको प्रशिक्षकको रूपमा बिहानको ७ बजे नै बा. २ ब.१७९७ सरकारी मोटरसाइकलमा जिबजिबेबाट ०८० जेठ २४ गन्तव्यतिर अगाडि बढेँ । राज्यले चिकित्सकलाई धन्न २०-२५ वर्ष पुरानै भए पनि मोटरसाइकलको सुविधा दिएको रहेछ । ठाउँ–ठाउँमा बाटो नराम्रो र पुरानो मोटरसाइकलले दुःख होला भन्ने मनमा डर थियो । प्रायः यात्रा गर्दा साथीसँग हिँड्ने बानी भएको म उक्त दिन भने एक्लै थिएँ । आफ्नै जन्मथलो रसुवाको डाँडा–काँडा, भिरपाखा, चरा–चुरुङ्गी, झरना, हिमाल हेर्दै अगाडि बढ्दा मन फुरुङ्ग र पुलकित भइरहेको थियो । यात्राको सुरु पासाङल्हामु सडकअन्तर्गत कालिका घुम्ती, स्याउबारी, राम्चे हुँदै ठाडे पुग्दा ५५–६० वर्षजतिका एकजना सडक विभागको कर्मचारी भेटेँ । मोटरसाइकल झ्याप्पै रोकेर मेमे (हजुर बुबा) हजुरलाई कार्यस्थल जान कति हिँड्नुपर्छ भनेर सोधेँ । मेमे मुस्कुराउँदै सर एक घण्टा लाग्छ भन्नुभयो । मैले सँगै जाऊँ भनेँ । मेमेले हुन्छ जाउँ न त सर भनेर ठाडेदेखि सोलेसम्म आइयो । मासिक १५ हजार ज्यालादारी कामले घर खर्च चलाउन गाह्रो भएको गुनासो गर्नुभयो । मेमेलाई कार्यस्थलमा छोडेर अगाडि बढेँ, धुन्चेनजिकै एकजना सात÷आठ वर्षकी बालिकाले हात हल्लाउँदै लैजान अनुरोध गरिन् । मोटरसाइकल रोकेर कहाँसम्म जानुहुन्छ भनेर सोधेँ, उनले सर धुन्चे स्कुलसम्म पु¥याइदिनुस् न भनिन् । ममी विदेशमा हुनुहुन्छ, घरमा बाबा र भाइ मात्र हुनुहुन्छ, घरको काम सकेर आउँदा ढिलो भयो, तर मोटरसाइकलमा जाँदा समयमै पुगिन्छ भनेर खुसी थिइन् । धुन्चेको स्वागतगेट पुगेपछि उनीले रोकिदिनुस् भनिन्, मैले मोटरसाइकल रोकेर बाई–बाई गर्दै अगाडि बढेँ । बिहानको नौ बज्नै लागिसकेको थियो, बिस्तारै धुन्चेबाट स्याफ्रुबेँसीतिर ओरालो लागेँ । भार्खु नपुग्दै एकजना ६०–६५ वर्षका मेमे हातमा दालमोठ, चिउरा खाँदै हिँड्नुभएको देखे, मोटरसाइकल रोकेर मेमे हजुर कतासम्म जानुहुन्छ भनेँ । छोराको नागरिकता बनाउन आएको कागजपत्र नमिलेकाले हिजो साँझ काम सकेँ र आज घर गत्लाङ जान लागेको सर भन्नुभयो । जाउँ सँगै भनेर हामी भार्खुदेखि स्याफ्रुबेँसीसम्म सँगै आयौँ । मेमे मुस्कुराउँदै धन्यवाद भन्दै स्याफ्रुबेँसीबाट पैदल गत्लाङतिर लाग्नुभयो ।
तीनदिने उच्च उचाइ रोग (लेक लाग्ने) व्यवस्थापन प्रशिक्षण सकिएपछि जेठ २६ गते दिउँसो साढे दुईतिर कर्मथलो जिबजिबे फर्केँ । फर्किने क्रममा स्याफ्रुबेँसी पुलपछि बाह्र घुम्तीमा ३०–३५ वर्षकी दिदीले छोरा काखमा लिँदै छोरी डो¥याउँदै हात हल्लाउँदै लैजान अनुरोध गरिन् । मोटरसाइकल रोकेर कहाँसम्म जानुहुन्छ भनेर सोधेँ । उनले सर धुन्चे माइती जान लागेकी भनिन् । हुन्छ जाउँ भनेर हामी चारजना बिस्तारै आयौँ । बाटो लामो भएकाले मैले किन यति अबेर माइती जान लाग्नुभएको सोधेँ । खै किन हो आफ्नै भाइ सम्झेर उनले बुढाले रक्सी खाएर कुट्यो, दुःख दियो, भाग्य नै खोटो रहेछ सर दुई–चार दिन माइती बस्छु होला भनिन् । म अलमलिएँ, पिर नलिनुहोस् दिदी ठीक हुन्छ भनेँ । उनले भनिन्– अगाडि पल्सर बाइकलाई हात हल्लाउँदै रोकेँ, बाइकचालकले तपाईं एक्लै हुनुभएको भए लग्थेँ, छोराछोरी पनि रहेछन् गाह्रो हुन्छ भनेर मान्नुभएन र जानुभयो । कुराकानीमै धुन्चे आइपुग्यौँ, उहाँहरू धुन्चेमै ओर्लनुभयो, दिदीले धन्यवाद भन्नुभयो, म अगाडि बढेँ । साँझको पाँच बज्नै लागेको थियो, धुन्चे हुँदै सोले, ठाडे, ग्राङ, राम्चे आइपुगेँ, ७०–७५ वर्षकी आमा सानो दाउराको भारी बोकेर हिँड्दै हुनुहुन्थ्यो । मैले मोटरसाइकल रोकेर कहाँसम्म जानुहुन्छ भनेर सोधेँ । उनी नेपाली कम बोल्ने भएर तामाङ भाषामा बोलिन् । मलाई तामाङ भाषा अलिकति मात्रै आउँथ्यो, नजिकै एकजना दिदीले दोभाषेको भूमिका निर्वाह गरिदिनुभयो । त्यसैले आमा र म राम्चेदेखि स्याउबारीसम्म सँगै आयौँ । लगभग साँझको ६ बजे जिबजिबे आइपुगेँ । डाक्टरी पेसा भएर झनै आज उहाँहरूको यात्रा केही सहज बनाउँदा र पिर, मर्का बुझ्न पाउँदा मन फुरुङ् थियो । जनताकै करले किनिएको मोटरसाइकलमा जनताकै सेवा गर्दा, जनताको ऋण अलिकति तिरेजस्तो महसुस गरेँ । हिमाली जिल्ला रसुवामा छोटो दूरीका सवारीसाधन सञ्चालन नहुँदा बिहान–बेलुका यात्रा गर्न कठिनाइ छ । आवश्यकताअनुसार सवारीसाधनको सुविधा नभएको ठाउँमा एक–अर्कालाई सहयोग गरौँ । सडक भएर पनि बिहानको एक समयबाहेक अरू बेला सार्वजनिक सवारीसाधन देख्न मुस्किल पर्ने पासाङल्हामु सडकको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुबेँसी खण्डमा सवारीसाधनको व्यवस्था सम्बन्धित निकायले गरिदिए नागरिकले सडक भएको सहज अनुभूति गर्न पाउँथे ।
डा. श्रेष्ठ (मेडिकल अफिसर, आठौँ तह)
हाल : जिबजिबे ग्रामीण अस्पताल रसुवामा कार्यरत छन् ।