विदुर । जिल्ला बजार अनुगमन समिति नुवाकोटले चाडपर्व लक्षित बजार अनुगमन तथा म्याद गुज्रेका वस्तुको अनुगमन र नियन्त्रण अभियान चलाएको छ । समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईको नेतृत्वमा बुधबार विदुर नगरपालिकाको बट्टार क्षेत्रमा अनुगमन भएको थियो ।
विदुर-४ बट्टारमा रहेको बिमार्ट र साल्ट ट्रेडिङ कर्पोरेशनको अनुगमन गरी दैनिक उपभोग्य वस्तु खरीद गर्दा पाउनुपर्ने छुट दिन र म्याद सकिएका तथा कमसल सामाग्री बिक्री, वितरण नगर्न सचेत गराइएको समितिका सचिव तथा उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख सिताराम घिमिरेले बताउनुभयो । समितिले उपभोक्ता हित विपरीत हुने गतिविधिलाई कारबाहीको दायरामा ल्याउने पनि बताएको छ । चाडपर्व र अन्य समयमा पनि नियमित बजार अनुगमन गरिरहेको जानकारी समितिले दिएको छ । चाडपर्वको मौका छोपी ग्राहक तथा उपभोक्तालाई महँगो मूल्य लिने, कमसल सामाग्री भिडाउने, ग्राहकैपिच्छे फरकफरक मूल्य लिने जस्ता कार्य नगर्न जिल्लाका सम्पूर्ण व्यवसायीलाई समितिले आग्रह गरेको छ ।
प्रतिक्रिया