विदुर । नेकपा (माओवादी केन्द्र) का नेता तथा पुर्वमन्त्री पोष्टबहादुर बोगटीको ११औँ स्मृति दिवस गत भदौ ३० गते पोष्टबहादुर बोगटी स्मृति पार्क, विदुर–५ पिपलटारमा मनाइएको थियो ।
राजनीतिमा सरल र इमानदार नेताको परिचय बनाउनुभएका बोगटीको ६१ वर्षको उमेरमा हृदयघात र मतिष्कघातका कारण वि.सं. २०७१ भदौ ३० गते निधन भएको थियो । सो स्मृति कार्यक्रममा पूर्वमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ, बागमती प्रदेश सभा सदस्य राधिका तामाङ, केन्द्रीय सदस्य हिरानाथ खतिवडालगायत माओवादीनिकट नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । राजनीतिमा इमानदारिता, निष्ठा र कम्युनिस्ट आचरणको राजनीतिक संस्कारको खडेरी परेको वेला पनि बोगटी एक त्यस्ता उदाहरणीय पात्र हुनुहुन्थ्यो, जसले कम्युनिस्ट नैतिकता, आचरण र संस्कारमा कतै पनि विचलित नभई पार्टी नीति, नेतृत्व, योजना र लाइनको पक्षमा सदैव प्रतिबद्ध रहनुहुन्थ्यो । पार्टीभित्र तीव्र अन्तरसङ्घर्ष हुँदा सधैँ पार्टी एकता बचाउनुपर्छ भनेर चिन्तित रहने र सबैलाई मिलाउन प्रयत्न गरिरहने बोगटी पार्टी अध्यक्ष प्रचण्डलाई निःस्वार्थ सहयोग गर्ने शीर्ष नेता हुनुहुन्थ्यो ।
जनयुद्धकालको अधिकांश समय पश्चिम नेपालको नेतृत्व गर्नुभएका बोगटीले नुवाकोटको गाउँमा भएको अलिकति सम्पत्ति पनि विद्यालयलाई दान दिएर सम्पूर्ण परिवारलाई नै जनयुद्धमा सहभागी गराउनुभएको थियो । जनयुद्धका क्रममा उहाँले आफ्नो छोरालाई गुमाउनुभयो, त्यस्तो पारिवारिक वियोग जनयुद्धमा सहभागी अरू शीर्ष नेताहरू कसैले व्यहोर्नुपरेको थिएन । गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनको क्रममा स्मृति पार्कमा रहेको पोष्टबहादुरको सालिक तोडफोड भएको थियो । तोडफोडको दृश्य सामग्री बाहिरिएपछि उक्त घटनाको चौतर्फी आलोचना भइरहेको छ ।
प्रतिक्रिया