चमकहीन दसैँ

चमकहीन दसैँ
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

नेपालीको मुख्य चाडपर्वमध्येको प्रमुख बडादसैँ यस वर्ष सुरु भइसकेको छ । नवरात्रका लागि सोमबार जमरा राखिसकिएको छ । विगत वर्षको जस्तो यस वर्षको दसैँ हर्षोल्लासमय भने छैन । गत भदौ २३ र २४ गते जेन-जीले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनका क्रममा सरकारको कठोर दमनले यो सम्पादकीय तयार गर्ने वेलासम्म ७४ जनाले ज्यान गुमाइसकेका छन् भने सयौँ घाइते भई उपचारार्थ छन् ।

देशभर एकसाथ भएको विरोध प्रदर्शन सरकारले थेग्न नसकेर ३१ घण्टामै सत्ता ढल्यो, नवपुस्ताको चाहना र प्रस्तावअनुसार पहिलो महिला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । कार्यकारी प्रमुख कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गते नयाँ निर्वाचनको मिति राष्ट्रपति रामचन्द्र पौडेलले तोक्नुभएको छ । आन्दोलनबाट देश रगतको आहालमा डुब्यो भने सरकारी तथा निजी भौतिक संरचना खरानीमा परिणत भए । बडादसैँको मुखमै भएको आन्दोलनका क्रममा अनाहकमा मारिएकालाई सहिद घोषणा गरेर राज्यले सम्मानसहित आर्थिक सहयोगसमेत गरेको छ । सयौँ घाइतेका उपचारको जिम्मा सरकारले लिने घोषणा गरिसकेको छ । मारिने र घाइते परिवारको यस वर्षको बडादसैँ शोक र पीडामय बनेको छ । व्यावसायिक क्षेत्र पनि युवाको आन्दोलनले लयमा फर्कन सकेको छैन । दसैँका लागि आयात गरिएका चिनियाँ सामान रसुवागढीको पुल गत असार २४ र साउन १४ गतेको बाढीले बगाएपछि नाका सञ्चालन हुन नसक्दा उतै रोकिएका छन् ।

रसुवागढीसँगै सिन्धुपाल्चोकमा रहेको तातोपानी नाका पनि एक महिनादेखिको पहिरोले ठप्प भएर सोमबारदेखि आंशिक खुलेको छ । दसैँको मुखैमा अविरल वर्षा भइरहँदा देशैभरका सडकमार्ग सुचालु हुन सकेका छैनन् । चाडको तयारीमा रहेका नेपालीलाई युवापुस्ताको आन्दोलनले शोकमा डुबाएको र वर्षा जारी रहेकाले दसैँ आए-नआएको खासै चासो र उत्साह देखिँदैन । वर्ष दिनको सबभन्दा ठुला चाडले छोपिसक्दासमेत बजारमा खासै चहलपहल देखिएको छैन । केही वर्ष अघिसम्म दसैँ आउनु महिनौँ अघिदेखि बजारमा रौनक बढ्थ्यो । आफ्ना गाउँघर फर्किने मानिसको चाप पनि उत्तिकै देखिन्थ्यो । यस वर्ष भने दसैँ घरआँगनमै आइपुग्दासम्म पनि मानिस चमकहीन छन् ।

जेन-जीको आन्दोलन र वर्षासँगै आएको बाढीपहिराले देशभरि ठुलो जनधनको क्षति पुर्यायो । चाडको तयारीमा रहेका नेपालीलाई यसले शोक र सङ्कटमा पार्यायो । विपत्तिका कारण धनसम्पत्ति र परिवार गुमाएका नेपाली शोकमा डुबिरहेका कारणले पनि यसपटकको दुर्गा पक्ष खल्लो बनेको, तेज हराएको छ । आन्दोलन, प्राकृतिक विपत्ति र महँगीले उपभोक्तालाई नै थला पारेको छ । दसैँ धेरै नेपालीले मनाउँछन् र यो सबैभन्दा बढी खर्चिलो चाड पनि हो । यतिवेला आम्दानीले नपुगेर ऋण काढेर भए पनि चाड मनाउने प्रचलन छ । हुँदा खाने र हुनेखाने दुवैले आफ्नो औकातअनुसार दसैैँ मनाएकै हुन्छन् । उपभोक्ताको क्रयशक्ति न्यून र अधिकांश सामानको मूल्यवृद्धिले उपभोग्य सामान खरिदमा उत्साह छैन ।अहिले देशभरिका उद्योग-व्यवसाय पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । बजारमा माग कम हुँदा उत्पादनमा कमी र विदेशबाट आयात गरी ल्याउने सामानको समेत सीमानाकाको पुल र सडक बगाउँदा कृत्रिम अभाव भइरहेको तथ्याङ्कले देखाउँछ । समग्र आर्थिक गतिविधि सुस्त हुँदा बजार पनि सुस्त हुनु स्वाभाविकै हो । विगत वर्षमा जस्तो अहिले मालसामानको माग र खपत न्यून छ । बजारमा माग सिर्जना भएका वेला वस्तु तथा सेवाका मूल्यमा कमी आउनुपर्ने अर्थशास्त्रीय नियम छ । नेपालमा यो नियमविपरीत कृत्रिम अभाव सिर्जना गर्दै उपभोक्तालाई सताउने व्यवसायीलाई सहज भइरहेको अवस्था छ । सरकारी नियमले अनुगमन नाम मात्रैको गर्ने गर्दा बजार नियन्त्रण गर्न असफल देखिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह