जेन-जी पुस्ता मात्र नभई विचारधारा पनि

जेन-जी पुस्ता मात्र नभई विचारधारा पनि
रामलाल श्रेष्ठ
१ हप्ता अगाडी

कुनै आइडिया वा विचार जन्मने र तिनको जन्मसँगै त्यसको ठिक विपरीत आइडिया वा विचार पनि जन्मन्छ । विचार र विपरीत विचारको जन्मसँगै ती दुईबिचमा टकराव वा सङ्घर्ष हुने गर्छ । दुई विपरीत विचारको सङ्घर्षबाट दुवैको कमजोर पक्ष हटाई बलियोलाई समाहित गरेर नयाँ विचार निस्कने गर्छ । प्रत्येक समाजमा व्यक्ति-व्यक्तिको, समूह-समूहको, पार्टी-पार्टीको वा व्यक्ति-पार्टी, समाज वा परिवारभित्र विचार जन्मने, त्यसको ठिक विपरीत विचार जन्मने र तिनका बिचमा सङ्घर्ष हुने तथा नयाँ विचारमा रूपान्तरण हुने नियमबाट नै समाज बिस्तारै बदलिन्छ भन्ने दर्शनको नाम नै डाइलेक्टिकल आइडलिज्म हो ।

यो दर्शन आजभन्दा लगभग २४ सय वर्ष पहिले ग्रिसको राजधानी एथेन्समा जन्म भएको हो । सुकरात यस दर्शनका जन्मदाता हुन् भने प्लेटो यसलाई हुर्काउने र लिपिबद्ध गर्ने दार्शनिक हुन् । सुकरातको समय इसापूर्व ४६९-३९९ र प्लेटोको इपू ४२८-३४८ हो । प्लेटोका समयमा यस चिन्तनलाई वादविवादको विधिका रूपमा चिनिन्थ्यो । यस विधिमा एउटा विचारको जित र अर्को विचारको पराजय हुने गर्छ भन्ने बुझाइ थियो । दुई व्यक्ति घुम्न जानेबारेमा छलफल गर्न बस्दा पहिलाले धुलिखेल जाने विचार राख्दा दोस्राबाट त्यसको विपरीत नगरकोट जाने विचार आउन सक्छ । नगरकोट घुम्न जाने विचार पहिलो व्यक्तिको धुलिखेल घुम्न जाने विचारको जन्मसँगै उत्पत्ति भएको हुन्छ । यी दुई विचारका बिचमा सङ्घर्ष हुने र अन्त्यमा धुलिखेल वा नगरकोटमध्ये एक स्थान जाने निश्चित हुन्छ र कार्यक्रम अगाडि बढ्छ । निकै पछि जर्मनीका जी डब्लुएफ हेगेल नाम गरेका दार्शनिकले यस चिन्तनलाई अझ माथिल्लोस्तरमा विकास गरेको देखिन्छ । हेगेलको समय इ १७७०-१८३१ हो । हेगेलका अनुसार डाइलेक्टिकल विधिमा विचार र विपरीत विचारको द्वन्द्व हुने, एउटाको विजय र अर्को विचारको पराजय हुने विचार-विमर्शको विधि नभई यस विधिमा दुई विचारका बिचमा द्वन्द्व हुँदा दुवै विचारमा रहेका कमीकमजोरी र बलिया पक्षको विश्लेषण हुने गर्छ । दुवै विचारमा रहेका कमजोर पक्षलाई हटाई बलिया पक्षलाई समाहित गरी नयाँ विचारको जन्म हुन्छ । यस विधिमा एक विचारले विजय र अर्कोले पराजय हुने स्थिति हँुदैन । दुवै विचारका कमजोर पक्षलाई हटाई बलियो पक्ष मात्र समाहित गर्ने गरिन्छ । यसो गर्दा दुवै विचार नयाँ विचारका रूपमा विकसित हुन्छ ।

आइडिया जन्मने र आइडियाको जन्मसँगै विपरीत आइडियाको पनि जन्म हुन्छ । दुई विपरीत आइडिया वादविवादमा रहने गर्छ । यसरी दुई विपरीत आइडियासँगै रहने भनेको विपरीतको एकता हो । यो डाइलेक्टिसको पहिलो नियम हो । विपरीतको एकता वादविवाद गर्ने पहिलो नियम हो । सँगै रहन सकिएन भने डायलगको निरन्तरता हुन सक्दैन । तसर्थ डाइलेक्टिक्सको पहिलो नियम विपरीत विचारका व्यक्ति एक अर्कोलाई निषेध नगरी सँगै रहनुपर्छ भन्ने हो । अर्थात् डाइलेक्टिसको पहिलो नियम भनेको विपरीत विचार बोक्ने निरन्तर संवाद वा सँगै रहनुपर्छ भन्ने हो । विपरीत विचार बोक्ने व्यक्तिसँगै रहँदा मात्र वादविवाद र विमर्श सम्भव हुने हो । जब विधि नै वादविवाद र विमर्श गर्ने हो भने अलग रहने विचार उत्पन्न हुनै सक्दैन । अलग नभई सँगै रहने भनेको दुई विपरीत विचार बोकेका व्यक्ति एकै थलामा बसेर विचार-विमर्श गर्ने हो । त्यसका लागि पाटीपौवा, चौतारी, चियापसल, कार्यालय कहाँ हुन्छ, त्यहाँ जम्मा हुने र छलफल, विचार-विमर्श गर्ने भन्ने हो । यस विधिबाट विचार–-विमर्श गर्दा कतिपय सन्दर्भमा एउटा विचार अर्कोसँग टकराउँदा एउटाको विजय र अर्कोको पराजय हुने स्थिति रहन्छ । यस स्थितिमा एउटाले आफ्नो तर्क बलियोसँग राख्न सक्यो र अर्काको तर्क कमजोर रहँदा बलियो तर्कलाई स्वीकार गर्ने गरिन्छ । कतिपय सन्दर्भमा दुवै विचारसँग बलिया बलिया तर्क छन् भने टकराव निकै लामो समयसँग रहन्छ । दुवैसँग रहेका कमजोर र बलिया पक्षलाई मसिनोसँग संश्लेषण गरिन्छ । दुवै विचारका कमजोर पक्ष हटाई बलिया पक्ष समाहित गरेर नयाँ विचारको उत्पादन गरिन्छ । यसो गरिँदा दुवै विचारबाट नयाँ उन्नत विचारको जन्म हुन्छ । यो प्रक्रिया परिमाणात्मकबाट गुणात्मक परिवर्तन भन्ने वादविवाद र संवादको दोस्रो नियम हो ।

डाइलेक्टिक्स विकास वा परिवर्तनको सार्वभौम नियम हो । वादविवाद वा संवादलाई अङ्ग्रेजीमा डाइलेक्टिक्स भनिन्छ । डायलगलाई लोकतान्त्रिक विधि पनि भनिन्छ । डाइलेक्टिकल विधि भनेकै लोकतान्त्रिक विधि हो । यस विधिमा विचार र भिन्न वा विपरीत विचारका कमजोर पक्षलाई निषेध गरिन्छ र बलियो पक्षलाई समाहित गरिन्छ । तसर्थ कमजोर पक्ष निषेध हुने हुँदा डाइलेक्टिक्सको तेस्रो नियम निषेधको निषेध नियम भनिन्छ । वादविवाद र संवादको यो नियम संसारको जुनसुकै कुनामा पनि यही प्रक्रियाबाट अगाडि बढिरहेको हुन्छ । तसर्थ डाइलेक्टिक्सलाई लोकतन्त्रको सार्वभौम नियम भनिएको हो । वादविवाद र संवादको यो नियम कुनै निश्चित स्थल, समाज वा राजनीतिक दलमा मात्र देखिने होइन । व्यक्ति, समाज, समूह, परिवार वा राजनीतिक दल वा सर्वत्र यो नियमभित्र रहेर वादविवाद र संवाद हुने हुँदा यो नियम विज्ञानजस्तो सार्वभौम स्वभावको हुन्छ । जेन–जीले यस चिन्तनलाई बोक्दै आफू र आफ्नो पुस्तासँग मात्र होइन समग्र समाज, अघिल्लो र आफूपछि हुर्कँदै गरेको पछिल्लो पुस्तासँग वादविवाद र संवादमा रहनु जरुरी छ । वादविवाद र संवादको चिन्तन भनेको सुकरातले जन्माएको, प्लेटोले लिपिबद्ध गरेको र हेगेलले माथिल्लोस्तरमा पुयाएको डाइलेक्टिकल आइडलिज्मको चिन्तन हो । जेन-जी एउटा उमेर समूहको पुस्ता मात्र होइन, पूर्वीय दर्शनको निकै पुरानो चिन्तन ‘वादे वादे जायते तत्त्व बोध’ भन्ने चिन्तनका जगमा उभिएको लोकतान्त्रिक चिन्तन पनि हो ।

प्रतिक्रिया

लेखकको बारेमा

रामलाल श्रेष्ठ