महोत्सवमा स्थानीय कलाकारसहित ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहनेछ

  • त्रिशूली प्रवाह
  • २५ माघ २०८०, बिहीबार १५:२१

सन्तोष उप्रेती
संयोजक, कलाकार व्यवस्थापन समिति नुवाकोट महोत्सव
एवम्
वरिष्ठ उपाध्यक्ष, नुवाकोट उद्योग वाणिज्य सङ्घ

नुवाकोट महोत्सवमा कलाकारको संयोजन कसरी हुँदै छ ?
सातवटा महोत्वस सञ्चालन गरेको अनुभवको आधारमा विगतको भन्दा फरक कलाकारको संयोजनको प्रयास हामीले गरेका छौँ । अहिले देशव्यापी मन पराएका कलाकार नुवाकोट महोत्सवमा प्रवेश गराएर यो महोत्सवलाई राम्रो र सफल बनाउने अभियानमा जुटेका छौँ । त्यसका लागि चर्चामा आएका लोकदोहोरी, आधुनिक, पप, हास्यव्यङ्ग्य क्षेत्रका कलाकारसँग सम्झौता भई आउने तालिकासमेत सार्वजनिक गरिसकेका छौँ । सङ्घका साथीहरू र बाहिर रहेका अग्रजसँगको सरसल्लाहमा रमेशराज भट्टराई, पशुपति शर्मा, प्रीति आले, कल्पना दाहाल, रमेश प्रसाईं, भूमिका गिरी, टीका सानु, बालचन्द्र बराल, अस्मिता डल्लाकोटी, एनिला चौहान, शान्तिश्री परिवार, समीक्षा अधिकारी, रचना रिमाल, बाल कलाकार सुप्रिम मल्ललगायतका कलाकार तथा हास्य क्षेत्रमा सुन्तली, धुर्मुस, पवन खतिवडा माकुरी, दिनेश काफ्ले, राजाराजेन्द्र पोखरेल, हर्के हवल्दारलगायतका बढी चलेका कलाकारलाई प्राथमिकता दिएर सम्झौता भइसकेको छ । उहाँहरू आउने दिनसमेत तय भएको छ ।

कलाकार संयोजन गर्ने काम कत्तिको सजिलो रहेछ ?
अहिले देशव्यापी मेला–महोत्सव सञ्चालन भइरहेका छन् । कलाकारलाई संयोजन गर्ने काम निकै गाह्रो छ । कलाकारको पारिश्रमिक पनि यसपटक बढेको छ । अहिले त वडादेखि क्लब र पालिकासमेतले मेला, महोत्सव गरिरहेको सन्दर्भमा कलाकारको अभाव हुनु स्वाभाविकै हो । अहिले महोत्सवको सिजन हो । धेरैतिर महोत्सव सञ्चालन हुँदा कलाकारको पारिश्रमिक बढेको हो । राष्ट्रियस्तरमा चलेका कलाकर विदेशतिर कार्यक्रममा जाने भएकाले पनि समस्या भएको हो । यति हुँदाहुँदै पनि हामीले नाम चलेका कलाकार नुवाकोट महोत्सवमा ल्याउन सम्झौता गर्न सफल भएका छौँ ।

राष्ट्रिय कलाकार र स्थानीय कलाकारको संयोजन कसरी हुँदैछ ?
नुवाकोटमा जन्मिएर राष्ट्रियस्तरमा नाम चलाएका कलाकारलाई हामीले एउटा श्रेणीमा राखेर उद्योग वाणिज्य सङ्घका सदस्य सुजित श्रेष्ठले संयोजन गर्नुभएको छ । उहाँले सिफारिस गरेको नामलाई सङ्घले अनुमोदन गरिसकेको छ । जिल्लाको पृष्ठभूमिमा रहेका र राष्ट्रियस्तरका दुवै खालका कलाकारलाई हामीले स्थान दिने व्यवस्था मिलाएका छौँ । जिल्लाको महोत्सव, महोत्सवको आयोजक हामी सबै जिल्लावासी भएकाले हामीले रचनात्मक सल्लाह र सहयोगको अपेक्षा गरेका छौँ । सबै कलाकारले महोत्सवमा स्थान पाउनुहुनेछ । हाम्रो सम्पर्कबाहिर कोही कलाकार हुनुहुन्छ र हामीले बिर्सेका छौँ भने पनि सुजित श्रेष्ठमार्फत सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।

महोत्सवमा स्थानीय कलाकारको सहभागिता कसरी हुँदैछ ?
विगतमा सङ्घले गरेको केही महोत्सव ठेक्का प्रथामा चल्यो । जसको कारण हाम्रोभन्दा ठेकेदारको चाहनाका कलाकारले स्थान पाउने अवस्था रहेको थियो । यो महोत्सवमा कलाकारलगायत सम्पूर्ण व्यवस्थापनको जिम्मा सङ्घले लिएकाले जिल्लावासीलाई सहज हुनेछ । त्यतिबेला स्थानीय कलाकारको सम्बोधन भएन भन्ने गुनासो आएको थियो । अहिले हामीले सबैलाई समेटेका छौँ । अहिले विभिन्न जातजातिको रीतिरिवाज, झाँकी, नुवाकोट चिनाउने खालका संरचनाको पनि प्रचार–प्रसार गर्नेछौँ । जिल्लामा उत्पादन भएका वस्तुको उत्पादन बिक्री गर्ने हाम्रो उद्देश्य हो । अहिले नुवाकोट उद्योग वाणिज्य सङ्घमा दर्ता भएर नवीकरण भएका सबै व्यवसायीलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएका छौँ । यसबाट हाम्रा सदस्यले नुवाकोट महोत्सवको आफू पनि एउटा आयोजक भएको अनुभूति गर्न सक्नेछन् । महिला उद्यमी समितिले पनि जिल्लाभरिका महिला उद्यमीलाई समेट्नुभएको छ । महिलाले उत्पादन गरेका सामग्रीको प्रदर्शनीका लागि निःशुल्क स्टल उपलब्ध गराएका छौँ । यसपटकको महोत्सवमा कला र गला भएका जो–कोही नुवाकोटे प्रतिभाले अवसर पाउनेछन् । महोत्सव भव्यताका साथ सफल बनाउन सबै क्षेत्रबाट सकारात्मक सल्लाह, सहयोग र सहभागिताको अपेक्षा हामीले गरेका छौँ ।