स्थानीय उत्पादन तथा कृषि प्रदर्शनीका लागि ५० वटा स्टल छुट्याएका छौँ

  • त्रिशूली प्रवाह
  • २५ माघ २०८०, बिहीबार १५:३६

दिनेशकुमार श्रेष्ठ
संयोजक, कृषि प्रदर्शनी व्यवस्थापन समिति नुवाकोट महोत्सव
प्रथम उपाध्यक्ष, नुवाकोट उद्योग वाणिज्य सङ्घ

नुवाकोट महोत्सवको तयारी कसरी हुँदैछ ?
माघ २६ गतेदेखि फागुन ७ गतेसम्म सदरमुकाम विदुरमा हुने आठौँ नुवाकोट महोत्सवको तयारी पूरा भएको छ । सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा मूल कार्य सञ्चालन समितिसहित विभिन्न २९ वटा उपसमिति बनाई कामको जिम्मेवारी बाँडफाँट गरी विगतको महोत्सवको तुलनामा यो महोत्सवलाई अझै उत्कृष्ट बनाउन तल्लीन छौँ । स्टललगायतका अन्य पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ । प्रदर्शनीका लागि दुई सय ५० वटा स्टलमध्ये स्थानीय उत्पादन तथा कृषि प्रदर्शनीका लागि ५० वटा स्टल छुट्याएका छौँ । महोत्सवलाई सफल बनाउन जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय निकाय, सङ्घका पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष, विभिन्न वस्तुगत सङ्घका पदाधिकारी, प्रायोजक, बैंक तथा वित्तीय संस्था, सहकारीकर्मी, सञ्चारकर्मी, कृषि तथा घरेलु उद्यमी दाजुभाइसँग छलफल सम्पन्न भइसकेको छ । सबैबाट सकारात्मक सहयोग पाइरहेका छौँ । महोत्सवमा प्रदर्शन गर्न स्थानीयले सामान ल्याउने क्रम रहेको छ ।

महोत्सवमा कृषि उत्पादनलाई कसरी स्थान दिइएको छ ?
यसपालिको महोत्सवलाई स्थानीय उत्पादन तथा कृषि प्रदर्शनीको महोत्सव भन्दा फरक नपर्ने देखिन्छ । नुवाकोट महोत्सव हालसम्म सातौँ हुँदै आठौँ संस्करणसम्म आइपुग्दा नुवाकोट महोत्सवले सधैँ प्राथमिकतामा राखेर कृषिलाई प्रवद्र्धन गर्र्दै आइरहेको छ । यस वर्ष पनि पहिलो प्राथमिकतामा राख्न १२ वटै स्थानीय तह, घरेलु कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागवानी विकास केन्द्र, मस्त्य अनुसन्धान केन्द्र, जिल्ला कृषि सहकारी सङ्घलगायत अन्य निकायसँग समन्वय गरिसकेका छौँ । उहाँहरूबाट सकारात्मक सल्लाह, सुझावसहित सहयोग पाएका छौँ । यस वर्ष हामीले स्थानीय उत्पादन र कृषि प्रदर्शनीलाई ५० वटा स्टल निःशुल्क उपलब्ध गराएका छौँ । साथै, यस वर्ष उत्कृष्ट टप फाइभ कृषि प्रदर्शनीलाई नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरेका छौँ । महिला उद्यमी तथा कृषकलाई खाजा र आतेजाते खर्चको व्यवस्था पनि गरेका छौँ । भेटेरेनरी अस्पतालको सहकार्यमा हामीले कृषिजन्य वस्तुको प्रवद्र्धनका लागि तीन दिनसम्म सम्पूर्ण महोत्सव आगन्तुकका लागि उसिनेको अन्डा र तातो दूध निःशुल्क वितरण गर्ने व्यवस्था मिलाएका छौँ । त्यस्तै, हामीले यस वर्ष कृषि जनचेतनाका लागि बागवानी विकास केन्द्र, मस्त्य अनुसन्धान, कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पतालको विज्ञबाट र मौरीपालनका लागि मौरीका प्राविधिकबाट घारसहित प्रदर्शनी र दैनिक दुई घण्टा इच्छुक कृषकलाई वृत्तचित्रमार्फत तालिम दिइने व्यवस्था गरेका छौँ । जिल्लाका विभिन्न स्थानीय तहबाट आ–आफ्नो पालिकाको मौलिकता झल्किने स्थानीय उत्पादन तथा कृषि सामग्री प्रदर्शनी गरिनेछ । बिस्तारै प्रविधिमैत्री हुँदै गइरहेको कृषि क्षेत्रमा प्रयोग हुने यन्त्र, उपकरणको पनि महोत्सवमा प्रदर्शनी गरिनेछ ।

स्थानीय उत्पादनको बजारीकरणलाई महोत्सवको कस्तो प्रभाव पर्ला ?
हाम्रो जिल्लाका कृषक उद्यमीले उत्पादन गरेका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने महोत्सवजस्तो प्लेटफर्म अरू हुन्छ जस्तो लाग्दैन । यस महोत्सवमा जिल्ला तथा बाहिरका लाखौँ आगन्तुकबाट अवलोकन हुने हुँदा अवश्य नै स्थानीय उत्पादनको बजारीकरणलाई सहयोग पुग्ने विश्वास लिएका छौँ । जिल्लामा उत्पादित स्थानीय उत्पादनलाई अन्य जिल्लाका मेला, महोत्सवमा प्रोत्साहनस्वरूप बजारीकरण गर्न हामी सिङ्गो उद्योग वाणिज्य सङ्घ सधैँ लागिरहेका छौँ । ट्राउट माछा, स्ट्रेबरी, मूला, बदाम, सुन्तला, किवी, आलु तथा अन्य उत्पादनलाई बजारीकरण गर्न हामीले इलम प्रशिक्षण केन्द्रमा हाटबजार सञ्चालन गरी बिक्री केन्द्र नै स्थापना गरेका छौँ ।

विगतदेखि नै कृषिलाई प्राथमिकता दिइने भने पनि रस–रमाइलोमै महोत्सव अल्मलिएको आरोप छ नि ?
महोत्सवमा नाचगान मात्रै भयो भनेर मात्र त्यसरी बुझ्नुभएन, हो कृषि क्षेत्रलाई हामीले सधैँ प्राथमिकतामा राखेका छौँ । सँगसँगै अन्य क्षेत्रलाई पनि महोत्सवमा उचित स्थान दिन सकेनौँ भने महोत्सव खल्लो हुनेछ । हामीले कृषिका लागि भनेर ५० वटा निःशुल्क स्टल व्यवस्था गरिएको छ । सो स्टलमा कृषिका उपज के–के छन्, जिल्लाका कुुन–कुन ठाउँबाट कृषक आएका छन् ? अवश्य नै भिजिट गरेर प्रतिक्रिया दिर्नुहोला । महोत्सवमा कृषि तथा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री, घरेलु हस्तकला सामग्रीको प्रदर्शनी, विभिन्न सांस्कृतिक वेशभूषा तथा झाँकी प्रदर्शनी, औद्योगिक प्रदर्शनी, विभिन्न खानाका परिकार, रमाइलो खेल तथा मनोरञ्जन, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड सांस्कृतिक प्रस्तुति, लाखेनाच तथा विभिन्न सांस्कृतिक प्रतियोगिता आदि रहनेछ । महोत्सवमा जिल्लाकै कृषि उत्पादनलाई प्रदर्शनी, बिक्रीका लागि महत्व दिएका छौँ । जिल्लाका कृषक दाजुभाइ, दिदीबहिनीले पनि यो अवसरलाई सदुपयोग गर्न अनुरोध गर्दछु ।

महोत्सवले नुवाकोटलाई कस्तो फाइदा होला ?
महोत्सवले पक्कै पनि जिल्लाको आर्थिक गतिविधि बढाउन, कला, संस्कृति एवम् पर्यटकीय सम्भावना रहेका क्षेत्रको उजागर गर्दै प्रचार–प्रसार र प्रवद्र्धनमा टेवा पुग्नेछ । अनुमानित पाँच करोडको आर्थिक कारोबार रहने महोत्सवले मन्द रहेका व्यावसायिक गतिविधिलाई चलायमान बनाउने विश्वास सङ्घले लिएको छ । जिल्ला र बाहिरबाट पाल्नुहुने आगन्तुकका कारण ठप्प रहेका होटेल व्यवसाय, यातायात क्षेत्र, उत्पादित कृषि सामग्रीका कृषक र व्यवसायलगायत सम्पूर्ण व्यवसायको कारोबार बढेर आर्थिक स्तर वृद्धि भई सरकारको राजस्व सङ्कलन पनि वृद्धि हुनेछ । महोत्सवमा हामीले जिल्लाका सबै कृषि तथा घरेलु उद्यमीलाई आफ्नो उत्पादन प्रदर्शनीका लागि आह्वान गरेका छौँ । महोत्सवमा सहभागी भएर सफल बनाउन जिल्लावासीलाई अनुरोध गरेका छौँ ।