नुवाकोट महोत्सव जारी

सङ्कटमा पुगेको देशको अर्थतन्त्र लयमा फर्कियो : प्रधानमन्त्री दाहाल

  • त्रिशूली प्रवाह
  • ३ फाल्गुन २०८०, बिहीबार ११:५६
  • रामहरि न्यौपाने

विदुर, नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा नुवाकोट महोत्सव २०८० को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार भव्य समारोहबीच उद्घाटन गरे । प्रधानमन्त्री दाहालले सो अवसरमा कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएको दाबी गरे । माघ २६ गतेदेखि नुवाकोटको विदुरमा सुरु भएको आठौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक वर्षअघि आफू प्रधानमन्त्री हुँदाको समयमा निकै सङ्कटमा पुगेको देशको अर्थतन्त्र अहिले लयमा फर्किएको दाबी गर्वका साथ गरे ।

‘अर्थतन्त्र सुधारका सूचक अहिले सकारात्मक अवस्थामा छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘देश र विदेशका विभिन्न निकाय तथा सरोकारवालासँग निरन्तरको बहसको क्रममा प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकको थुप्रै प्रयासले सङ्कटमा पुगेको अर्थतन्त्र लयमा ल्याउन सफल भएका हौँ ।’ १३ महिनाअघि आफू तेस्रोपटक प्रधानमन्त्री हुँदाको अवस्थामा जस्तो अहिले कमजोर नरहेको र यही क्रम रहेमा बिस्तारै मुलुकलाई समृद्धितर्फ लैजान सकिने उनको विश्वास छ । ‘अहिले बैंकको ब्याजदर घट्दै गएको छ । पर्यटनको आवागमनमा सुधार, राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि हुँदै विदेशी मुद्राको सञ्चिति इतिहासमा नै सुधार गरेर एक वर्षलाई पुग्ने बनाएका छौँ,’ उनले भने, ‘रेमिट्यान्समा ३० प्रतिशत वृद्धि, जग्गाको कारोबार चलायमान र जलवायु परिवर्तनको कारण पुगेको असरलाई प्रतिरक्षा गर्न प्राप्त अन्तर्राष्ट्रिय सहयोगको आकार बढाउँदै ल्याएकाले कमजोर बनेको अर्थतन्त्र लयमा ल्याइएको हो ।’ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट निर्माणको कार्य प्रारम्भ भएकाले सुध्रिएको अर्थतन्त्रको कारण उत्पादन, रोजगार र जनमुखी बजेट ल्याउन केन्द्रित हुने उनको भनाइ छ । उत्पादन र रोजगारका निमित्त कृषि क्षेत्रको विकासलाई आधुनिकीकरणतर्फ लम्काउने प्रयासमा वर्तमान सरकार सक्रिय रूपमा लागिरहेको छ । पर्यटनको विकासका लागि छिमेकी मुलुक चीन र भारतको समकक्षीसँग छलफल भइरहेकाले देशको विकास र समृद्धि छिट्टै नयाँ चरणमा प्रवेश गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।

सङ्घका अध्यक्ष एवम् नुवाकोट महोत्सव आयोजक समितिका संयोजक राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी, पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, विदुर नगरपालिकाका मेयर एवम् नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजन श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीलगायतले खस्किँदो कृषि, आर्थिक तथा पर्यटन क्षेत्रलाई उकास्नुका साथै जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महोत्सव सहयोगी सावित हुने बताएका थिए । सङ्घका महासचिव एवम् नुवाकोट महोत्सव आयोजक समितिको सचिवालय व्यवस्थापन तथा प्रचार–प्रसार समितिका संयोजक उपेन्द्र बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा महोत्सव स्मारिका २०८० प्रधानमन्त्री दाहालले विमोचन गरेका थिए । फागुन ७ गतेसम्म सञ्चालन हुने महोत्सव अवलोकन गर्ने विशिष्ट व्यक्तित्वदेखि सर्वसाधारणसम्मको सङ्ख्या दैनिक बढ्दै गएको सङ्घका द्वितीय उपाध्यक्ष तथा नुवाकोट महोत्सव २०८० का स्टल व्यवस्थापन समितिका संयोजक सविन राजभण्डारीले जानकारी दिए ।

०४५ सालमा स्थापना भएको सङ्घको शरण उत्सुक सापकोटा अध्यक्ष भएपछि ०६३ मा पहिलो महोत्सव भएको थियो । उत्सुकको नेतृत्वमा पहिलो महोत्सव ०६३ र दोस्रो महोत्सव ०६६ मा भएको थियो । सङ्घको आयोजनामा गत माघ २६ गतेदेखि सुरु भएको यो महोत्सव आठौँ संस्करण हो । पहिलो र दोस्रो महोत्सव उद्घाटन ०६२/६३ को जनआन्दोलनपछिको पुनस्र्थापित संसद्का तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले, छैटौँ महोत्सव गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले र यसपटकको आठौँ महोत्सव २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् । महोत्सवको गरिमा विशिष्ट व्यक्तित्वबाट उद्घाटन भएकाले महोत्सव परिष्कृत र परिमार्जित हुँदै गएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् नुवाकोट उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष ताराबहादुर कार्कीले बताए । १० दिनसम्म सञ्चालन हुने महोत्सव विदुरमा सञ्चालन भइरहेको छ । महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र पाँच करोडबराबरको कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष एवम् महोत्सव आयोजक समितिका प्रायोजन÷प्रवद्र्धक व्यवस्थापन समितिका संयोजक मेघनाथ घिमिरेले बताए । जिल्लाको खस्किँदो कृषि, आर्थिक तथा पर्यटन क्षेत्रलाई उकास्नुका साथै जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महोत्सव फलदायी रहने त्रिशूली प्रवाह साप्ताहिकलाई उनले बताए । महोत्सवमा दैनिक ख्यातिप्राप्त फरक–फरक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति भइरहेको उद्योग वाणिज्य सङ्घका सचिव एवम् महोत्सव आयोजक समितिका बाल उद्यान व्यवस्थापन समितिका संयोजक मधुसुदन थपलियाले बताए ।

महोत्सवमा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले व्यवसायीसँग समन्वय गरेर अवलोकनकर्तालाई पहिलो दिन दूध र दोस्रो दिन अण्डा निःशुल्क खुवाएको थियो । शुक्रबारदेखि सुरु भएको महोत्सवभित्र स्टल राखेर अवलोकनकर्तालाई एक कप दूध र एक–एकवटा उसिनेको अण्डा वितरण गरेको थियो । मेला–महोत्सवलाई सहयोग पु¥याउन कार्यालयलाई प्राप्त बजेटमा अन्य निकायसँगको सहकार्यमा महोत्सव हेर्न पुग्ने अवलोकनकर्तालाई निःशुल्क दूध र अण्डा उपलब्ध गराइएको विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेले जानकारी दिए । उनका अनुसार विगतका वर्षमा मेला आयोजकलाई एकमुस्ट नगद सहयोग गर्ने गरिएको थियो । पशु विकास अधिकृत पाण्डेले भने, ‘सहयोग गरिएको रकम लक्ष्यअनुसार खर्च गराउन चुनौती देखिएपछि महोत्सव अवलोकनकर्तालाई दूध र अण्डाको नियमित सेवनको महत्वको प्रचारसहित निःशुल्क उपलब्ध गराइएको हो ।’