श्री स्वस्थानी व्रतकथाको बाँकी अंश भिन्न प्रसङ्ग

  • त्रिशूली प्रवाह
  • ३ फाल्गुन २०८०, बिहीबार १२:५७
  • आचार्य वासुदेव उपाध्याय नेपाल

स्वस्थानी परमेश्वरी भनेकी को हुन् भन्ने विषयमा वेद, शिवपुराण, देवीपुराण, देवीभागवत, महाभारत आदि ग्रन्थमा दक्षपुत्री सतीदेवी नै शिवकी प्रथम पत्नी भन्ने बताइएको छ । तर, कालिका पुराण, बृहद्धर्म पुराण, त्रिपुरारहस्य आदि ग्रन्थका अनुसार सृष्टिका आदिमा ज्ञानस्वरूप परमेश्वर एक मात्र हुनुहुन्थ्यो । परमेश्वरलाई क्रीडा गर्ने इच्छा भएपछि परमेश्वरकी पराशक्ति प्रकृति अलग हुनुभयो । परमपुरुष शिव र प्रकृति स्वरुपिणी भगवती गौरी सर्वप्रथम स्वयम् दिव्य रूपमा उत्पन्न हुनुभएको थियो । अनि गौरी नै शिवकी प्रथम शक्तिका रूपमा शिवका साथमा रही विभिन्न लीला गर्दै रहनुभएको थियो । कालान्तरमा दक्ष प्रजापतिले भगवती गौरीको तपस्या–आराधना गर्न लागे । त्यसैबेला परमपुरुष शिव अन्तध्र्यान हुनुभयो । अनि भगवती गौरीले सबैतिर खोज्दा शिवलाई नभेटी दुःखित भएर गौरीले पनि आफ्नो स्वरूप लुप्त गरेर आकाशस्वरूपिणी हुनुभयो ।
भनिएको छ –
अथ गौरी महादेवं मृगयित्वा तु सर्वतः ।
वियुक्ता देवदेवेन दुःखेनात्यन्तभूयसा ।
देहं विलोपितवती गगनैकस्वरूपिणी ।
दक्षप्रजापतिर्देवीं तपसातोषयच्छिवाम् ।

तदा गौरी देहहीना गगनैकस्वरूपिणी ।
तुष्टा तं छन्दयामास वरेण वरवर्णिनी ।
स वव्रे तनया भूत्वा गृहे मे वस शंकरी ।
समुत्पन्ना ततो गौरी सती दक्षात् प्रजापतेः ।।’

दक्ष प्रजापतिले भगवती गौरीको धेरै दिनसम्म ठूलो तपस्या गरे । तपस्याबाट खुसी भएकी गगनस्वरूपा गौरीले वर माग भन्दा दक्षले हजुर मेरी छोरी भएर मेरा घरमा जन्म लिइदिनुहोस् भन्ने अनुरोध गरे । गौरीले तथास्तु भनी वरदान दिनुभयो । त्यसपछि गौरी दक्षका घरमा सतीदेवी नामले जन्म लिएर शिवसँग विवाह गर्नुभएको हुँदा शिवकी दोस्री पत्नी भएर केही समय विहार गर्नुभयो । त्यसपछि दक्षले शिवनिन्दा गरेको सहन नसकी यज्ञकुण्डमा हाम फाली सतीदेवीले प्राण त्याग गर्नुभयो । आफ्ना पतिको निन्दा सहन नसकी पतिप्रति अत्यन्त श्रद्धाभाव राखेर पतिका लागि सतीदेवीले प्राण त्याग गर्नुभएको हुँदा सती शब्द पतिप्रति श्रद्धा एवम् भक्ति गर्ने पतिव्रता महिलामा रूढ भएर अहिलेसम्म पनि पतिव्रता नारीलाई सती भन्ने परम्परा प्रचलित छ । सती जानु भनेको पनि पतिको वियोग सहन नसकी प्राण त्याग गर्नु हो । यसरी यज्ञकुण्डमा प्राण त्याग गरेपछि हिमालयकी छोरी पार्वती भएर जन्म लिनुभयो र शिवकी तेस्री श्रीमतीका रूपमा शिवसँग विवाह गर्नुभयो । परम्पुरुष शिव र शिवकी शक्तिरूपा उनै गौरी नै विभिन्न समयमा विभिन्न रूपले जन्म लिएर कहिले मधुकैटभ विनाशकारिणी, कहिले योगमाया, कहिले महिषासुरमर्दिनी, कहिले शुम्भनिशुम्भविनासिनी आदि विभिन्न रूप लिएर लोककल्याणका लागि विभिन्न लीला गर्नुहुन्छ । स्वस्थानी परमेश्वरी भनेकी पनि भगवती गौरीमाताको नै एउटा स्वरूप हो । त्यसकारण सदा शिवका साथमा स्वस्थानीको पूजा गर्नु भनेको शिवपार्वतीकै पूजा गरेको हो ।
ॐ मन्दारमालाकुलितालकायै
क्पालमांकितशेखराय ।
दिव्याम्बरायै च दिगम्बराय,
नमः शिवायै च नमः शिवाय ।।’
यस मन्त्रले ध्यान गरी ‘ॐ सदाशिवसहितायै श्रीस्वस्थानीपरमेश्वर्यै नमः’
भनी यस नाममन्त्रले जसको श्रद्धा एवम् भक्तिपूर्वक पूजा गर्दा मनुष्यका विभिन्न पाप नास भई सम्पूर्ण मनोकामना पूर्ण हुन्छन् । त्यसकारण हामी पनि आफ्ना शक्तिअनुसार स्वस्थानीको व्रत गरी पूजा–आराधना गरौँ, हामी सबैको कल्याण हुन्छ । ॐ श्रीस्वस्थानीपरमेश्वर्यैनमः। श्रीकृष्णार्पणमस्तु ।।

विनपा–५, द्वारपाल, देवीघाट, नुवाकोट

nepalbasudev98@gmail.com