सेतिभुमेका विद्यार्थी पढ्दै खेती गर्न सिक्दै

  • त्रिशूली प्रवाह
  • १० फाल्गुन २०८०, बिहीबार १२:०२
  • सरस्वती न्यौपाने

धुन्चे, सरकारले नेपालमा गरिखाने शिक्षा दिन नसकेको गुनासो चौतर्फीरूपमा उठिरहेको छ । नेपालमा विद्यमान शिक्षा प्रणालीले विद्यार्थीलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउन सकिरहेको छैन । यी र यस्ता गुनासोलाई सम्बोधन गर्न रसुवाको सेतिभुमे मा.वि.ले पढ्दै र सिक्दै अभियान वागमती प्रदेशसरकारको नीतिअनुसार शुरू गरेको छ ।

विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा अन्नबालीको परिचय गराउने, बाली उत्पादनका लागि माटोको तयारीदेखि बिक्री ब्यवस्थापनसम्मका प्रक्रियाको सैद्धान्तिक र ब्यवहारिक ज्ञान दिने उद्देश्यले रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नम्बर–१ राम्चेमा रहेको सेतिभुमे माध्यमिक विद्यालयमा पढ्दै र सिक्दै अभियान शुरू भएको छ । प्रदेश सरकारको नीतिअनुसार गुणस्तरीय शिक्षा शैक्षिक रूपान्तरण, नवप्रर्वद्धन उद्यमशिलता विकास गरी शैक्षिक संस्थामार्फत सामाजिक रूपान्तरणबाट समृद्ध र सुखी रसुवाली अभियानलाई टेवा पु¥याउन पढ्दै र सिक्दै अभियान शुरू गरिएको प्रधानाध्यापक शिला मगरले जानकारी दिनुभयो । कक्षा ७ देखि ११ सम्मका विद्यार्थी पढाईको अलवा खाली समयमा पढ्दै, सिक्दै अभियानमा सहभागी भईरहेका छन् । चालु शैक्षिक सत्रबाट शुरू भएको पढ्दै सिक्दै अभियानको लागि विद्यालयले स्थानीयको १० रोपनी जग्गा भाडामा लिएर विद्यार्थी तथा शिक्षक मिलेर तरकारी खेती गरिरहेका छन् । विद्यालयले आलु, मुला, फर्सी, गाजर, इसकुस, बरेला र खाद्यान्न बाली अन्तरगत मकै, कोदो, जौं आदि उत्पादन गर्न सैद्धान्तिक र प्रयोगात्मक जानकारी गराउने गरिएको विद्यालयका प्रधानाध्यापक मगरले जानकारी दिनुभयो ।

२०३३ सालमा स्थापना भएको उक्त स्कुलमा पढाईको साथ–साथै खेतीपाती गर्ने ज्ञानले विद्यार्थीलाई आत्मनिर्भर बनाउने अपेक्षा राखिएको छ । विद्यार्थीले उत्पादित तरकारी तथा खाद्यान्न विद्यालयको दिवा खाजामा र होस्टेलमा प्रयोग गरिएको छ भने बाँकी रहेको बजारमा बेच्न लैजाने प्रधानाध्यापक मगरले बताउनु भयो । अहिले रसुवामा आलु लगाउने सिजन भएकोले विद्यार्थी, शिक्षक मिलेर पाँच बोरा आलु, तीनसय ग्राम मुला लगाईसकेको छ भने बाँकी जग्गामा पनि लग्गामा विभिन्न प्रजातीका मौसमी तथा बेमौसमी तरकारी खेती लगाउने तयारी गरिएको छ । भाडामा लिएको जग्गामा विभिन्न प्रजातीका मौसमी तथा बेमौसमी तरकारी खेती लगाउने गरिएको छ । ‘तरकारी फलफुल र अन्नबाली’ को घण्टी बजेपछि शिक्षक विद्यार्थी बारीमा पुग्छन् । बारी पुगेर खनजोत गर्छन् । बिउ छर्छन्, बेर्ना रोप्छन् । गोडमेल गर्छन् । मल हाल्छन् । पानी दिन्छन् । बेला भएका तरकारी बाली उठाउँछन् । तरकारी बिक्री गर्न नजिकका पसलमा लैजान्छन् । यसो गर्दा पढाईसँगै विद्यार्थीलाई ब्यहारिक शिक्षा मिल्ने अपेक्षा विद्यालयले गरेको छ ।