अब सामान्य उपचारको लागि जिल्लाबासीलाई बाहिर जानुपर्दैन ।

  • त्रिशूली प्रवाह
  • १० फाल्गुन २०८०, बिहीबार १२:१८

डा.अमितकुमार शाह
मेडिकल सुपरिटेन्डेण्ट
रसुवा अस्पताल, धुन्चे

रसुवा अस्पतालमा कार्यरत रहेको कति भयो ?
म रसुवा अस्पतालमा कार्यरत रहेको १ वर्ष ३० दिन भयो । कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै काम गर्न थालेको भने लागभग ११ महिना पुग्न लाग्यो ।

अरू जिल्लामा भन्दा रसुवामा काम गर्दा के फरक पाउनुभयो ?
रसुवा जिल्लामा भौगोलिक विविधता र मनोरम तथा विषम प्रकारको हावापानी पाएँ । काठमाडौंदेखि नजिक भएको रसुवा जिल्लामा तराईको प्रचण्ड गर्मीदेखि हिमालयको चिसोसम्म अनुभव गर्न पाएँ । जिल्लामा मिश्रित वर्गका ब्यक्तिको बसोबास रहेको छ । जिल्लाको सदरमुकाम धुन्चेबजार अलि बढि चिसो र महँङ्गो पाएँ । सेवाग्राहीको चाप धेरै नभएकोले सेवा प्रवाहमा सजिलो नै हुन्छ तर बिरामी टाढाबाट आउनुपर्ने हुँदा २४ सैं घण्टा अस्पतालमै म ब्यस्त रहेको छु ।

विगतका वर्षमा अस्पताल नाम मात्रैको सामान्य रूघाखोकीको पनि उपचार सेवा हुने थिएन । साधारण रोगका बिरामी पनि रिफर गर्ने गरिन्थ्यों । अहिलेको अवस्था के छ ?
आ.व.२०७९/०८० को चैत्र मसान्तसम्म अस्पतालमा केही दैनिक सेवाबाहेक अरू कुनै पनि सेवा–सुविधा नरहेको गुनासो सेवाग्राहीबाट सुनिने गरिन्थ्यों । “सानो समस्या पर्दा पनि अस्पतालमा सामाधान नहुने, सधैं काठमाडौं वा नुवाकोट मात्र जानुपर्ने र आफुहरु अबबाट यो अस्पतालमा कहिले सेवा लिन नआउने” भन्ने गुनासो यहाँका स्थानीय सेवाग्राहीको हुन्थ्यों । जिल्लाका समाजसेवी, संघ–संस्थाका अगुवा ब्यक्तिलगायत पुराना जानकार मानिस २०६३ सालयता अस्पतालमा राम्रो सेवाको अपेक्षा गर्नु सपना मात्र हुने बताउथें । तर मैले नेतृत्व गरेदेखि छोटो समयमै (आ.व.२०७९/०८० को चैत्रदेखि अषाढ मसान्तसम्ममा) यस अस्पतालको सेवा–सुविधामा ठुलो परिवर्तन आएको चर्चा यहाँका सेवाग्राही तथा जिल्लाका समाजसेवी, संघ–सस्थाका अगुवा ब्यक्तिलगायत पुराना जानकार मानिसबाट भईरहेको छ । अस्पतालमा OPD सेवा थप सवलीकरण तथा बिस्तार, इमरजेन्सी सेवा थप सवलीकरण तथा बिस्तार, अस्पताल भण्डारमा थुप्रेर राखिएका सम्पूर्ण आधुनिक उपकरण (Patient Bed, Patient Monitor, शल्यक्रियाका औजार उपकरण, नवजात शिशु कक्षका आवश्यक उपकरण) प्रयोगमा ल्याई सेवा बिस्तार गरेलगत्तै सेवाग्राहीको संख्यामा नातकीय बृद्धि भएको देखिन्छ । रसुवा अस्पतालमा २०८० बैंशाख १८ मा शल्यक्रिया कक्षको उद्घाटन पश्चात् जिल्लामा पहिलो पटक शल्यक्रिया (Caesarean Section) बाट बच्चाको जन्म मेरो अथक प्रयासपछि २०८० असार ११ मा श्री निक साइमन्स इन्सटिच्युटको सहयोगमा डा.रन्जीतराज पाठक नेतृत्वको टोलीबाट सफलतापूर्वक सम्पन्न गरियो । त्यसैगरी, अस्पतालमा २०८० बैंशाख १० बाट नियमित स्वास्थ्य बिमा सेवा सञ्चालन भईरहेको छ । शल्यक्रिया सेवा सुचारू गर्दा बिरामीलाई कुनै पनि बेला रगत चाहिन सक्छ र त्यसका लागि रगतको ब्यवस्थापनको सुनिश्चिता हुनुपर्छ । जिल्लामा रगत भण्डारण गर्न BLOOD BANK नभएकोले Blood Transfusion को ठुलो चुनौती देखियो । तर जिल्लाको सुरक्षा निकायको समन्वय तथा सहजीकरणमा हामीले Walking Blood Bank अर्थात् रगत चाहिएको बेला तत्कालै रगत समूह मिल्ने ब्यक्ति (सुरक्षाकर्मी) लाई बोलाई रगत निकाली चाहिएको बिरामीलाई रगत चढाउने ब्यवस्था मिलायौं । यसले गर्दा हामीलगायत सेवाग्राहीलाई शल्यक्रिया तथा अन्य रगत चढाउन आवश्यकता भएको अवस्थामा धेरै सजिलो भईरहेको छ । त्यस पश्चात् रगत चढाउनलाई मात्र कहिलै बिरामी रेफर गर्नु परेन । वि.सं.२०७२ सालको महाभूकम्प पश्चात् रसुवा जिल्लाको विभिन्न ठाउँमा क्षति पुगेको पाईन्छ । त्यहीँ महाभूकम्पमा रसुवा अस्पताल पनि ध्वस्त भएपछि, पुनः क्यानेडियन रेडक्रसको सहयोगमा प्रि–फ्याबको एउटा अस्पताल भवन र इट्टाको अर्को भण्डारण योग्य भवन निर्माण भयो । तत्कालिन अस्पतालले प्रिफ्याबको एउटा भवनमा सिमित सेवा–सुविधा दिंदै आएको र अर्को इट्टाको भण्डारणयोग्य भवनमा भण्डारणको सम्पूर्ण सामान अब्यवस्थितरूपमा थुपारेर राखेको थियो । सिमित ठाउँमा भएकै श्रोतको प्रयोग गरी थप सेवा–सुविधा दिन सकिन्छ भन्ने कुरा मैले आफु कार्यालय प्रमुख भएको ३ महिनाभित्र गरेर देखाए । इट्टाको भण्डारणयोग्य भवनमा थुप्रेका औजार, उपकरणलाई पुनः प्रयोगमा ल्याई नया OPD कक्ष निर्माण गरी सुविधा सम्पन्न बहिरंग कक्ष बनाईयो र त्यही भवनको अर्को कोठालाई सुविधा सम्पन्न आकस्मिक कक्ष बनाईयो । तत्कालिन त्यही भण्डारणमा थुप्रेका उपकरणलाई प्रयोगमा ल्याई अस्पतालको सम्पतिलाई संरक्षण गरियो । प्रिफ्याबको भवनमा थप HDU, नवजात शिशु कक्ष, परिवार नियोजन कक्ष, सामाजिक सेवा एकाई कक्ष, NCD Corner को बिस्तार गरियो । अस्पतालको प्रयोगशाला विभागलाई थप सवलीकरण र बिस्तार गरियो । अस्पतालप्रति स्थानीयबासीको विश्वास र भरोसा बढिरहेको छ ।

अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या कति छ ?
अहिले महिनाको सरदर ६/७ सय जनाले बहिरंग सेवा लिईरहेका छन् । ३०/५० जना अन्तरंग सेवामा, ८० देखि सय जनासम्म आकस्मिक कक्षमा सेवा लिन आउने गरेका छन् । विभिन्न उमेर समूहका बिरामीले अस्पतालमा सहज उपचार सेवा लिईरहेका छन् । बृद्धबृद्धामा फोक्सोको (दम रोग, निमोनिया, फोक्सोमा दाग, फोक्सोको बाहिरी झिल्लीमा पानी जमेको), मुटु रोग (हृदयघात, मुटुको चालमा गदबडी, प्रेसर, मुटु प्रयाप्त मात्रमा रगत फाल्न नसकेको), मधुमेह, नसा सम्बन्धी समस्या, पेट सम्बन्धी समस्या, केही मानसिक तथा दाँतका समस्या पाईन्छ । अस्पतालमा मधुमेह, नाक/कान/घाटीका समस्या, विभिन्न दुर्घटनामा परी सामान्य चोटपटकदेखि अंग–भंग भएको, रूघाखोकी/ज्वरो, सामान्यदेखि जटिल निमोनिया, पेट सम्बन्धी समस्या, जाँड–रक्सीले गर्दा कलेजो तथा मानसिक सन्तुलन बिग्रेको जस्ता समस्या लिएर पनि आउने गरेका छन् । त्यस्तै, बालबालिका तथा नवजात शिशुमा रूघाखोकी/ज्वरो, सामान्यदेखि जटिल निमोनिया, पेट दुखाई, असमान्य ज्वरो जस्ता समस्या पाईन्छ । गर्भवती तथा प्रसुति सम्बन्धी समस्या र परिवार नियोजन सम्बन्धी परामर्शका लागि दैनिक सेवाग्राहीको भिड देखिन्छ ।

अस्पतालमा कति जना कर्मचारी रहेका छन् ?
अस्पतालमा ४० भन्दा बढि कर्मचारी कार्यरत रहेका छन् ।

रसुवामा काम गर्दा खुशी हुनुहुन्छ ?
खुशी नै छुँ । सबैले सहयोग गर्नुभएको छ । काम गर्दा असहयोग अहिलेसम्म महशुस गरेको छैन । सेवाग्राहीलगायत यहाँका जनताबाट माया, मान–सम्मान निरन्तर पाईरहेको छु । त्यहीँ भएर होला काम गर्ने जागर कम भएको छैन । आफैंले भन्नुपर्दा म आएपछि यस जिल्लामा शल्यक्रिया सेवा सुचारू गरी आमा र बच्चाको मृत्युदर घटाउन ठूलो सहयोग पुगेको, साथै समग्र स्वास्थ्य सेवाको बिस्तार भएको, गुणस्तर अभिबृद्धि बढ्नुका साथै सेवाग्राहीको संख्यामा समेत उल्लेख्य बृद्धि भएको र समुदायमा सकारात्मक धारणाको विकास भएको पाएको छु ।

डाक्टरको नाताले रसुवाबासीलाई के भन्न चाहनुहुन्छ ?
सम्पूर्ण सेवाग्राहीले आ–आफ्नो स्वास्थ्यको हेरचाह आफैंले गर्नुपर्ने हुन्छ । हामी तपाईको सेवामा नियमित उपस्थित छौं । तर तपाईको स्वास्थ्य तपाईकै जिम्मेवारी भन्ने अवधारणालाई बिर्सिनुहुन्न । आफु स्वास्थ्य भएको/नभएको बुझ्नलाई समय समयमा अस्पतालमा आई चिकित्सकसँग आवश्यक परामर्श लिनुपर्छ । दिर्घरोगी तथा मानसिक रोगका बिरामीले नियमित औषधी सेवन गर्नुपर्छ । चिकित्सकको सल्लाह विपरीत कुनै औषधी सेवन गर्नुहुन्न र नियमित खाईरहेको औषधी छोड्नु पनि हुन्न । तपाई स्वास्थ्य सम्बन्धी कुनै परामर्शका लागि जुनसुकै बेला अस्पतालमा आउन सक्नुहुन्छ । आवश्यक परेमा टेलिफोनमार्फत मलाई ९८५१२५५४०७ मा कल गर्न सक्नुहुन्छ । हामीप्रति तपाईको विश्वासले नै हामीलाई थप उर्जा र हौसला प्रदान गर्छ, त्यसैले हामीलाई तपाईको निःस्वार्थ सेवाको मौका दिनुस् हामी तपाईलाई हाम्रो सक्रिय उपस्थितीको विश्वास दिलाउँछौं। सामान्य उपचारको लागि जिल्ला बाहिर जानुपर्दैन बिरामीले पाउनुपर्ने सेवा, सुविधामा अहिले सुधार भएको छ ।