पत्नीको सत्कार, रक्षा, कामोपभोगको नियम र सन्ततिको महत्व

  • त्रिशूली प्रवाह
  • १० फाल्गुन २०८०, बिहीबार १२:३०
  • आचार्य बासुदेव उपाध्याय नेपाल

वैदिक सनातन धर्म समाज ब्यवस्थामा चार वर्ण र चार आश्रमको ब्यवस्थित आचरणबाट सबैलाई सुख, शान्ति र सम्बृद्धि प्राप्त हुन्छ भन्ने मानिएको छ । सबैलाई आ–आफ्नो गुण र योग्यताअनुसार धर्मको अनुकुल रोजगारी प्राप्त हुन्छ । गरिवले पनि दुःख नपाउने अवस्था आउँछ । धनीले लोककल्याणको अनुकूल धनको प्रयोग गर्छन् । आफ्ना सन्तानको, चरित्रको, कुलको, धर्मको आफ्नो पनि रक्षा धर्मपत्नीको रक्षा भएमा मात्र हुन सक्ने हुनाले र सन्तति, धर्मकार्य, आफ्नो सेवा, उत्तम र निरापद रति तथा स्वयम्को र पितृको स्वर्गभोग पनि धर्मपत्नीका अधिनमा हुने हुनाले पतिले धर्मपत्नीको सत्कारपूर्वक रक्षा गर्ने कुरामा हाम्रा धर्म शास्त्रले जोड दिएको छ । धर्मपत्नीलाई अन्नपान–वस्त्राभूषणादिले सत्कार गर्नु भनेको लक्ष्मीको पूजा गर्नु सरह मानिएको छ । बलजफ्ती न भई युक्तिसंगत सुकर्ममा भुल्ने रमाउने गराएर धर्मपत्नीको रक्षा गर्नपर्ने र रक्षा गर्न सकिने कुरा मनुस्मृति आदि ग्रन्थमा उल्लेख छ । संयमित हुनु, सामान्यतया ब्रह्मचर्यको पालन गर्नु, सन्तानका कामनाले मात्र धर्मपत्नीको ऋतुकालमा ओंशी, एक भक्तका दिन, पर्व तिथी श्राद्धका दिन छोडेर अरू दिनका रात्रीमा शास्त्रमा उपदिष्ट वा अनिषिद्ध रितीले स्त्रीमा रतिक्रिडा गर्नु वैदिक सनातन वर्णा श्रमधर्मी गृहस्थका आदर्श हुन् । परस्पर प्रेममा डुबेर सद्धिचार लिएर उत्तम सन्तानको लाभ होस् भन्ने भावना गर्दै समागम गर्नाले उत्तम सन्तान जन्मन्छन् भन्ने ऋषिमुनिको उपदेश रहेको छ । धर्मपत्नीको रक्षाका लागि उनलाई सन्तुष्ट राख्न अन्नपान वस्त्राभुषणको प्रदानले, मिठा कुराकानीले र पत्नीको ईच्छानुसार रति सुख प्रदानले पतिले सदा प्रयत्नरत रहन पर्ने कुरा शास्त्रले देखाएको छ । हाम्रो धर्म शास्त्रमा धर्मपत्नी अर्को जन्ममा आमा भएर जन्मिने छिन् भनेर उल्लेख छ, हुन त यसै जन्ममा नै देखिसकेको कुरा हो, छोराछोरी भनेको आफ्नो अंश गएर त्यो क्षेत्रबाट आफै जन्मेको होनी गहिरेर हेर्दा बास्तविक कुरा पत्ता लाग्छन् । आफ्ना सन्ततिले गरेका यज्ञयागादि सुकर्मले पिता पुर्खालाई स्वर्ग सुख मिल्ने कुरा ऋग्वेदमा उल्लेख छ । पुत्तले पिता, मातालाई पुत् नामको नरकमा पर्नबाट बचाउने कुरा श्रुति स्मृति पुराणमा प्रतिपादित छ । छोरा नहुनेलाई दौहित्रले (छोरीका छोराले) तार्ने र सदाचारी सत्पात्र वरलाई कन्यादान गर्नाले ठूलो पुण्य प्राप्त हुनेकुरा शास्त्रमा वर्णित छ । प्रजापतिले आफ्नो सृष्टिचक्र चलाउनका लागि सन्ततिप्रतिको मायामोहको संस्कार सबै प्राणीमा राखिदिएको छ । प्रायः सबै प्राणी सन्ततिको चाहना राख्दछन् । विशेष मनुष्य सन्ततिबाट प्रत्युपकार हुने दृष्टिकोणले सन्ततिको उत्पादन पालन–पोषण शिक्षा, दिक्षामा विचारपूर्वक लाग्नुपर्छ । आफ्नो जाति, धर्म, संस्कृति परम्परा चलाउने दृष्टिले समेत वैदिक सनातन हिन्दु संस्कृतिमा सन्ततिको विशेष महत्व दिईएको हो । धर्मको अनुकूल आचरण गर्ने सन्ततिले पिता, माता बाजेको काजकिरिया गर्ने पिण्डपानी श्राद्ध नित्यतर्पण गर्ने र बाबुबाजेले गर्दै आएको सम्पूर्ण धार्मिक कार्यको शिरोभारो समेत लिने हुनाले वैदिक सनातन धर्ममा सन्ततिलाई अत्यन्तै महत्व दिईएको हो । त्यसैले कुलधर्म पालन नगर्ने सन्ततिलाई भने हाम्रो धर्मशास्त्रले खासै महत्व दिएको छैन । सत्य कुरा यही हो । हामीले त विवाहमा महा संकल्प पढेर वरपक्षको त्रिपुरुष कन्यापक्षको त्रिपुरुष, द्वादश परान् द्वादशवरान् आत्मनसहित २५ पुस्ताको मोक्ष मिल्ने कुरा तीनपटक गोत्र प्रवर देवता, अग्नी र ब्राह्मण साक्षी राखेर उच्चारण गरेर कन्यादान वैदिक मन्त्रोचारणपूर्वक गरिन्छ । कन्यादानलाई महादान भनिन्छ । अतः यसरी महादान दिएर लिएको विवाह गरिएको पति, पत्नीको सम्बन्ध जन्म जनमान्तरसम्म रहिरहन्छ, कहिले पनि सम्बन्धबिच्छेद हुँदैन भन्ने शास्त्रको निर्देश छ, पूर्वीय सभ्यता वैदिक जीवन पद्धतिमा ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता ।
यत्रैस्तास्तु नपूज्यन्ते सर्वातत्रा फला कृयाः।

जहाँ नारीको सम्मान र पूजा हुन्छ त्यहाँ देवता खुशी हुन्छन् । जहाँ नारीलाई अपमान गरिन्छ, नारीलाई पुँजीदैन त्यहाँ कुनै पनि कार्य सफल हुँदैनन् । त्यसैले मातृदेवो भवः मातृशक्ति देवता हुन् भनेको । अतः नारीले पनि लक्ष्मी जस्तै सच्चरित्रवान र मर्यादित बन्नुपर्छ भन्ने हाम्रो शास्त्रको निर्देश छ । जुन घरमा नारीको सम्मान, पूजा, सत्कार हुन्छ, त्यहाँ देवता रमण गर्दछन्, जहाँ नारीलाई हेला अनादर गरिन्छ त्यहाँ देवता खुशी हुँदैनन् भनिएको छ । पतिले कुनै कारणले धर्ममार्ग विराए भने पत्नीले नै पतिलाई धर्म मार्गमा ल्याउने र धर्मरूपी प्रजा उत्पन्न गर्न सक्ने क्षेत्र भएकोले धर्मपत्नी भनेको हो । पतिलाई धर्म–परमात्माको मार्गमा लैजाने पत्नीलाई धर्मपत्नी भन्दछन् । पतिलाई पत्नीले नै धर्म र मोक्षको मार्गमा लैजान सक्छिन् । आफ्ना पतिलाई जप प्रवृत्तिपट्टि लगाएर पापकर्मबाट रोक्न सक्ने पत्नीलाई साच्चिकैकी पत्नी भन्दछन् । त्यसैले हामी श्रीमतीलाई धर्मपत्नी भन्दछौं । बिना ईश्वरको र पितृको अनुकम्पा नभई असल पत्नी प्राप्त हुँदैन यो पनि प्रारब्धमा लिएर आउनुपर्छ । कतै–कहीँ अज्ञानता र द्वेषका कारणले यसरी वैदिक विधिपूर्वक धानका थुप्रामा दिप बत्ती बालेर नवबधुलाई उक्त बत्तीमाथि टकटक टेक्न लगाएर भित्र्याएको बुहारीलाई सासुले दासको रूपमा हेर्ने र नानाथरी आरोप र लान्छना लगाई हँदैसम्मको दुःख, पिडा दिने गरेको र बुहारीका माइती पक्षलाई होच्याउने बद्नाम गर्ने जस्ता अमानवीय ब्यवहार गरेको पाईन्छ । यसो गर्नु भनेको गम्भीर अपराध हो र नरकको काल–कोठरीमा जाकिने बाटो हो । अतः सासु–बुहारीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा पनि हाम्रो शास्त्रमा उल्लेख पाईन्छ । जुन घरमा सासुले बुहारीलाई रिस, डाहा र हेला गर्छे त्यो घरमा कहिले पनि शान्ति, प्रगति र कल्याण हुँदैन । बुहारीलाई राम्रो संस्कार दिएर लक्ष्मीको रूपमा स्विकार्न सक्नुपर्छ । खानपिन दुःख, सुखमा साथ दिएर अत्यन्त माया दिन जान्नुपर्छ, अन्यथा सासुको वरत्र र परत्र दुवै समाप्त हुन्छ भन्ने बुझ्नुपर्छ । पश्चिमाको वाईन खाएको बेलामा ल्याउँछन्, वाईन खाँदा छोड्छन् । त्यसैले उनीहरु वाईफ भन्छन् वाईन र वाईफको सम्बन्धले नै डिबोर्स गर्छन् । तडक–भडक मात्रमा भुलेर हुन्न भाई, गुण समलङकृत पार देहलाई । सबैलाई चेतना भयाँ !

विदुर–५ द्वारपाल देवीघाट, नुवाकोट ।

nepalbasudev98@gmail.com