पाञ्चायन मन्दिर निर्माण

भोलिदेखि प्राण–प्रतिष्ठा पूजा

  • त्रिशूली प्रवाह
  • १७ फाल्गुन २०८०, बिहीबार ११:५४

बट्टार, नुवाकोटको विदुर नगरपालिका–२ बट्टार मूलडिहीमा स्थानीयवासीको पहल र दाताको सहयोगमा शिव पाञ्चायन देवताको मन्दिर निर्माण सम्पन्न भएको छ । उक्त मन्दिरमा विधिपूर्वक भोलि शुक्रबारदेखि प्राण–प्रतिष्ठाको पूजा शुभारम्भ हुँदैछ ।

निर्माण सम्पन्न भएको पाञ्चायन देवता मन्दिरमा आरध्यदेव महादेव (शिव), गणेश, देवी, नारायण (विष्णु) र सूर्य देवताको प्राण–प्रतिष्ठा कार्यक्रमको तयारी पूरा भएको पाञ्चायन देवता प्राण–प्रतिष्ठा मूल समारोह समितिका अध्यक्ष एवम् संयोजक ठाकुरप्रसाद पुडासैनीले जानकारी दिए । समितिले मंगलबार पत्रकार सम्मेलन गरेर फागुन १८ गते शुक्रबार पूर्वाङ्ग, पितृदोष निवारण तथा रुद्री र विधिपूर्वक प्राण–प्रतिष्ठा पूजा शुभारम्भ गर्ने जानकारी गराएको छ । प्राण–प्रतिष्ठाको कार्यक्रमअनुसार फागुन १९ गते बिहान कलशयात्रा, नगर परिक्रमा, गंगास्नान र जलाधिवास फागुन २० देखि २४ गतेसम्म विभिन्न अधिवासनसहित प्राण–प्रतिष्ठा पूजा गरिनेछ । फागुन २५ गते महाशिवरात्रिको दिन प्राण–प्रतिष्ठा समापन हवनसहित प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाबाट मन्दिर पूजा समुद्घाटन हुने आयोजकले बताएको छ । पाञ्चायन देवता मन्दिर तथा उद्यान विकास संस्थाले मन्दिर र पर्यटकीय हरित उद्यान निर्माणका लागि चार करोड ८५ लाख लागत अनुमान गरेर आवश्यकताको सिद्धान्तअनुसार डिपिआरमा छुट भएका केही कार्यक्रम थप गर्दै परिमार्जन गरिने जानकारी आयोजकले दिएको छ । निर्माणका लागि सङ्घीय सरकारबाट नौ लाख ४५ हजार पाँच सय ९९, बागमती प्रदेश सरकारको ६५ लाख ५५ हजार चार सय ४५ रुपैयाँ, सहयोगी दाताबाट ६ लाख ४९ हजार तीन सय ४५ रुपैयाँ, जिन्सी तथा सेवाबापत तीन लाख ५६ हजार दुई सय रुपैयाँ गरी जम्मा ८५ लाख ६ हजार पाँच सय ८९ रुपैयाँ सङ्कलन भएको कोषाध्यक्ष तुलसीमाया वस्तीले सार्वजनिक गरिन् । सङ्कलन नगद र जिन्सीबाट पार्टी तथा मुख्य मन्दिर निर्माण तथा पुरातात्विक सौन्दर्यीकरण, जग्गा मिलाउनुपर्ने काम र विभिन्न किसिमको टेवा पर्खाल, घेराबारको काममा ८२ लाख ५६ हजार दुई सय ४२ रुपैयाँ खर्च भएर दुई लाख ५० हजार तीन सय ४७ रुपैयाँ बचत भएको विवरण सार्वजनिक गरिएको छ । बजेट अभावले मुख्य मन्दिरवरपर साना मन्दिरका बाहिरी पुरातात्विक सौन्दर्यका काम बाँकी रहेको बताइएको छ ।

०७७ भदौ १३ गतेबाट औपचारिकता पाएको धार्मिक तथा सांस्कृतिक पर्यटकीय महत्वको पाञ्चायन देवता मन्दिर निर्माण तथा उद्यान विकास संस्थाको योजनाले यही फागुन २५ गतेदेखि सार्थकता पाउँदै छ । मन्दिरको पूर्ण निर्माण र पूजा अर्चनाका लागि अक्षयकोष स्थापनार्थ सहयोग जुटाउन नगद तथा जिन्सी सहयोग गरी पुन्य आर्जन गर्न समितिले सबैमा अनुरोध गरेको छ । पाञ्चायन देवता मन्दिर निर्माण तथा उद्यान विकास संस्थाको १७ सदस्यीय कार्यसमिति रहेको छ । कार्यसमितिको अध्यक्षमा ठाकुरप्रसाद पुडासैनी, उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, सचिवमा रामजी भट्ट, सहसचिवमा शम्भुराम दाहाल, कोषाध्यक्षमा तुलसीमाया वस्ती र सदस्यमा भरतप्रसाद अधिकारी, रामप्रसाद मैनाली, नारायण न्यौपाने, रामकुमार डङ्गोल, विवेक लामिछाने, अर्जुनप्रसाद अधिकारी, नवराज कोइराला, संगीता वली, पार्वती न्यौपाने, राधा थापा, चण्डिका खतिवडा र उषा राई रहेका छन् । प्राण–प्रतिष्ठा समापन कार्यक्रममा अक्षयकोष स्थापना गर्न सहयोग पु¥याउने दाता र संस्थालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।