मजदुरीको कमाइबाट बलात्कारी र हत्यारालाई कहिलेसम्म पालिरहने ?

  • त्रिशूली प्रवाह
  • १ चैत्र २०८०, बिहीबार १४:२९
  • रामहरि बाजे

संसारले जेसुकै भनोस् जेसुकै गरोस् हाम्रो देशमा के–के गर्नुपर्छ हामीले नै आफैँ निर्णय गर्ने कानुन हामीले नै बनाएर देश चलाउनु जरुरी छ । अमेरिकाको गोडामुनि बसेर पूर्ण स्वावलम्बी बन्न सफल रहेको क्युवाले कहिल्यै पनि कसैलाई सोधेर कुनै नयाँ काम गर्दैन । हामीले पनि किन नगर्ने ? चुरो कुरो हामी स्वतन्त्र भएर पनि किन दास छौँ ? यहाँ बढेको अपराधीको भिडले देश डुब्दै छ । अब नयाँ कानुन बनाएरै बलात्कारी ज्यानमारालाई मृत्युदण्ड दिने र बाँकी कैदीको फौजलाई श्रम शिविरमा राखेर विकास र निर्माण कार्यमा लगाएर उसको उमेर समूह, योग्यता समूह, शारीरिक दक्षता, बौद्धिक दक्षतासमेतको तह छुट्याएर अलग्गै श्रम शिविरमा राखेर उनकै श्रमको कमाइले उनलाई नै दैनिक रासन–भत्ता दिएर उनको कैद कट्टा गर्ने गरी ऐन बनाएरै १० वर्षसम्ममा यो देशलाई सङ्कटकालीन ऐन नै बनाएर आधुनिक नेपालको पुनस्र्थापना गरौँ । माथिका गन्थन यो दाइजोमा पाएको र लादेको जडाउरी संविधानले हल गर्ने छाँटकाँट छैन । त्यसैले दुईपल्ट चुनाव गर्दा पनि जनताले ७७ वटै जिल्लाबाट दिएका जनमतका सुझावका पोका खोलेर हेर्नुको सट्टामा १२बुँदेको इसारामा लेखिएका (सर्टनोट) नेपाली नेताहरूको घाँटीमा लागेको पासोले गर्दा ७७ वटै जिल्लाबाट ल्याएको पोका खोल्नै दिएन । त्यसैले जनघाती–जनउत्तरदायी संविधान बन्यो । यो सत्यलाई कसैले बिर्सन हुँदैन ।

अहिले दक्षिणतिरको मित्रराष्ट्रमा ठूलै राजनीति र ठूलै आर्थिक परिवर्तन भइसकेकाले उसलाई साक्षी राखेर हिजो गरेको १२बुँदे राजनीति सहमतिको पासोले आज हाम्रा घाँटी कस्न मिल्ला ? अहिले देशको हरेक गाउँमा बच्चा र बूढाबूढी मात्र छन् । अल्छी र बुद्धिहीन युवा, नेताका झोले बिचौलिया बनेका छन् । नैतिकता, मानवता र कर्मका पुजारी जति सबैलाई तिनै धूर्त झोेलेले म्यानपावरसँग साँठगाँठ गरेर खेद्न बाध्य बनाएका छन् । यी बिचौलियाले केही गरौँ भन्ने युवालाई बाउबाजेदेखिको थातथलो भूमाफियाका हातमा सुम्पेर विदेशमा मजदुरीमा जान बाध्य बनाएका छन् । व्यवस्था परिवर्तन भयो, तर नेताकै वरिपरि रुँग्नेको मात्र अवस्था परिवर्तन भयो । जनताको गरिखाने अवस्था यो व्यवस्थाले मिलाइदिएन जसको कारण गाउँका सुन फल्ने पाखा–पखेरो सबै कौडीको मूल्यमा बेचेर जानुपर्ने बाध्यता परिरहेको छ । सहर बजारका ठूला बैंकमा धितो राखेर अर्बौँ निकालेर तस्करी गरी १५–२० जना तस्करले देशैभरिका जनतालाई जालमा पारेको ब्वाँसो प्रवृत्तिले आफूलाई जनवादी भन्ने नेतालाई गिज्याइरहेको छ । ठूला नेताकै आसेपासे र भ्रष्ट कर्मचारीले देश टाट पल्टाउने गरी ठूला–ठूला काण्ड गर्दा पनि सबै तैँ चुप, मै चुप बसिदिँदा विश्वमै उत्कृष्ट मानिएको गणतान्त्रिक व्यवस्था नेपालका लागि अफापसिद्ध बनिरहेको छ । यसबारे समयमै चेतना भया !

वि.न.पा.–४, विदुर, नुवाकोट मोबाइल नं. : ९८४९८५३१११