एसइईमा ३५ प्रतिशत अङ्क नल्याए फेल

एसइईमा ३५ प्रतिशत अङ्क नल्याए फेल
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर, नुवाकोट जिल्लामा यस वर्ष (२०८०) को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या र परीक्षा केन्द्र घटेको छ । यही चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने एसइई परीक्षामा गत वर्षभन्दा यस वर्ष दुई सय ७८ विद्यार्थी कम सहभागी हुँदै छन् । ०७९ को एसइई परीक्षामा ४३ सय विद्यार्थी सहभागी भएकामा ०८० मा ३९ सय २२ जना मात्र विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटले जानकारी दिएको छ ।

एसइई परीक्षाका लागि गत वर्ष २४ परीक्षा केन्द्र रहेकोमा यस वर्ष शक्ति मावि परीक्षा केन्द्र प्राविधिक कारणले काटिएको जानकारी कार्यालयले दिएको छ । २३ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी एसइईको परीक्षार्थी रुक्मणी मावि दुप्चेश्वर गाउँपालिका समुन्द्रटारमा र सबैभन्दा कम ज्ञानज्योति मावि किस्पाङ गाउँपालिका फिकुरीमा रहेको शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका परीक्षा शाखा प्रमुख सम्झना थपलियाले जानकारी दिइन् । यस वर्ष एसइई परीक्षा दिनेमा संस्थागत विद्यालयतर्फ सबैभन्दा बढी अर्किड बोर्डिङ स्कुल बट्टारका ७९ जना र सामुदायिक विद्यालयतर्फ पृथ्वी मावि विदुरका ७६ जना विद्यार्थी रहेका छन् । परीक्षा केन्द्रका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिएर परीक्षाको अन्य तयारी शिक्षा विकास तथा समन्वय इकाइले गरिरहेको छ । परीक्षालाई मर्यादित व्यवस्थित रूपमा सञ्चालन गर्न सरोकारवाला निकायसँग कार्यालयले समन्वय गरिरहेको छ ।यस वर्षदेखि लागू हुने गरी राष्ट्रिय परीक्षा बोर्डले एसइई उत्तीर्ण गर्नका लागि नयाँ नियम लागू गर्ने निर्णय गरेको छ । उक्त नियम कार्यान्वयन भए विद्यार्थीले ३० प्रतिशत लिखितमा र ४० प्रतिशत अङ्क आन्तरिक तथा प्रयोगात्मक परीक्षामा ल्याउनुपर्नेछ । एसइई नजिकिएसँगै विद्यार्थीमा पढाइको दबाब बढिरहेको छ । अझ यसपटक राष्ट्रिय परीक्षा बोर्डले नयाँ नियम लागू गर्ने निर्णय गरेसँगै विद्यार्थी थप दबाबमा परेका छन् । विगत वर्षमा ‘बी’ ग्रेडभन्दा कमका विद्यार्थीले पनि ११ र १२ कक्षामा पढ्न पाउँथे । तर, परीक्षा बोर्डको निर्णयअनुसार अब भने यो मौका पाउनेछैनन् । ११ र १२ कक्षामा अध्ययन गर्नका लागि हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने भएको छ । यदि योभन्दा कम अङ्क ल्याएमा माथिल्लो तहमा अध्ययन गर्न नपाइने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनका अनुसार यसपटक विद्यार्थीले लिखितमा ३० प्रतिशत र आन्तरिक तथा प्रयोगात्मक परीक्षामा ४० प्रतिशत ल्याउनैपर्छ । ‘नयाँ ग्रेडिङ प्रणाली लागू गरेपछि यति नम्बरचाहिँ ल्याउनैपर्छ, पुरानो ग्रेडिङ प्रणाली अन्तर्राष्ट्रियस्तरको थिएन, त्यसकारण हामीले यसपटकदेखि उक्त स्ट्यान्डर्ड मेन्टेन गर्न खोजिरहेका छौँ,’ बोर्डका अध्यक्ष शर्माले भने, ‘विद्यार्थीले यसपटक नयाँ करिकुलमअनुसार परीक्षा दिने भएकाले नतिजामा पनि सुधार हुन सक्छ भन्ने अनुमान छ ।’ १५ चैतदेखि सञ्चालन हुने एसइई परीक्षामा यसपटक देशभरका पाँच लाख विद्यार्थी सामेल हुँदै छन् । परीक्षा नजिकिएसँगै बोर्डले तयारी तीव्र पारेको जनाएको छ ।

बोर्डका अध्यक्ष शर्माका अनुसार ‘कट अफ प्वाइन्ट’ ३५ प्रतिशत कायम गरिएकाले यो अङ्क ल्याउनैपर्छ । अन्यथा फेल भएको मानिने छ । विगतको ग्रेडिङ प्रणालीले विद्यार्थीलाई सहज भएको थियो । तर, सिकाइस्तर भने कमजोर बनेको थियो । सहजै उत्तीर्ण भइन्छ भन्ने मानसिकताका कारण विद्यार्थीले पुग्दो तयारी गरेका थिएनन् । जसका कारण हाल ११ र १२ कक्षामा शिक्षाशास्त्र तथा मानविकी सङ्काय अध्ययन गर्नेमध्ये अधिकांश कमजोर विद्यार्थी छन् । तर, अर्को वर्षदेखि नै ११ र १२ कक्षाका सबैजसो सङ्कायमा कम्तीमा पनि पढाइमा मध्यस्तरका विद्यार्थी प्रवेश गर्नेछन् । जसका कारण समग्र नतिजामा सुधार हुनेछ । विगतमा १.६ जिपिए ल्याउने पनि उत्तीर्ण हुने व्यवस्था थियो । तर, ती विद्यार्थी सामुदायिक विद्यालयमै पढ्न जाने भएकाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किँदो थियो । विगतका वर्षमा भन्दा यसपटक बोर्डले परीक्षामा पनि फरक नियम लागू गर्ने भएकाले विद्यालयले पनि सोहीअनुसार विद्यार्थीलाई सामेल गराएका छन् । नयाँ नियम तथा पाठ्यक्रमअनुसार विद्यार्थीलाई नियमित तथा अतिरिक्त कक्षा सञ्चालन गरिरहेका छन् । नेपालमा ०७२ सालदेखि एसइईमा ग्रेडिङ सिस्टम लागू भएको थियो । यो सिस्टममा १.६ जिपिए ल्याउनेसम्मका विद्यार्थीले माथिल्लो तह अध्ययन गर्न पाउँथे ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह