स्वास्थ्यचौकीमा सेवा प्रवाहको अनलाइन रेकर्ड

  • त्रिशूली प्रवाह
  • ८ चैत्र २०८०, बिहीबार १३:०४

धुन्चे, रसुवाको ग्रामीण भेगमा नियमित स्वास्थ्य सेवा सुविधाका लागि जिल्लाको पाँचवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीबाट सेवा लिन आउनेको अनलाइन रेकर्ड राख्ने तयारी भइरहेको छ ।

स्वास्थ्य कार्यालय रसुवाका प्रमुख भीमसागर गुरागाईंका अनुसार जिल्लाभरकै स्वास्थ्यचौकीबाट सेवा लिनेको अनलाइन रेकर्ड राख्न आवश्यक तयारी गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ । अस्पतालले दिइरहेको सुविधालाई अझै व्यवस्थित बनाउँदै लान अनलाइन रेकर्ड सेवा पनि दिन लागेको उनले बताए । जिल्ला अस्पताल धुन्चेमा बिरामी आइसकेपछि सकभर बिरामीलाई जिल्लाबाहिर रिफर गर्न नपरोस् र व्यवस्थित रूपमा जनताको सेवा गर्न पाइयोस् र गाउँका बिरामीलाई छिटो अस्पताल पुगी छिट्टै उपचार पाउन् भन्नका लागि एम्बुलेन्सको व्यवस्थासमेत रहेको र इमर्जेन्सी र (सघन उपचार कक्ष) व्यवस्थापन, अन्तरंग कक्षको बेड बिस्तार, नयाँमा रूपान्तरण शल्यक्रिया कक्षको निर्माणका पूर्वाधारसमेत तयार भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमितकुमार शाहले जानकारी दिए । यस्तै, आमाछोदिङ्मो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निमानुर्पु तामाङका अनुसार स्वास्थ्य शाखामा उपचार गर्न आउने सेवाग्राहीको अभिलेख कम्प्युटरमा राखेर प्रमाणका लागि प्रिन्ट दिने गरिएको छ । हाकुको पाङसिङ, ग्रे गाउँ, ठूलोहाकुको स्वास्थ्यचौकी, गत्लाङ, थाम्बुचेत, गोल्जुङ स्वास्थ्य एकाइ केन्द्रमा कम्प्युटरमार्फत अनलाइन सेवा सुरु भइसकेको छ । यसरी अनलाइन सेवा सुरु गरेपछि ग्रामीण भेगका आममानिसलाई सरल र सहज हुने विश्वास लिएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

जिल्ला अस्पताल धुन्चेमा भने गत वर्षदेखि अनलाइन सेवा सुरु गरेको छ भने चाँडै नै जिल्लाभरि नै स्वास्थ्यचौकीमा लागू गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख गुरागाईंले जानकारी दिए । यस्तो गर्दा आवश्यक परेको खण्डमा खोज्न सहज हुने कुन रोगको उपचार भो थाहा पाइने कुन औषधि प्रयोग भएको छ थाहा पाउन सकिन्छ ।