लक्ष्मीनारायणको वार्षिकोत्सवमा रथयात्रा र अविर जात्रा

  • त्रिशूली प्रवाह
  • १४ चैत्र २०८०, बुधबार १४:३२

विदुर, सदरमुकाम विदुरमा रहेको लक्ष्मीनारायण मन्दिरको आइतबार वार्षिकोत्सव सम्पन्न भएको छ । फागुपूर्णिमाको दिन हरेक वर्ष लक्ष्मीनारायणको वार्षिकोत्सव हुने गरेको छ । उक्त दिन विदुरबासीले रथयात्रा गरी होली पर्व समेत मनाउँदै आएका छन् ।

फागुपूर्णिमाको अवसरमा धार्मिक अनुष्ठान गरी पञ्चेबाजासहित प्रतिनिधीसभा सदस्य एवं पूर्व मन्त्री नेपाली काँग्रेसका केन्द्रिय नेता अर्जुननरसिंह केसी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत स्थानीयसहित रथयात्रामा सरिक हुनुभएको थियो । उक्त रथलाई सदरमुकाम विदुर क्षेत्रका सबै स्थान परिक्रममा गराई पुनः मन्दिरमा पु¥याएर बिसर्जन गरिएको थियो । मन्दिर संरक्षण समितिका अध्यक्ष मनोरथ श्रेष्ठले मन्दिरमा कर्ता भएर ब्रम्हाणसहित होम तथा पूजा सम्पन्न गर्नुभएपछि रथयात्रा शुरू भएको थियो । प्रत्येक वर्ष फागुपूर्णिमाको दिन लक्ष्मीनारायण मन्दिरको वार्षिकोत्सव, महास्नान र रथयात्रा कार्यक्रम गर्दै आएको समितिका सचिव नवराज पाण्डेले जानकारी दिए । श्रद्धालु भक्तजनले रथ तथा मन्दिरमा पूजाआजा गर्न भिड लागेको थियो । रथयात्राले सकारात्मक सोचाईको विकास गराउँछ भने सबै जाति, वर्ग, समुदाय तथा धर्मावलम्बीको सहभागिताले पारस्पारिक सद्भाव, धार्मिक सहिष्णुता समेत कायम गर्न सहयोग पुग्दै आएको रथयात्रामा अगुवाई गरेका स्थानीय विदुर सिटी युवा क्लबका अध्यक्ष सुनिल श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।