१० करोड ३३ लाखमा विदुरका लागि समवेल प्रविधिको वैकल्पिक खानेपानी योजना

  • त्रिशूली प्रवाह
  • १५ चैत्र २०८०, बिहीबार १२:०६

विदुर, वर्षौँदेखि वर्षायाममा खानेपानीको समस्या झेल्दै आएका विदुरवासीलाई खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले विस्तारित खानेपानीको आयोजना सुरु गरेको छ । सिएबी निर्माण नामक संस्थाले वर्ष दिनभित्रमा १० करोड ३३ लाख लागतमा आयोजना निर्माण सम्पन्न गर्ने जनाएको छ ।

चैत ७ गते बुधबार विदुर नगरपालिका–२ शेराको तादी खोलाको किनारमा निर्माण हुन लागेको समवेल प्रविधिबारे उपभोक्ता संस्थाका पदाधिकारी र अन्य सरोकारवालालाई जानकारीमूलक प्रस्तुतीकरण कार्यक्रम गरिएको थियो । समवेल प्रविधिको देशभरकै पहिलो ठूलो मात्राको स्तरोन्नति खानेपानी आयोजना सञ्चालनसम्बन्धी विस्तृत प्रस्तुतीकरणसमेत सो कार्यक्रममा गरिएको थियो । खानेपानीको स्रोतदेखि उपभोक्तासम्म खानेपानीको सुरक्षालाई सुनिश्चित गर्न थप विस्तारित योजना सुरु गरिएको विदुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले बताए । आयोजनाबाट विदुर नगरपालिका क्षेत्रमा विस्तार भएका संस्थाका उपभोक्तालाई निरन्तर शुद्ध खानेपानी पु¥याउन सहयोग पुग्ने दाबी उनले गरे । ‘वर्षायाममा फलाखु खोलाको मुहानमा बाढी र पहिरोको क्षतिबाट अवरुद्ध हुने समयमा दश मिनेटमा तादी खोलाको किनारमा निर्माण हुने समवेल प्रविधिबाट पानी आपूर्ति हुनेछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘आयोजना निर्माण सफल भएपछि पिपलटार क्षेत्रका उपभोक्ताले झेल्दै आइरहेको धमिलो खानेपानीको समस्या मुक्त हुनेछ । वर्षायाममा फलाखु खोलाको मुहानमा बाढी र पहिरोको क्षतिबाट खानेपानी अवरुद्ध हुने समयमा १० मिनेटमै तादी खोलाको पानी बट्टार र विदुरमा रहेको ट्यांकीमा खानेपानी आपूर्ति भई तीन सय ६५ दिनै वितरण गर्न सकिनेछ । साथै, वडा नम्बर-९ को प्लास्टर क्षेत्रमा पनि खानेपानी उपलब्ध गराउन सकिन्छ ।’

विवादरहित ढङ्गले गुणस्तरीय तरिकाले निर्माण कार्य सम्पन्न गरी उपभोक्ताले वर्षभरि नियमित रूपमा खानेपानी उपभोग गर्न सकिने भएकाले निर्माण कार्यमा सहजीकरण गर्न अध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन् । असारदेखि असोज महिनासम्ममा विदुरवासीको खानेपानी असुरक्षित हुँदै आएको खानेपानी वितरणलाई यस आयोजनाले वर्षायाममा खानेपानी सुनिश्चित गर्ने उनले बताए । संस्थाका कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले खानेपानी आयोजना नयाँ नभई आयोजनाको विस्तारित रूप भएकाले भ्रममा नपर्न सरोकारवाला र उपभोक्तासमक्ष अनुरोध गरेका छन् । आयोजनाको निर्माण अर्को सातादेखि सुरु हुने प्रमुख तिमिल्सिनाले जानकारी दिए । आयोजनाअन्तर्गत दुई सय र तीन सय घनमिटरको ट्यांकी निर्माण गरिनेछ भने एक ट्यांकी फिल्टर प्रविधि माध्यमबाट पिपलटार क्षेत्रमा खानेपानी वितरण गरिनेछ । तादी खोलादेखि बट्टारमा रहेको ट्यांकीसम्म ११ किलोमिटर ८४ मिटरको पाइपलाइन बिछ्याइने उल्लेख छ । ०५३ सालमा स्थापना भएको संस्थाले विदुर नगरपालिकाको वडा नम्बर– १, २, ४, ५, ६, ८ र ९ को सातैवटा वडाको चार हजार पाँच सय घरधुरीका २५ हजार जनसङ्ख्यालाई खानेपानी सेवा पु¥याउँदै आइरहेको छ ।