चिलिमे-त्रिशूली २२० केभी प्रसारण आयोजना वैशाखभित्र सञ्चालनमा ल्याउने

२८ किलोमिटर प्रसारणलाइनमध्ये ११ किलोमिटर तार तानियो ७५ टावरमध्ये ६५ को जग हालियो, ५९ वटा टावर खडा

  • त्रिशूली प्रवाह
  • १५ चैत्र २०८०, बिहीबार १२:३०
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवा र नुवाकोटमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानीमा जर्मन विकास बैंकका (केएफडब्लू) को अनुदानमा निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण आयोजना वैशाखभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणको काम भइरहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी)को आयोजनामा सहुलियतपूर्ण ऋण रहेको छ ।

जर्मनी तथा युरोपेली युनियनको टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन आयोजनाको गत हप्ता स्थलगत अनुगमन गरेर निर्माणको जानकारी लिएका छन् । जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिटको नेतृत्वमा युरोपेली युनियन, जर्मन विकास बैंक (केएफडब्लू) का प्रतिनिधि सम्मिलित टोलीले शनिबार आयोजनाअन्तर्गत निर्माणाधीन प्रसारणलाइन र सबस्टेसनको अनुगमन गरी निर्माण प्रगतिको जानकारी लिएको हो । चिलिमे–त्रिशूली २२० केभी प्रसारण आयोजनाको अनुगमन आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हब र त्रिशूली थ्री ‘बी’ हब सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । साथै, चिलिमे हबदेखि त्रिशूली थ्री ‘बी’ हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारणलाइन निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवा र नुवाकोटभित्र बग्ने त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे–त्रिशूली २२० केभी प्रसारणलाइन र चिलिमे तथा त्रिशूली थ्री ‘बी’ हब सबस्टेसन निर्माण गरिएको हो । अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बंैक (केएफडब्लू) को अनुदान छ । त्रिशूली थ्री ‘बी’ हब सबस्टेसन र प्रसारणलाइन निर्माणको अनुगमन गरी टोलीले नेपाल विद्युत् प्राधिकरण र आयोजना व्यवस्थापनसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मिति, ऊर्जा क्षेत्रमा थप लगानीको सम्भावनालगायतका विषयमा छलफल गरेको थियो ।

टोली प्रमुख गिजेला ह्याममरस्मिटले जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा पर्ने आयोजना निर्माण सम्पन्न हुने चरणमा पुग्नु ज्यादै खुसीको कुरा भएको बताइन् । नेपालको ऊर्जा क्षेत्रको विकासमा थप अनुदान दिन तयार रहेको प्रतिबद्धता जनाउँदै उनले लगानी आवश्यक पर्ने क्षेत्र पहिचान गरी प्रस्ताव गर्न प्राधिकरणलाई आग्रह गरिन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन र प्रसारणलाइन आगामी वैशाखको दोस्रो साताभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका काम भइरहेको टोलीलाई जानकारी गराएका थिए । भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भिरैभिर रहेको र सडक पनि नभएकाले ढुङ्गा, गिटी, बालुवा, टावरका सामान पनि मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढी–पहिरो, ठेकेदारको कमजोर कार्य सम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड– १९ लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ ।

प्रसारणलाइन समुद्री सतहबाट ६ सय ८० देखि दुई हजार ६ सय मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नुपर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ । ‘निर्माणमा केही ढिलाइ भएकोमा लगानीकर्ताबाट विगतमा बारम्बार चासो र चिन्ता व्यक्त भइरहेको थियो, तर निरीक्षण भ्रमणका क्रममा कामले गति लिई उल्लेख्य प्रगति हासिल गरेको र भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा आयोजनाको काम भइरहेको देखेर टोलीले खुसी व्यक्त गर्दै यसको प्रशंसा गरेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने । आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तीव्रता दिन निर्देशन दिँदै कार्यकारी निर्देशक घिसिङले पछिल्लोपटक निर्माण सम्पन्न गर्न तय गरिएको समय–सीमाबाट कोही पनि उम्किन नपाउने बताए । ‘आयोजना निर्माण सम्पन्न हुने समय–सीमा दातृ निकायको पनि ठूलो चासो र चिन्ता छ, यही लाइनमा जोडिने ११० मेगावाटको रसुवागढी जलविद्युत् आयोजना तयारी अवस्थामा छ, लाइन बनाउन सकेनौँ भने विद्युत् खेर फाल्नुपर्ने अवस्था छ,’ घिसिङले भने, ‘यो या त्यो बहाना बनाएर अब कोही उम्किन पाउँदैन, सबै जिम्मेबार भएर अन्तिम प्रयास गरौँ, हाम्रोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्नेछौँ ।’

कुल २८ किलोमिटर प्रसारणलाइनमा पर्ने ७५ वटा टावरमध्ये ६५ वटाको जग हालिएको छ । बाँकी रहेका १० टावरको जग हाल्ने काम भइरहेको छ । ५९ वटा टावर खडा गरिएको छ भने तीनवटाको काम भइरहेको छ । ११ किलोमिटर तार तानिएको छ भने खडा गरिएका टावरमा तार तान्ने काम भइरहेको छ । चिलिमे–त्रिशूली थ्री ‘बी’ हब प्रसारणलाइनअन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री ‘बी’ हबसम्म आठ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियन कम्पनीको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो । माथिल्लो त्रिशूली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम व्यहोर्नेछ । प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनिजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसदेखि कार्यान्वयनमा आएको हो ।