धुन्चे । भोटेकोशी–त्रिशूली नदीमा गत भदौ १० गते आएको विध्वंसकारी हिमबाढीका कारण नुवाकोट र रसुवा जिल्लाका नदीतटीय क्षेत्रबाहेक अन्य क्षेत्र भ्रमणका लागि सुरक्षित रहेका छन् । होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ नुवाकोट र होटेल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाले हाल बाढीपछि सिर्जित असहज परिस्थिति क्रमशः सामान्य भइसकेकाले अवस्था क्रमशः सहज हुन थालेको बताएका छन् ।


बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, वेत्रावती, तुप्चे, सोले, त्रिशूलीबजार, ढुङ्गे, देवीघाट बजारलगायतका क्षेत्रमा जनजीवन, व्यवसाय तथा पर्यटन गतिविधि प्रभावित भएको छ । बाढीपछि स्थानीय प्रशासन, स्थानीय तह तथा सुरक्षा निकायको निरन्तर प्रयासबाट अवरुद्ध भएका मुख्य राजमार्ग खुल्ने चरणमा रहेको तथा कतिपय स्थानीय सडकखण्ड खुलिसकेको व्यवसायीले बताएका छन् । बगरमा परिणत भएको क्षेत्रबाहेक अन्य ठाउँमा सडक यातायात सहज भएसँगै दैनिक उपभोग्य वस्तुको आपूर्ति, बजार, व्यापार-व्यवसाय तथा अन्य सेवा पनि नियमित रूपमा सञ्चालन हुन थालेको छ । अवस्था क्रमशः सहज हुन थालेपछि सङ्घले विज्ञप्ति जारी गरी नुवाकोट, रसुवा तथा आसपासका व्यापार, पर्यटन क्षेत्रको पुनस्र्थापना र प्रवद्र्धनमा सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको हुँदा देश-विदेशमा रहेका सम्पूर्णलाई प्रभावित क्षेत्रको भ्रमण गरी स्थानीय पर्यटन तथा व्यवसायलाई सहयोग गरिदिन अनुरोध गरेको छ ।

पर्यटकीय गतिविधि, व्यावसायिक काम वा व्यक्तिगत यात्राका लागि नुवाकोट तथा रसुवा आउन चाहनेलाई अनावश्यक डर, त्रास वा द्विविधा नराख्न होटेल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले अनुरोध गर्नुभएको छ । आधिकारिक सूचना तथा सम्बन्धित निकायको निर्देशनलाई आधार बनाई आफ्नो नियमित यात्रा, व्यवसाय तथा पर्यटकीय गतिविधिलाई अगाडि बढाउन सकिने अवस्था रहेको उहाँले दाबी गर्नुभएको छ । बाढीपछि धादिङको पृथ्वी राजमार्ग गल्छीदेखि देवीघाट-ढुङ्गे-त्रिशूली-वेत्रावती सडक सञ्चालनमा आइसकेको छ । वेत्रावतीमा बेलिब्रिज असोजभित्रै जडान हुने र स्याफ्रुबेँसीमा पनि बेलिब्रिज जडानको तयारी भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।





प्रतिक्रिया