सहकारी दिवसमा विदुरका सात सहकारी सम्मानित

  • त्रिशूली प्रवाह
  • २२ चैत्र २०८०, बिहीबार ११:२७

विदुर, नेपालमा सहकारी स्थापना भएको ६७ वर्ष पुगेको छ । ०१३ चैत २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष सहकारी दिवस मनाइने गरिएको छ । यो वर्ष पनि मंगलबार देशभर ६७औँ सहकारी दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न भएका छन् ।

नुवाकोटमा पनि मंगलबार ६७औँ सहकारी दिवसको अवसरमा विविध कार्यक्रम जिल्ला सहकारी सङ्घको आयोजनामा सम्पन्न भएको छ । दिवसको अवसरमा विदुर नगरपालिकाले उत्कृष्ट सात सहकारीलाई सम्मान गरेको छ । विदुर नगरपालिकाको सहकारी शाखाले मंगलबार विदुरमा आयोजना गरेको ‘६७औँ राष्ट्रिय सहकारी दिवस’को अवसरमा सेवा प्रवाह र सुशासन तथा पारदर्शिता मापनका आधारमा उत्कृष्ट छनोट गरेर कृषि विधाका तीनसहित सात सहकारीलाई सम्मान गरिएको नगर प्रमुख राजन श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । सम्मानित हुने सहकारीमा अक्कलादेवी कृषि सहकारी, मिलन महिला कृषि सहकारी, निर्माण कृषि सहकारी, सक्षम बहुउद्देश्य सहकारी, उत्तरगया बचत तथा ऋण सहकारी, रुपिन्देवी बचत तथा ऋण सहकारी र काफलगेडी बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
चालू आर्थिक वर्षमा नियामकीय सुशासन पूरा गरेका नगरपालिका वडा नम्बर-४, ५, ७, ९, १० र १३ का सहकारी संस्थालाई सहकारी दिवसको अवसर सम्मान गरिएको नगर सहकारी शाखा प्रमुख नानीमैया नेपालले जानकारी दिइन् । सहकारी संस्थाको उद्देश्यअनुरूप सेवा प्रवाह, आन्तरिक लेखा प्रणाली, वार्षिक गतिविधि, बचत तथा ऋण प्रवाह र कर्जा सुरक्षणमको अवस्थासहित स्थलगत अनुगमनबाट प्राप्त अङ्कको आधारमा उत्कृष्ट सहकारीको रूपमा छनोट भएको हो । उत्कृष्ट भएका सहकारीले विदुर नगरपालिकासहित जिल्लाभर नै सेवा पु¥याउँदै आइरहेका छन् । तथ्याङ्कअनुसार विदुर नगरपालिकामा कुल एक सय १५ सहकारी सञ्चालनमा रहेका छन् । चालू आर्थिक वर्षमा बट्टार सहकारीले सबैभन्दा बढी १५ हजार रुपैयाँ कर तिरेको छ ।