सामरी (नुवाकोट). आँट र भरोसा हुनेलाई व्यवसाय गर्न भौगोलिक विकटताले छेक्न सक्दैन भन्ने उदाहरण बनेकी छिन् सुमित्रा तामाङ । निर्माणाधीन मध्यपहाडी राजमार्गअन्तर्गत म्यागङ गाउँपालिका–५ को सामरीभञ्ज्याङ (सामरीबजार)मा उनले गत असारदेखि सञ्चालनमा ल्याएको बेकरीले गाउँमै युवा रोजगारीको सिर्जना गरेको छ । बेकरी परिकारको प्रयोग बढ्दै जाँदा बजारमा केक, ‘कुकिज’, पाउरोटी, ‘कपकेक’ जस्ता मिठा परिकार बनाउने उद्योगको सङ्ख्या बढ्दो छ । यसैक्रममा ‘सुमी केकघर’ ग्रामीण भेगमा नमुना नै बनेको छ ।
उनको केकघरमा ६ सय रुपैयाँ पर्ने केकदेखि प्रतिपाउन्ड दुई हजार तीन सय रुपैयाँसम्म पर्ने ‘स्ट्यान्डर्ड’देखि ‘प्रिमियम’ क्वालिटीको केक उपलब्ध छ । ‘जन्मदिन भन्नेबित्तिकै धेरैलाई केकको याद आउँछ । तर, गाउँघरमा बेकरी उद्योग नहुँदा जन्मदिनलाई मनाउन केक विदुर नगरपालिकाको कोलनीदेखि ल्याउने बाध्यता थियो,’ उनी भन्छिन्, ‘दिउँसो ल्याएको केक छरछिमेक, आफन्तले बुबाको पसलको ‘डिपफ्रिज’मा राख्दा केक स्वरूपनै बिग्रने, न स्वाद, न आकार देखेर गाउँमै ताजा परिकार खुवाउन बेकरी खोलेकी हुँ ।’ करिब १० वर्ष अन्तर्राष्ट्रिय हवाई सेवा ‘कतार एयरलाइन्स’मा कार्य गरेकी सुमित्रा सुविधासम्पन्न जीवनयापनपछि माइती आएर करिब १० लाख रुपैयाँ लगानी गरेर बेकरी उद्योगमा स्थापित हुँदै छिन् । एयरलाइन्समा काम गर्दा कामदारको रूपमा काम गरियो । अरूको काम गर्दा स्वतन्त्र नहुने । आफैँ व्यवसायी वा उद्यमी भएर गाउँघरमा रोजगारी दिन सकिने मनसायले बेकरीमा लागेको उनले बताइन् । उनको पतिको पनि नारायणगढमा बेकरी छ । स्थापित ‘सवारी बेकरी’का सञ्चालक रहेका पतिबाट बेकरीका परिकार बनाउन सिकेको सीप सदुपयोग गर्दै उनले अहिले बेकरी उद्योग सञ्चालन गरेकी हुन् । स्वलगानी गरी खोलेको बेकरी उद्योगबाट आसपासका गाउँमा बेकरी उत्पादनका परिकार बिक्री गरेर आम्दानी गर्दै छिन् । बेकरीमा २० भन्दा बढी ‘फ्लेवर’का केक बन्छ । तर, गाउँघरमा केक भन्नेबित्तिकै ‘ब्ल्याक फोरेस्ट’, ‘भेनिला’लगायत चार किसिमको मात्र चिनिन्छ, ‘अर्डर’ हुन्छ । अन्य स्वादका केकको स्वाद लिनका लागि आफैँ ग्राहकलाई बुझाउने र अनुरोध गर्ने गरेको उनले बताइन् । उनलाई बेकिङमा खुबै रुचि छ । व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानबाट समेत एकमहिने बेकरीको तालिम लिएकी उनले बेकरीमा दुईजनालाई रोजगारी दिएकी छिन् । केही समयपछि ‘डेलिभरी’ सेवा विस्तार गर्ने उनको भनाइ छ । त्यसपछि थप एकजनालाई रोजगारी दिने उनको योजना छ । ‘बेकरीको तालिम दिन आफू सक्षम रहेकी छु । वैदेशिक रोजगार जानेलाई झनै सहज हुन्छ बेकरीको सीप, तर यहाँ तालिम लिनेको कमी छ,’ उनले भनिन्, ‘विदेशमा बेकरीको सीप भएका व्यक्तिको तलब पनि राम्रो, काम पनि राम्रो हुन्छ, काम पाउन सहज हुन्छ ।’ ‘केक सुरक्षित रूपमा पुग्नुपर्छ । डेलिभरी गर्दा वा ग्राहकले स्वयम् केक लग्दा होसियारपूर्वक लैजान भन्छौँ, उहाँहरूलाई सहयोग पनि गर्छौँ,’ उनले भनिन् ।
स्वास्थ्यमा निकै सजग रहेकी उनले भनिन्, ‘जंकफुड’ चाउचाउ, बिस्कुटभन्दा बेकरी उत्पादनका ताजा दुनोट, केक, पाउरोटीलगायतका खाद्य परिकार लाभदायक हुन्छ । खाद्य परिकारमा गुणस्तर निकै महत्वको पक्ष हो । उच्च गुणस्तरले व्यवसायी र ग्राहक दुवैलाई लाभ हुन्छ । बेकरीमा डाल्डा घिउको प्रयोग गर्दिनँ । ताजा क्रिम प्रयोग गर्छु ।’ बेकरीलाई आवश्यक क्रिम नेपालमा पनि बन्छ । तर, चाँडै फाटिने, स्वाद बिग्रने हुन्छ । प्रायः भारतमा बनेकोचाहिँ राम्रो छ । केकलाई आवश्यक अण्डाका लागि ‘पोल्ट्री’ व्यवसाय पनि सुरु गर्ने सोचमा रहेको उनले बताइन् । गाउँमै बेकरी खोल्दा ताजा परिकारको कारण जिब्रोले पनि स्वाद फेर्न मौका पाएको छ । ग्रामसेवा विद्याश्रम माध्यमिक विद्यालय नजिक भएर पनि दैनिक कारोबारमा सहज भएको छ । गाउँका विद्यालयमा उनले उत्पादन गरेका परिकार खाजाको रूपमा बिक्ने गरेको छ । कतिपय विद्यालय, सङ्घ÷संस्थाले समय–समयमा अर्डर नै दिने गरेको उनले जानकारी दिइन् । ‘अहिले खासै बजार प्रवद्र्धन गरेको छैन,’ उनले भनिन्, ‘विज्ञापन नगरे पनि बेकरीले म्यागङ गाउँपालिकाका सबै क्षेत्र र धादिङ जिल्लाको सिमाना क्षेत्र सेमजोङ, चौतारा, टिकडुङ, घोप्टिनी, थपुलगायतका स्थानसम्म सेवा दिँदै आइरहेकी छु ।’ समाजसेवामा पनि उत्तिकै लागेकी सुमित्राले स्थानीय विद्यालय, खेलकुदलगायतका कार्यक्रममा समय–समय सहयोग गर्दै आइरहेकी छिन् ।