त्यहाँदेखि यहाँसम्म : दुई दशकको प्रवाहलाई फर्केर हेर्दा

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १४:१९
  • विष्णु तारुके

०८१ वैशाख ६ गते बिहीबारदेखि त्रिशूली प्रवाह साप्ताहिकले आफ्नो गौरवमय २४ वसन्त पार गरेको छ । पत्रिका स्थापनाको सुरुवाती चरणमा म आबद्ध नभए पनि ०६१ सालदेखि भने प्रत्यक्ष संलग्न रहँदै छु । नेपाली पत्रकारितामा दुई दशकसम्म एउटै सञ्चारमाध्यमसँग आबद्ध रहिरहनु पनि आफैँमा उपलब्धि हो भन्ने म ठान्दछु । मलाई पत्रकारितामा ल्याउन प्रेरित गर्ने पत्रिकाको आज २५औँ रजत वर्ष मनाउन पाउनु चानचुने कुरा होइन ।

हुन त म ०५९ सालदेखि नै पत्रिकासँग कुनै न कुनै रूपले आबद्ध थिएँ । ०५९ फागुन ८ देखि १० गतेसम्म विदुरमा जिल्ला विकास समितिको कार्यवाहक सभापति नारायणप्रसाद खतिवडाको ‘पावर’ लगाएर लिइएको ‘भित्ते पत्रकारिता तालिम’ नै मेरो पत्रकारिताको जग बन्यो । जिल्ला विकास समितिअन्तर्गत चेलिबेटी बेचबिखनविरुद्ध सचेतना जागरण परियोजनाको आयोजनामा भएको उक्त तालिमका प्रशिक्षक हुनुहुन्थ्यो- विजय मिश्र ।

आज उहाँ कता हुनुहुन्छ, थाहा छैन । तर, उहाँले सिकाउनुभएको ‘फाइभ डब्लू, वान एच’को सिद्धान्त आज पनि मेरो दिमागमा ताजै छ । चेलिबेटी बेचबिखन परियोजनाको ‘फिन्ड कोअर्डिनेटर’ थिए शिवसुन्दर पुडासैनी । उनलाई तत्कालीन जिविस कार्यवाहक सभापति नारायणप्रसाद खतिवडाको भनसुनमा मैले पत्रकारिता तालिम लिने मौका प्राप्त गरेको थिएँ ।

परियोजनाले जिल्लाका १२ वटा स्कुलबाट चारजनाको दरले ४८ जना विद्यार्थी सहभागी गराएको थियो । तर, आज ती ४८ जना कोही पत्रिकारितामा छैनन् । म भने विद्यालयको सिफारिसबेगर नै तालिम लिएपछि आफ्नो सिङ्गो जीवन त्यही पेसामा होमिरहेको छु । मलाई यस पावन कर्म सधैँ गर्व छ र यस पेसाबाट म औधी खुसी छु । तीनदिने तालिमको समापनको दिन त्रिशूली प्रवाहका प्रकाशक शरण उत्सुक दाइ हामी सहभागीहरूलाई आफ्नो अनुभव सुनाउन पुग्नुभयो । उहाँले भाइबहिनीहरूले सिकेका कुरा व्यवहारमा लागू गर्नुपर्छ भन्नुभयो । ‘तपाईंहरूले लेखेका समाचारहरूलाई त्रिशूली प्रवाहले स्थान दिन्छ’ भनेपछि मेरो ध्यान तानियो ।

कक्षा नौमा पढ्दा नै मैले गाउँका मन्दिर, बाटाघाटा बनेका समाचारहरू स्कुले कपीमा कलमले लेखेर हुलाकमार्फत त्रिशूली प्रवाहको ठेगानामा पठाउन थालेँ । ०६० सालतिर गाउँमा माओवादी द्वन्द्व चर्किन थाल्यो । त्यतिबेलै गाउँमा माओवादी र सदरमुकाममा सुरक्षा फौजको सुराकीहरूले सोधखोज गर्न थाले । त्यस घटनाले मलाई पत्रकारिताको शक्ति ज्यादै ठूलो रहेछ भन्ने अनुमान हुन थाल्यो ।
द्वन्द्वका समाचार पठाउँदा स्थानीय माओवादीबाट पनि म बिस्तारै परिचित हुँदै गएँ । स्कुले विद्यार्थीको सोचले जे–जति गर्न सक्थ्यो, मैले इमानदार प्रयास गरिरहेँ । यसले पत्रकारिताको ‘चमक’मा म बिस्तारै डुब्दै आएँ । त्यतिबेला आफ्नो बाइलाइनमा समाचार पढ्दा अद्भूतै आनन्द आउँथ्यो । त्यही रसले मलाई तान्दै लग्यो । ०६० सालमा एसएलसी दिएपछि राजधानी छिरेर शरण दाजु खोज्दै मैले पत्रकारिता सिक्न थाले ।

चर्चा र पत्रकारिता
समाजमा केही गरौँ भन्ने जोस–जाँगर शिक्षक जनकराज ढुङ्गाना पिपलटार माविमा पढाउँथे । उनले गाउँमै श्रमदान जुटाएर कोशीखोलामा काठको पुल हालेर स्थानीयलाई आवातजावत सजिलो बनाइदिए । पुल उद्घाटनको समाचार सङ्कलन गर्न ढुङ्गानाले मित्र कपिलदेव खनाललाई बोलाएका रहेछन् । खनाल ०६० सालतिरै विदुरमा बसेर त्रिशूली प्रवाहमा रिपोर्टिङ गरिरहेका थिए । पुल उद्घाटन कार्यक्रममा म पनि पुगेको थिएँ । धादिङबाट आएका पञ्चेबाजा बजाएर पुल भव्य रूपमा उद्घाटन भयो । धादिङ र नुवाकोटको सिमानामा पर्ने कोशी खोलामा पुल बनेपछि डाँडागाउँका खतिवडा र रिमालहरू दङ्ग पर्दै हेर्न आएका थिए । कपिलजीले ती दाइहरूलाई सनाही र नरसिंहा फुक्न लगाए । आफूले क्यामेरामा फोटो कैद गरे । तिनै ब्राह्मणहरू जजमानी छाडेर पञ्चेबाजा बजाउन थाले भनेर कपिलजीले त्रिशूली प्रवाहमा ‘एङ्कर’ समाचार बनाए । त्यसपछि उत्साहित ती युवाहरूले बजाएको बाजाले डेढ दशकदेखि एकछत्र चर्चा कमाउन सफल भयो । उनीहरूको ‘बाहुनबाजा’ पत्रिकाकै कारण राष्ट्रिय चर्चा कमाउन सफल भयो ।

कठिन समयको सबल अनुभव
यी २४ वर्षमा अनेकौँ राजनीतिक, सामाजिक र अन्य अवरोधहरू सिर्जना भए । प्राकृतिक प्रकोपहरूले पनि ठूलै असर पारिरह्यो । पत्रिका छापेर बजार पु¥याउनु तत्कालीन समयमा निकै चुनौतीपूर्ण थियो । माओवादी सशस्त्र द्वन्द्वको समय होस् वा ०६२/६३ को जनआन्दोलन । देशमा १८ घण्टासम्म जारी लोडसेडिङ होस् या कोरोनाजस्तो महामारी । यी अवरोधहरूलाई चिर्दै हरेक वर्ष ४८ हप्ताभन्दा कम पत्रिका प्रकाशन गरेको उदाहरण नै छैन । ०६२/६३ को जनआन्दोलनमा देशमा जारी कफ्र्युको कारण सबैजसो पत्रिका बन्द भए । त्यसका बाबजुद पनि त्रिशूली प्रवाह छापेर बजारसम्म पु¥याउने कामले हामीलाई पाठकको थप माया पाएको घटना मानसपटलमा ताजै छ ।

सहयोद्धाहरूको सम्झना
पत्रिकालाई यहाँसम्म ल्याउनमा सहयोग पुर्याउने कतिपय सहकर्मीहरू हामीसँग हुनुहुन्न । स्थापनाकालदेखिकै सम्पादक रहनुभएका आदरणीय रामचन्द्र भट्ट अहिले अमेरिकामा हुनुहुन्छ । जन्मभूमिबाट हजारौँ किलोमिटर दूर हुँदा पनि बेलाबखत पत्रिकाका लागि लेख रचना एवम् सल्लाह–सुझाव उपलब्ध गराउँदै आउनुभएको छ । कुनै बेलाको चर्चित स्तम्भ ‘तितो तथ्य’का लेखक दिनेश आचार्यबाट मैले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको छु । दिनेश दाइको कटाक्ष लेखकै कारण नुवाकोटमा त्रिशूली प्रवाहको बिक्री बढेको यथार्थ तथ्य कसैबाट लुकेको छैन । तितो तथ्यले तत्कालीन अवस्थाका विकृति र भ्रष्टाचारलाई राम्ररी उजागर गरेको कुरा त्रिशूली प्रवाहका पुराना पाठकहरूसामु जगजाहेर छ ।

पत्रिका स्थापनादेखि नै जिल्लामा संवाददाताको रूपमा रहेका देवचन्द्र भट्ट, पूर्णप्रसाद ढुङ्गाना र कपिल पनेरूको योगदानलाई भुल्न मिल्दैन । २०६० सालतिर हामीसँग जोडिएका मित्र कपिलदेव खनाल जिल्लामा मिडिया उद्यमी हुँदै पत्रकार महासङ्घको दुईपटक अध्यक्ष बन्न सफल भए ।
०६१ सालदेखि त्रिशूली प्रवाहमा १३ वर्ष काम गरेका नवदीप अजनवी विगत सात वर्षदेखि आफैँ सञ्चार उद्यमी र वकिल बनेका छन् । जिल्लामै रहेर लामो समय खोजी पत्रकारिता गरेका विनय बञ्जारा अहिले राजधानीकेन्द्रित राष्ट्रिय मिडियामा जमेका छन् । त्यस्तै, नुवाकोटबाट रामहरि गजुरेल, धादिङबाट केशव अधिकारी र रसुवाबाट हेमनाथ खतिवडाको योगदानलाई कम आँक्न मिल्दैन । रसुवाबाट पत्रिका स्थापनादेखि सहयोग गर्नुहुने ज्ञानेन्द्र न्यौपाने अहिले पनि अनवरत सहयोगी हुनुहुन्छ ।

पत्रिकाको प्राविधिक पाटो अर्को महत्वपूर्ण छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि पत्रिकाको डिजाइन गरेर सहयोग गर्नुहुने प्रवीण बुढाथोकी हाम्रो इतिहासको धरोहर हुन् । पत्रिकाको व्यवस्थापनमा सहयोग पुर्याउने वासु घिमिरे, विगत १२ वर्षदेखि आजसम्म अनवरत डिजाइनमा सहयोग पु¥याउनुहुने ज्योति जिसीको योगदान कदरयोग्य छ । पत्रिकाको प्रकाशनदेखि बजारसम्म पु¥याउन विभिन्न तप्काको आ–आफ्नै भूमिका हुन्छ । प्रत्यक्ष वा परोक्ष सहयोगीहरूलाई आजको दिन सम्झनै पर्छ । विज्ञापनदाता र पाठक वर्ग हाम्रा लागि भगवान् शिव र शक्तिजस्तै हुन् । यी दुईको अगाध प्रेमले नै आजसम्म पत्रिकाले आफ्नो अनवरत यात्रालाई बरकरार राख्न सफल भएको छ ।

अन्त्यमा,
पत्रिकाको आगामी बाटो सुन्दर देखिँदैन । कोरोना महामारीदेखि ओरालो लागेको पत्रिकाको बजार बिस्तारै सुक्दै आएको छ । प्रविधिमा आएको क्रान्तिले छापा सञ्चारमाध्यमहरू कमजोर पर्न थालेका छन् । सूचनाको वेग थामिनसक्नु भइसकेको छ । यसमा झन् साप्ताहिक पत्रिका जोगाउन एक हिसाबले मुस्किल पर्न सक्ने देखिन्छ । अर्को तवरले फेरि साप्ताहिक पत्रिकाका लागि आयु लम्ब्याउने र नयाँ किसिमले समाचार सामग्रीहरू प्रस्तुत गर्ने अवसर पनि मिलेको छ । यो परस्पर द्वन्द्वमा कुन पक्ष हाबी हुँदै जान्छ भन्ने भविष्यको गर्भमा छ । जे होस्, हामीले पत्रिका स्थापनाको २५ वर्षको अवसरमा हामीलाई सहयोग पु¥याउने सबै–सबैलाई सदर धन्यवाद छ ।

(त्रिशूली प्रवाहका कार्यकारी सम्पादक रहेका तारूके प्रेस चौतारी नेपालका सचिव समेत हुन् ।)