त्रिशूली प्रवाह : मेरो पत्रकारिताको पहिलो स्कुल

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १६:०९
  • नवदीप अजनबी

पत्रकारितामा सक्रिय भएको दुई दशक भएको छ । एउटा लहडमा पत्रकारितामा आएको म, यही पेसामा दुई दशक बित्यो । पत्रकारितामा भविष्य ठानेर बसियो, यही क्षेत्रमा सङ्घर्ष गरियो । अहिले सम्झेर ल्याउँदा आफ्नै पत्रकारिता दैनिकी आफैँलाई इतिहास लाग्ने समय आएको छ । आफ्नै पेसा आफैँलाई इतिहास लाग्नुचाहिँ पत्रकारिता क्षेत्रमा पछिल्लो दुई दशकमा आएको आमूल परिवर्तन नै हो । प्रविधिको विस्तार, न्यु मिडियाको आगमनले अहिले छापा पत्रकारिताको क्षेत्रमा निकै बदलाव ल्याएको छ । अनेक प्रकृतिका सञ्चारमाध्यमको विकास र सञ्चारमाध्यममा नागरिक सहज पहुँचले पत्रकारिताको क्षेत्र व्यापक विस्तार भएको छ । यो विस्तारको भङ्गालोमा पछिल्लो समय छापामाध्यम भने कताकता छायामा परेको अवस्था छ ।

मैले लेखेको पहिलो समाचार यही त्रिशूली प्रवाहमा ०५८ सालमा छापिएको थियो । बुधसिङबाट हुलाकमा पठाएको समाचार पत्रिकामा प्रकाशित हुँदा, त्यो पनि लेख्नेको नामसहित (बाइलाइन) । खुसीको सीमा नै रहेन । हो, त्यही असीमित खुसीले मलाई पत्रकारितामा अहिलेसम्म टिकाएको ठानेको छु । मेरो पत्रकारिताको पहिलो स्कुल त्रिशूली प्रवाह २५औँ वर्षमा प्रवेश गर्दै छ । यो मेरो मात्र होइन, नुवाकोटको पत्रकारिता इतिहासको नै गौरवको क्षण पनि हो ।

मेरो दिव्य १२ वर्ष बिताएको त्रिशूली प्रवाहको सन्दर्भमा केही कुरा उल्लेख गर्न चाहन्छु । मैले माथि नै लेखिसकेँ हुलाकबाट समाचार पठाएको । बुधसिङको डाँडाबाट हुलाकमा पठाएको समाचार प्रकाशित हुन थालेपछि फुरुङ्ग परियो नै । पछि राजधानीमा बसेर अध्ययन गर्ने क्रममा पनि गाउँतिरमा समाचार हातले सकेसम्म राम्रो अक्षरमा लेखेर पत्रिकामा सम्पादक रामचन्द्र भट्टलाई सोल्टीमोडस्थित कामना प्रकाशनको कार्यकक्षसम्म पु¥याउन जान्थेँ । यही क्रममा सम्पादक दाजु भट्टसँग सान्निध्यता बढ्यो । सोही सान्निध्य नै मेरा लागि नुवाकोटको पत्रकारितामा जोडिने सेतु बन्यो । पत्रिकाको सेटिङ बानेश्वरको थापागाउँमा हुने गर्दथ्यो । म पनि बुधबार त्यहाँ पुग्ने गर्न थालेँ । यही क्रममा प्रकाशक शरण उत्सुक सापकोटासँग भेट भयो । यिनै प्रकाशक दाजु सापकोटाको पत्रकारिता गर्नुपर्छ भन्ने हुटहुटीले तानेर ०६२ सालमा नुवाकोट ल्याएपछि आजसम्म म यहीँ रहेर क्रियाशील छु । सापकोटा दाजुको पत्रिकाको मात्र मलाई भर नलागेर अर्को विकल्पसहित जिल्ला जानुपर्छ भनेर रासससँग जोडिएर काठमाडौंबाट नुवाकोट छिरियो । रासससँग जोडिन पनि सहज भने थिएन । डा. प्रकाशचन्द्र लोहनीले भनेपछि राससको स्टिंजर बन्न पाइन्छ भनेपछि म डा. लोहनीकहाँ पनि पुगेँ । डा. लोहनीको फोनले काम गर्यो । राससको संवाददाता भइयो । रासस र त्रिशूली प्रवाहसँग एकसाथ जोडिएर विदुर आएर पत्रकारिता गरेको दुई दशक भएको छ ।

त्रिशूली प्रवाहमा मैले मेरो आफ्नो ऊर्जाजील समयको दिव्य १२ वर्ष बिताएँ । पत्रकारितामा तिखारिन मलाई त्रिशूली प्रवाहले दिएको भूमिलाई मैले आफ्नो क्षमताले भ्याएजति उपयोग गरेँ । जीवनमा जे गरियो पत्रिकारिता गरियो, र जे सिकियो पत्रकारिताले नै सिकायो । यो मौका दिने पत्रिकाका प्रकाशक शरण उत्सुक सापकोटा र सम्पादक रामचन्द्र भट्ट बिर्सन नसकिने पात्र हुन् । ०७३ साल चैतबाट त्रिशूली प्रवाहबाट बिदा भएर म आफैँ सम्पादक/अध्यक्ष भएर त्रिशूली खबर साप्ताहिकलाई अघि बढाउन थालेँ पनि । मैले अर्को पत्रिका सञ्चालन गरिरहे पनि अहिले पनि मलाई चिन्ने कतिपयले त्रिशूली प्रवाहकै पत्रकार हो भनेर चिन्ने गर्दछन् । यो भनेको त्रिशूली प्रवाहले मलाई जुन गहिराइमा पुर्याएर चिनाएको छ, अरू परिचय फिक्का भएको छ ।

अब थोरै जिल्लाको पत्रकारिताको कुरा गरौँ । मोफसलमा रहेर निरन्तर २५ वर्षसम्म पत्रिका प्रकाशित गर्नु यो आफैँमा एउटा तपस्या हो । यस्तो तपस्या गर्ने थोरै मानिस मात्र हुन्छन् भने नुवाकोटको पत्रिका र यहाँको सञ्चारमाध्यमको पछिल्लो अवस्थाले स्पष्ट हुन्छ । अहिले छापामाध्यममा एकप्रकारले भन्ने हो भने सङ्कटकालको अवस्थामा रहेको छ । कोभिड–१९ को कारण छापा पत्रिकामा गएको विज्ञापनको पहिरो अझै रोकिन सकेको छैन । जसले गर्दा नेपालमा धेरै छापामाध्यम बन्द भएका छन् । सञ्चालन भइरहेकाहरू पनि ज्यादै कठिन अवस्थामा चलिरहेका छन् । सञ्चारमाध्यमको विविधता आएसँग नागरिक सहज पहुँचको कारण छापामाध्यम ओझेल पर्न थालेको अवस्थामा सङ्घीयतासँगै विकेन्द्रित भएर बनेको स्थानीय तहहरूको प्राथमिकतामा सञ्चारमाध्यमहरू नपरेको कारण पनि सकस झन् बढ्दो अवस्थामा रहेको छ । पत्रकारितालाई जोगाउने, बलियो बनाउने हामी पत्रकार र पत्रकारिता क्षेत्रका हितैषीहरूले नै हो । यसको साख जोगाउनका लागि सरोकारवाला पक्ष र राज्यका निकायहरूको पनि ध्यान जान आवश्यक छ । लोकतन्त्र, सुशासनको पहरेदार छापामाध्यमको महत्व अझै रहेकोलाई नकार्न सकिन्न । पत्रकारितालाई सक्षम र सबल बनाउन पत्रकारितामा क्षमतावान् नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने चुनौती पनि देखिएको छ । सक्षम पत्रकार उत्पादन गर्नका लागि सक्षम सञ्चारगृह हुनुपर्दछ । सक्षम सञ्चारगृहको रूपमा २५ वर्षदेखि प्रकाशन भइरहेको त्रिशूली प्रवाहलाई भव्य शुभकामना ।

(नेपाल पत्रकार महासङ्घ नुवाकोटका कार्यवाहक अध्यक्ष रहेका लेखक हाल त्रिशूली खबर साप्ताहिकका सम्पादक/प्रकाशक हुन् ।)