सिन्दुरे जात्रामा लोक तथा दोहोरी गीत प्रतिष्ठानको विशेष प्रस्तुति

  • त्रिशूली प्रवाह
  • ११ बैशाख २०८१, मंगलवार १५:२१

काठमाडौं, नुवाकोटको ऐतिहासिक सिन्दुरे जात्रा (देवी जात्रा) लाई थप रौनक प्रदान गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय कार्यसमितिको पदाधिकारी नुवाकोट आउन लागेका छन् । बैंशाख १३ गते बिहीबार दिउँसो हुने सिन्दुरे जात्रामा राष्ट्रियस्तरका लोक तथा दोहोरी गीतका चर्चित कलाकारले गीत तथा लोकदोहोरी प्रस्तुति गर्ने कार्यक्रम रहेको छ । प्रतिष्ठानले केन्द्रिय कार्यसमितिको ५औं बैठक विदुर नगरपालिका वडा नं.२ को ऐतिहासिक नुवाकोट दरबारमा १३ र १४ गते गर्ने निर्णय गरेको छ । जात्राको प्रचार–प्रसार गर्न र बैठकको लागि लोक तथा दोहोरी गीतका हस्तीहरू आउने भएका हुन् ।

प्रतिष्ठानले दिएको जानकारीअनुसार नेपाल एकीकरणको साक्षीको रूपमा रहेको भूकम्पले क्षति पु¥याएको ऐतिहासिक नुवाकोट दरबारको प्रचार–प्रसारमा सहयोग गर्न र पुनःनिर्माणमा सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने उद्देश्यले बिहीबार र शुक्रबार पाँचौं केन्द्रिय बैठक यहाँ राखिएको छ । बैठकमा राष्ट्रिय तथा लोकदोहरी गीत क्षेत्रका हस्तीहरूको समेत उपस्थिती रहने प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले जानकारी दिईन् । प्रतिष्ठानमा निवर्तमान अध्यक्ष रमेश बिजी, वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, प्रथम उपाध्यक्ष रामजी खाँण, उपाध्यक्ष साङ्गठनिक सुबास केसी, उपाध्यक्ष प्रशासनिक दिपक खड्का, महिला उपाध्यक्ष राधिका हमाल, प्रदेश उपाध्यक्ष ७ जना क्रमशः कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पूर्णकला बि.सी., राजु ढकाल, पुष्कल शर्मा, कुलेन्द्र विश्वकर्मा र महासचिव शिव हमाल रहेका छन् । त्यस्तै, उप–महासचिव साङ्गठनिक शिरीष देवकोटा, उप–महासचिव प्रशासनिक हरि डाँगी, कोषाध्यक्ष अमृत अधिकारी, सचिव साङ्गठनिक जिवन पिएन सापकोटा, सचिव प्रशासनिक जिवन दाहाल, महिला सचिव जमुना रानासहित ७५ जनाको कार्यसमिति रहेको छ । बैठकको लागि प्रतिष्ठानका सल्लाहकार नुवाकोट तुप्चे निबासी उज्जवल जंग ठकुरीले पहल गर्नुभएको थियो । नुवाकोटको प्रमुख जात्रा सिन्दुरे जात्रा (देवी जात्रा) लाई थप रौनक बनाउन प्रतिष्ठानले साङ्गीतिक कार्यक्रम समेत नुवाकोटमा गर्ने सल्लाहकार ठकुरीले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो । प्रतिष्ठानका सहभागी पदाधिकारी एवं कलाकारलाई नुवाकोटमा स्वागत गर्न नुवाकोट युवा क्लबका अध्यक्ष सरोज डंगोलले विशेष तयारी भईरहेको जानकारी दिएको छ ।