विद्युतीय गाडी बनाउने विद्यार्थी गाउँपालिका अध्यक्षबाट सम्मानित

  • त्रिशूली प्रवाह
  • १३ बैशाख २०८१, बिहीबार १३:१८

धादिङबेँसी, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ मा रहेको रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले विज्ञान शिक्षकको सहयोगमा चारपाङ्ग्रे विद्युतीय गाडी निर्माण गरेका छन् । उक्त विद्युतीय गाडीको प्रदर्शन तथा परीक्षण सम्पन्न भएको छ । प्रदर्शनी कार्यक्रममा सहभागी भएका गाउँपालिका अध्यक्ष राजु उप्रेतीले विद्युतीय गाडी निर्माणमा भएको सबै खर्च पालिकाले व्यहोर्ने बताउँदै दुई विद्यार्थीलाई व्यक्तिगत रूपमा चार–चार हजार नगदसहित सम्मान गरेका थिए ।

गाडी बनाउने सौरभ बसौला र सुशील अधिकारी रानीपौवा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन् । अध्ययनका क्रममा विज्ञान शिक्षकले विद्युतीय गाडीबारे बताइरहँदा सो गाडी निर्माण सम्भव छ भन्ने मनमा लागेपछि गाडी बनाउन लागिपरेको सौरभ बसौला बताउँछन्  । झण्डै दुई हप्ता लगाएर निर्माण गरिएको गाडीको निर्माण लागत ७० हजार रुपैयाँ रहेको उनीहरूको भनाइ छ । विद्युतीय गाडी निर्माणका लागि चाहिने सामग्रीमध्ये केही सामान किनेर ल्याएको र केही स्थानीय रूपमा प्राप्त सामग्री नै प्रयोग गरेको बसौलाले बताए । कक्षा नौको अन्तिम परीक्षापछि गाडी बनाउने सोचमा पुगेको बताउँदै सुशीलले भने, ‘त्यसपछि बनाउन सुरु गरेका हामीले गाडीका खेर गएका पार्टपुर्जा प्रयोग गरेर अन्ततः गाडी नै निर्माण ग¥यौँ ।’ गाउँपालिका, घरपरिवार र विद्यालयको सहयोगबाट आफूहरूले उक्त गाडी निर्माण गरेको उनको भनाइ छ । दुईवटा १२ भोल्टको ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् । सुशीलले भने, ‘अध्ययन सँगसँगै आफूहरूको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौँ ।’ निर्माण गरिएकोे गाडीमा चालकसहित तीनजना अट्ने क्षमता रहेको छ । सौरभका अनुसार गाडीले अहिलेकै अवस्थामा दुई क्विन्टल सामान बोक्ने क्षमता राख्दछ । जति बढी ब्याट्री बढाउन सक्यो, उति बढी भार बोक्न सक्ने सौरभ बताउँछन् । उक्त कारमा थप ब्याट्री जडान गर्न सकिने उनीहरू बताउँछन् । अहिलेकै अवस्थामा यो गाडीले पाँच किलोमिटरको यात्रा तय गर्न सक्ने विद्यार्थीको दाबी छ । आवश्यक सहयोग प्राप्त भए विद्युतीय गाडी निर्माण गर्न सकिने विद्यार्थीले बताएका छन् ।

विद्यार्थीले निर्माण गरेको गाडी प्रदर्शन कार्यक्रममा पुगेका गाउँपालिका अध्यक्ष राजु उप्रेतीले विद्यार्थीको विज्ञानतर्फको आकर्षणबाट आफू प्रभावित भएको भन्दै विज्ञान प्रविधिको क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन पालिकाले पहल गर्ने बताए । अध्यक्षसँग विद्यार्थी कार्यक्रमको बजेटबाट गाउँपालिकाको जुनसुकै विद्यालयका विद्यार्थीका लागि क्षमता वृद्धि गर्न आवश्यक सहयोग गर्ने र विद्युतीय गाडी निर्माणमा भएको सबै खर्च पालिकाले व्यहोर्ने उनले बताए । विद्यालयको प्रशंसा गर्दै उनले भने, ‘गुणस्तरीय शिक्षाका लागि पछिल्ला वर्षमा रानीपौवा मावि अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।’