धादिङ आयुर्वेद औषधालय वैकल्पिक चिकित्सालयमा विस्तार

  • त्रिशूली प्रवाह
  • २० बैशाख २०८१, बिहीबार ११:५०

धादिङबेँसी, जिल्ला आयुर्वेद औषधालय धादिङलाई १६ बेडको अस्पतालमा स्तरोन्नति गरिएको छ । बागमती प्रदेश सरकारमातहतमा रहेको आयुर्वेद औषधालय नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीमा रहेको छ । उक्त औषधालयलाई आयुर्वेद तथा वैकल्पिक चिकत्सालयको रूपमा विस्तार गर्न लागिएको छ ।

स्तरोन्नति भएसँगै चिकित्सालयले १६ बेडको अस्पताल सञ्चालन गर्न लागेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डा.अमूल्य दाहालले बताए । ‘चिकित्सालयले अब अस्पताल भवन निर्माण गरी १६ शय्याको अस्पतालमार्फत सेवा प्रदान गर्न लागेको हो,’ उनले भने, ‘संविधानले पनि स्थानीय तहको १५ बेड, प्रदेश अस्पताल २५ बेड हुनुपर्ने भनेको छ । भौतिक संरचना, बजेटलगायत विविध कारण २५ शय्याको सञ्चालन गर्न समस्या भएर १६ शय्या क्षमता सञ्चालन गरिएको हो ।’ अस्पताल निर्माणका लागि जग्गा लिने प्रक्रिया अघि बढिसकेको उनले बताए । ‘अब औषधालय आएका बिरामीलाई भर्ना गरेर सेवा दिने तयारीमा छौँ । जग्गा किन्ने र नयाँ भवन निर्माणको काम पूरा नहुन्जेल अहिले तत्कालका लागि घर भाडामा लिएर १६ शय्या क्षमताको सेवा प्रवाह गर्छाैँ,’ उनले भने ।

धादिङमा १० वटा आयुर्वेद स्वास्थ्य संस्था सञ्चालित छन् । चिकित्सालयसहित चारवटा आयुर्वेद औषधालय र पाँचवटा सेवा केन्द्र्र छन् । चिकित्सालयले सेवा आरम्भ गरेपछि बिरामीलाई चौबिसै घण्टा सेवा दिन सकिने चिकित्सालय धादिङका प्रमुख दाहालले बताए । १६ शय्याको अस्पताल सञ्चालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाइ भइरहेको र औषधिको विविधता तथा परिमाण आवश्यकताभन्दा न्यून मात्रै उपलब्ध हुनुले पनि सेवाग्राहीलाई सहज रूपले सेवा दिन अप्ठ्यारो हुने गरेको उनले बताए । आयुर्वेद औषधालय वैकल्पिक उपचार विधिअन्तर्गत बहिरंग सेवा, प्याथोलोजी ल्याब, अकुपञ्चर सेवा, पूर्वकर्म र पञ्चकर्म सेवा, फिजिओथेरापीलगायतको निःशुल्क सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत ३० वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको आयुर्वेद चिकित्सक इना श्रेष्ठले बताइन् । ‘हाल दैनिक २५ जनाभन्दा बढी बिरामी चेकचाँज गर्न आउँछन् । सेवा लिन आएका बिरामीमध्ये हाडजोर्नी र नसासम्बन्धी बिरामीको सङ्ख्या बढी छ । धादिङ र गोरखाका विभिन्न ठाउँबाट सेवाग्राही सेवा लिन आउने गरेका छन्,’ उनले भनिन् ।