Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट दरबार क्षेत्रमा दोहोरीगीत प्रतिष्ठानको बैठक

नुवाकोट दरबार क्षेत्रमा दोहोरीगीत प्रतिष्ठानको बैठक
त्रिशूली प्रवाह
२ साल अगाडी

काठमाडौं, ऐतिहासिक सिन्दुरे जात्राको अवलोकन गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिको बैठक नुवाकोटमा शुक्रबार सम्पन्न भएको छ । यही वैशाख १३ गते अपराह्न नुवाकोट पुगेका प्रतिष्ठानका पदाधिकारीले देवी जात्राको अवलोकन गर्दै भैरवी मन्दिरपरिसरमा लोकगीत तथा नृत्य प्रदर्शनसमेत गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको पाँचौँ बैठक विदुर–२ स्थित ऐतिहासिक नुवाकोट दरबारपरिसरमा चार निर्णय गरेर १४ गते सम्पन्न भएको थियो । शारीरिक अपाङ्गता भएका एवम् अशक्त कलाकारलाई प्रतिष्ठानमार्फत दिइने संस्थागत सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइने, प्रतिष्ठानको शाखा गठन हुन बाँकी जिल्ला, प्रदेश तथा विदेशमा सङ्गठन विस्तार गरिने, गत फागुनमा सम्पन्न इन्द्रेणी सातौँ रनिङ सिल्ड प्रतियोगिताको समीक्षा र देशैभर सञ्चालनमा रहेका दोहोरी साँझ तथा त्यहाँ कार्यरत कलाकारको तथ्याङ्क सङ्कलन गरिनेलगायत महत्वपूर्ण निर्णय गरिएको प्रतिष्ठानका महासचिव शिव हमालले ‘त्रिशूली प्रवाह’लाई जानकारी दिए ।
प्रतिष्ठानले सिन्दुरे जात्राको प्रचारप्रसार गर्न र ०७२ को भूकम्पले भत्किएका सम्पदाको पुनर्निर्माणमा सरोकार निकायको ध्यानाकर्षण गर्ने उद्देश्यले नुवाकोटमा बैठक गरिएको बताएको छ । नेपाल एकीकरणको साक्षीका रूपमा रहेको दरबारको प्रचारप्रसारमा सहयोग गर्न र पुनर्निर्माणमा सरोकार निकायको ध्यानाकर्षण गर्ने उद्देश्यले बिहीबार र शुक्रबार पाँचौँ केन्द्रीय बैठक साततले दरबार क्षेत्रमा राखिएको महासचिव हमालले बताए ।

प्रतिष्ठानको बैठकमा निवर्तमान अध्यक्ष रमेश बिजी, वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, प्रथम उपाध्यक्ष रामजी खाँण, उपाध्यक्ष (साङ्गठनिक) सुवास केसी, उपाध्यक्ष (प्रशासनिक) दीपक खड्का, उपाध्यक्ष (महिला) राधिका हमाल, प्रदेश उपाध्यक्ष कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पूर्णकला बिसी, राजु ढकाल, पुष्कल शर्मा, कुलेन्द्र विश्वकर्मा र महासचिव हमाल, उपमहासचिव (साङ्गठनिक) शिरीष देवकोटा, उपमहासचिव (प्रशासनिक) हरि डाँगी, कोषाध्यक्ष अमृत अधिकारी, सचिव (साङ्गठनिक) जीवनपिएन सापकोटा, सचिव (प्रशासनिक) जीवन दाहाल, सचिव (महिला) जमुना रानालगायतको सहभागिता थियो । प्रतिष्ठानको कार्यसमिति ७५ जनाको छ । बैठकका लागि प्रतिष्ठानका सल्लाहकार नुवाकोट तुप्चे निवासी उज्ज्वलजंग ठकुरीले पहल गरेका थिए । ०७२ को गोरखा भूकम्पले क्षति पु¥याएको दरबारको पुनर्निर्माणमा बैठकले बल दिने विश्वास गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह