+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकमुक्त बनाइँदै

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकमुक्त बनाइँदै
त्रिशूली प्रवाह
२ साल अगाडी

धादिङबेँसी, नेपालका पाँचवटा नदीलाई प्लास्टिकजन्य फोहोरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात स्थानीय तहसँगको सहकार्यमा त्रिशूलीसहित बागमती, राप्ती, कमला र सुनकोशी नदीलाई प्लास्टिकजन्य फोहोरबाट मुक्त बनाउने भएको हो ।

Utsuk Books & Stationery

क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्ज्वल उपाध्यायका अनुसार ती नदीहरूलाई प्लास्टिजन्य फोहोरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका, धादिङको गजुरी गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका र सिन्धुलीको गोलन्जोर गाउँपालिकासँगको सहकार्यमा परियोजना सञ्चालन गर्न तयारी भइरहेको छ । परियोजनाले स्थानीय पालिकाको सहकार्यमा प्लास्टिकजन्य फोहोरले पार्ने असरबारे जनचेतना र व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरिने प्रमुख उपाध्यायको भनाइ छ । प्लास्टिकजन्य फोहोर फाल्न नदिन र फ्याँकिएका फोहोर सङ्कलन तथा रिसाइकल गरी नदीलाई सफा र स्वच्छ बनाउने उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिएको उनले बताए । प्रमुख उपाध्यायका अनुसार प्लास्टिकको फोहोर सङ्कलन संयन्त्रलाई सुदृढ गर्दै र प्राविधिक नवप्रवर्तनमार्फत रिसाइक्लिङ प्रयासलाई बलियो बनाएर ल्यान्डफिल र नदीबाट प्लास्टिकको फोहोरलाई उत्पादन मूल्य शृङ्खलामा लैजाने लक्ष्य छ । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि यो कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । प्लास्टिकजन्य फोहोरले नदीको सौन्दर्य बिग्रिनुका साथै स्वास्थ्यमा असर गर्ने भन्दै उनले अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

त्रिशूली नदी सरसफाइ अभियानका लागि धादिङको गजुरी गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकासँग सहकार्य गरिनेछ । त्रिशूली नदी आसपासका बजार बस्तीबाट निस्किने प्लास्टिकजन्य फोहोरलाई सङ्कलन गरी त्यसलाई पुनः प्रयोग गरिनेछ । परियोजनाले स्थानीय तहको सहकार्यमा प्लास्टिकजन्य फोहोरले पार्ने असरबारे जनचेतना र व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने परियोजना प्रमुख उपाध्यायको भनाइ छ । प्लास्टिकजन्य फोहोर फाल्न नदिन र फ्याँकिएका फोहोर सङ्कलन तथा ‘रिसाइकल’ गरी नदीलाई सफा र स्वच्छ बनाउने उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिएको हो । प्लास्टिकजन्य फोहोरले नदीको सौन्दर्य बिग्रिनुका साथै स्वास्थ्यमा असर गर्ने भएकाले यस अभियानमा सातवटा पालिकाले साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नदी सरसफाइ भएसँगै त्रिशूली नदीमा जलयात्रा पर्यटनमा समेत वृद्धि हुने विश्वास लिइएको छ । क्रिएसन नेपालका अनुसार स्थानीय तहका लागि प्लास्टिकजन्य फोहोर व्यवस्थापन चुनौती बनेकाले यस अभियान सञ्चालन गरिएको हो । कार्यक्रमअन्तर्गत समुदायमा पैरवी, नदी सरफाइ अभियानलगायत काम हुनेछन् । विद्यालयका बालबालिकामार्फत प्लास्टिकजन्य फोहोरलाई कसरी वर्गीकरण गर्ने, कसरी अव्यवस्थित विसर्जन नगर्ने, नदीनालालाई कसरी प्लास्टिकमुक्त बनाउने भन्नेबारेमा जनचेतना समुदायमा फैलाउने लक्ष्य परियोजनाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह