रसुवा माविलाई बस हस्तान्तरण

  • त्रिशूली प्रवाह
  • २७ बैशाख २०८१, बिहीबार १४:५७

धुन्चे, रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिकाले चालक, इन्धन एवम् मर्मतलगायत सम्पूर्ण खर्च व्यवस्थापन गर्ने गरी रसुवा मावि धुन्चेलाई यही वैशाख २१ गते निःशुल्क बस हस्तान्तरण गरेको छ ।

४१ सिटको टाटा कम्पनीको बस पूर्ण रूपमा गाउँपालिकाको सहयोगमा भन्सार छुटसहित २९ लाख ६२ हजार रुपैयाँमा खरिद गरिएको थियो । दूरदराजमा रहेका बालबालिकाको पढाइमा सहज होस् भनेर बस सञ्चालनमा ल्याइएको गाउँपालिका, शिक्षा शाखा प्रमुख कृष्ण केसीले बताए । बिहान–बेलुका हिँड्नुपर्ने समय बसले गर्दा बचत भएपछि विद्यार्थीलाई पढ्ने समय निस्कने विश्वास पालिका प्रमुख कैसाङनुर्पु तामाङले व्यक्त गरे । गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा निःशुल्क बस सञ्चालन अभियानअन्तर्गत चालक, इन्धन एवम् मर्मतलगायत सम्पूर्ण खर्च पालिकाले व्यवस्थापन गर्ने बताइएको छ ।

अघिल्लो आर्थिक वर्षमा कोमिन श्यामेवाङ्फेल माविमा बस हस्तान्तरण भएको थियो । अहिले चालू आवमा रसुवा माविका लागि संविधानसभा सदस्य छोवाङतेन्जिन तामाङ, पालिका प्रमुख कैसाङनुर्पु तामाङ र वडा नम्बर ६ का वडाध्यक्ष दावासिदार वाइवाले संयुक्त रूपमा बससेवा उद्घाटन गरेका हुन् ।