पूर्वप्रधानमन्त्री ओली र रक्षामन्त्री हरि उप्रेती गोसाइँकुण्डमा

  • त्रिशूली प्रवाह
  • २७ बैशाख २०८१, बिहीबार १५:४४

धुन्चे, रसुवा जिल्लामा रहेका एक सय आठ कुण्डमध्येको गोसाइँकुण्डको अवलोकन गर्न नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री हरि उप्रेती शनिबार पुगेका छन् । पूर्वप्रधानमन्त्री ओली नेकपा एमाले रसुवाको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्न रसुवा आएका थिए । उद्घाटन गर्नुअघि उनीसहित रक्षामन्त्रीले गोसाइँकुण्डको अवलोकन गरेका थिए ।

पूर्वप्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य, रक्षामन्त्री उप्रेतीलगायतको टोलीले गोसाइँकुण्डमा केही समय बिताएको थियो । एमाले रसुवाको जिल्ला अधिवेशन उद्घाटनपश्चात् सभालाई सम्बोधन गर्दै धुन्चे गोसाइँकुण्ड केबलकार बनाउन सकिने र केबलकार बनाउँदा वन्यजन्तु र बोटबिरुवालाई असर नगर्ने बताए । केबलकार निर्माण भएपछि सदरमुकाम धुन्चेमा व्यावसायिक गतिविधि बढ्नेसमेत ओलीले दाबी गरे । रसुवावासीको आर्थिक समृद्धिका लागि जलविद्युत् उत्पादनमा र पर्यटन विकासमा एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्न उनले कार्यकर्तालाई निर्देशन दिए । निकुञ्ज क्षेत्रभित्र केबलकार निर्माण गर्नुपर्ने भएकाले वातावरणविज्ञ र निकुञ्जका अधिकारीले केबलकार निर्माण गर्दा वन्यजन्तु र बोटबिरुवालाई असर गर्ने भएकाले निर्माण गर्न नहुने तर्क दिइरहेका छन् ।